September 2023 – Madhesh Update

केन्द्रिय नेताहरुको उपस्थितीमा लोसपा मधेश प्रदेशको विस्तारित बैठक सम्पन्न

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको मधेश प्रदेशको बिस्तारित बैठक आज महोत्तरीको बर्दीबास सम्पन्न भएको छ । पार्टी संगठनको रणनिती र समसमायीक राजनिती वारेमा छलफल गर्न लोसपा मधेश प्रदेशको बिस्तारित बैठक सोमवार बसेको लोसपाले जनाएको छ ।

लोसपाका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलको अध्यक्षतामा बस्ने बैठकमा पार्टीका केन्द्रिय अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरदसिह भण्डारी, अनिल झा लगायतको समेत सहभागीता थियो ।

पार्टीको संगठन विस्तार देखि अन्य कामकाजहरुलाई मधेश प्रदेशमा प्रभावकारी कसरी बनाउने भन्ने वारेमा लोसपाले केन्द्रिय नेताहरु सहितको सहभागीतामा प्रदेश कमिटीको बैठक भएको हो ।

 

 

मधेस प्रदेशका स्वतन्त्र सांसद हत्या अभियोगमा पक्राउ

मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई माओवादी नेताको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद यादवलाई प्रहरीले राजविराजबाट पक्राउ गरिएको जनाएको छ । जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतले दोषी ठहर गरिसकेका सांसद यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी नरेन्द्र कार्कीले जानकारी दिएका छन् । उनका अनुसार माओवादी नेता गोबिन्द चौधरीको हत्या गरेको मुद्दामा सांसद यादवलाई पक्राउ गरिएको हो ।

सांसद यादवलाई पक्राउ गरी अदालतमा बुझाएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले बताए । उनलाई प्रहरीले अहिले राजविराजस्थित जिल्ला अदालतमा हाजिर गराएको छ ।

मधेस प्रदेशका ४० स्थानीय तहले अझै ल्याएनन् बजेट

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहहरुले असार १० गतेभित्र नगरसभा/गाउँसभामा बजेट पेस गरिसक्नुपर्ने प्रावधान छ । असार १० गते सभामा पेस गरेको बजेट १५ दिनभित्र अर्थात् असार २५ गतेभित्र पारित गरिसक्नुपर्ने हुन्छ । तर, मधेस प्रदेशको २९.४१ प्रतिशत अर्थात् ४० वटा पालिकाले अझै चालु आर्थिक वर्षको बजेट ल्याउन सकेका छैनन् ।

जनप्रतिनिधिहरुबीच आपसी विवादलगायतका कारणले केही पालिकाले बजेट ल्याउन नसकेका हुन् । केहीमा भने कर्मचारीहरुको मनपरी र अटेरले गर्दा बजेट प्रभावित भएको देखिन्छ ।

भदौको दोस्रो सातासम्म पनि सप्तरीको राजविराज नगरपालिकाले बजेट ल्याउन सकेको छैन । यहाँका मेयर भिमराज यादवलाई भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंले दोषी ठहर गरेको थियो । सप्तरीमा राजविराजसहित कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, छिन्नमस्ता गाउँपालिका, महदेवा गाउँपालिका, रुपनी गाउँपालिका, बलान विहुल गाउँपालिकाले हालसम्म बजेट ल्याउन सकेका छैनन् ।

सिरहामा कल्याणपुर नगरपालिकासहित औरही गाउँपालिका, नवराजपुर गाउँपालिका र भगवानपुर गाउँपालिकाले पनि हालसम्म बजेट ल्याएका छैनन् ।

धनुषामा मिथिला नगरपालिका, कमला नगरपालिका र धनौजी गाउँपालिका गरी तीन वटा पालिकाले बजेट ल्याउन सकेका छैनन् ।

सर्लाहीमा बलरा नगरपालिका, हरिवन नगरपालिका, हरिपुर्वा नगरपालिका र चन्द्रनगर नगरपालिकाले बजेट ल्याएका छैनन् ।

रौतहटमा गरुडा नगरपालिका, कटहरिया नगरपालिका, गुजरा नगरपालिका, देवाही गोनाही नगरपालिका, परोहा नगरपालिका, फतुवा विजयपुर नगरपालिका, माधवनारायण नगरपालिका, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले नगरसभाबाट बजेट पारित गर्न सकेका छैनन् ।

बाराको  सिम्रौनगढ नगरपालिका र आदर्श कोतवाल गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन् ।

पर्साको पोखरिया नगरपालिकाले बजेट ल्याइसके पनि मन्त्रालयको वेबसाइटमा प्रविष्ट हुन बाँकी छ । यहाँ असार २१ गते नै नगरसभाबाट बजेट स्वीकृत भइसकेको मेयर प्रदुमन प्रसाद चौहानले जनाए । यो जिल्लाको धोबीनी गाउँपालिका, पर्सागढी गाउँपालिका, बिन्धबासिनी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, कालिकामाई गाउँपालिका र जिराभवानी गाउँपालिकाले बजेट ल्याएका छैनन् ।

वीरगन्जमा सवारी लाइसेन्सको ट्रायल परीक्षामा अख्तियारको निगरानी

वीरगन्जस्थित नारायणी यातायात व्यवस्था कार्यालयले लिने सवारीचालक अनुमतिपत्रको ट्रायल (प्रयोगात्मक) परीक्षा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा भएको छ । अख्तियारको हेटौंडा कार्यालयबाट खटिएको टोलीको प्रत्यक्ष निगरानीमा सोमबार भएको लाइसेन्सको ट्रायलमा अधिकांश परीक्षार्थी फेल भएका छन् ।

गत शुक्रबार यातायात कार्यालयले सोमबार ‘जी’ (बस) वर्गको ट्रायल परीक्षा लिइने सूचना प्रकाशित गरेको थियो । विभिन्न मितिमा लाइसेन्समा ‘जी’ वर्ग थपका लागि आवेदन दिएका ७ सय ५४ जना आवेदकको नामावली यातायात कार्यालय वीरगन्जले प्रकाशित गरेको थियो ।

प्रहरी निरीक्षक सागर घले नेतृत्वको ४ जना टोली सोमबार विहान साढे ७ बजे नै वीरगन्ज–२३ प्रसौनीमा रहेको ट्रायल सेन्टरमा पुगेको थियो । ट्रायल प्रमुख बबिता जैसवाल, प्राविधिक र ट्राफिक प्रहरीका प्रतिनिधिसँगै अख्तियारको टोली बसेर प्रत्यक्ष निगरानीमा प्रयोगात्मक परीक्षा सुरु गरिएको थियो । ट्रायलको सुरुवाती चरणदेखि लिएर अन्तिम चरणसम्म अख्तियारका कर्मचारीले निगरानी गरेका थिए । अख्तियारका कर्मचारी खटिएका थिए ।

परीक्षार्थीहरुले चलाएको बसको चक्का लाइनमा छुनेबित्तिकै फेल भएको भन्दै अख्तियारको टोलीले चेकलिस्ट (नामावली) मा रातो कलमले चिन्ह लगाएका थिए । दिउँसो साढे २ बजेसम्म ३ सय २० जना परीक्षार्थीले ट्रायल दिएका थिए । जसमध्ये १४ जना मात्र उत्तीर्ण भएका छन् । प्रहरी निरीक्षक सागर घलेले ट्रायल अनुगमनका लागि कार्यालयले खटाएको बताए । ‘३ सय २० जनाले ट्रायल दिंदा जम्मा १४ जना पास भएका छन्,’ उनले भने ।

यातायात व्यवस्था कार्यालयको ट्रायल प्रमुख बबिता जैसवालले अख्तियारको निर्देशनमा टोली आएको बताइन् । ‘अख्तियारको टोली आफ्नो काम गर्दै छ, हामी आफ्नो काम गर्दै छौँ,’ उनले भनिन्, ।

वीरगन्जमा यसरी अख्तियारको प्रत्यक्ष निगरानीमा सवारीचालक अनुमतिपत्रको ट्रायल परीक्षा भएको थिएन् । लाइसेन्सको लिखित र ट्रायल परीक्षामा अनियमितताको उजुरी पर्दा अख्यितारले छानबिन तथा अनुसन्धान गर्दै आएको थियो ।

 

मधेस प्रदेशका आठै जिल्लामा जसपाको विस्तारित बैठक सम्पन्न

जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश समितिका आठै जिल्लामा आज (आइतबार) विस्तारित बैठक बसेको छ । पार्टी विस्तार तथा सुदृढीकरण अभियानबारे निर्णय गर्न बैठक आह्वान गरिएको थियो ।

भदौ ११ गतेको मधेस प्रदेश कार्यकारिणी समितिको बैठकले प्रदेशका सबै जिल्लामा भदौ १७ गते आइतबार विस्तारित बैठक राख्ने निर्णय गरेको थियो। विस्तारित बैठकको सहजीकरणका लागि प्रदेश बैठकले प्रदेश कार्यकारिणी समितिका पदाधिकारीहरुलाई जिम्मेवारी तोकेको छ ।

जसअनुसार सप्तरी जिल्लामा दिनेशकुमार यादव र शैलेश कुमार साह, सिराहामा रामसेवक यादव र रेणु यादव, धनुषामा ज्ञानेन्द्रकुमार यादव, अरुणकुमार देव र युसुफ अली, महोत्तरीमा निर्मला कुमारी यादव र जितेन्द्र कुमार यादवले जिम्मेवारी पाएका थिए ।

त्यस्तै सर्लाहीमा रामपृत पासवान र निरा कुमारी साह, रौतहटमा रामबाबु कुमार यादव र पुनीत राम, बारामा बृजमोहन तिवारी र पर्सामा सुशिल कुमार यादवलाई तोकिएको छ । बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरु, प्रदेश समितिका नेताहरु, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु, पालिका समितिका पदाधिकारीहरु, निर्वाचित जनप्रतिनिधिहरु, भ्रातृसंगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारीहरुलाई उपस्थित हुन भनिएको थियो ।

मधेश प्रदेशमा उनानब्बे प्रतिशत खेतमा धान रोपाइँ

मधेश प्रदेशमा ८९.२० प्रतिशत धान रोपाइँ सकिएको छ । वर्षा पर्याप्त नहुँदा प्रदेशलाई सुक्खा क्षेत्र घोषणाको माग उठिरहेका बेला परेको पानीले धान रोपाइँको क्षेत्रफल बढेको छ । भदौको सुरुमा ८२.५८ प्रतिशत धान रोपाइँ मात्र भएको थियो । त्यसपछि खेतमा जम्ने गरी पर्याप्त वर्षा भएकाले रोपाइँको प्रतिशतमा वृद्धि भएको छ ।

मधेश प्रदेशका आठवटै जिल्लाका गरी पाँच लाख ७४ हजार ३६० हेक्टर क्षेत्रफल जग्गा खेतीयोग्य रहेको मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । कुल खेतीयोग्य जग्गामध्ये चार लाख एक हजार ६५० हेक्टर क्षेत्रफल जग्गा धान खेतीका लागि योग्य छ । सो मन्त्रालयका प्रवक्ता रोशन मेहताका अनुसार अहिलेसम्म धान खेतीयोग्य जग्गामध्ये तीन लाख ३१ हजार ६९०.७ हेक्टर जग्गामा धान बाली लगाइएको छ । खेतीयोग्य जग्गामध्ये ४३ हजार ३५९.३ हेक्टर क्षेत्रफल जग्गामा अझै धान रोपाइँ भएको छैन ।

मधेश प्रदेशमा सबभन्दा बढी बारा जिल्लामा धान रोपाइँ भएको छ । त्यहाँ ९८ प्रतिशतमा धान रोपाइँ भइसकेको मधेश प्रदेशको कृषि विकास निर्देशनालय नक्टाझिजले जनाएको छ । बारामा ४६ हजार २० हेक्टर क्षेत्रफल धान खेतीयोग्य जग्गामध्ये ४५ हजार ९९.६ क्षेत्रफल जग्गामा रोपाइँ भइसेकेकोे छ । निर्देशनालयका निमित्त निर्देशक कमलदेव कुसवाहका अनुसार प्रदेशमा सबैभन्दा कम महोत्तरी जिल्लामा धान रोपाइँ भएको छ ।

यस जिल्लामा ६५ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको जानकारी उहाँले दिनुभयो । महोत्तरीमा ४७ हजार ५०० हेक्टर क्षेत्रफल धान खेतीयोग्य जग्गामध्ये ३० हजार ८७६ हेक्टर क्षेत्रफल जग्गामा मात्र धान रोपाइँ भएको निमित्त निर्देशक कुशवाहाले जनाउनुभयो ।

यसै गरी पर्सामा ९७ प्रतिशत खेतमा धान रोपाइँ भएको छ । यस जिल्लामा ४७ हजार १३० हेक्टर क्षेत्रफलमध्ये ४५ हजार ७१६.१ हेक्टरमा धान बाली लगाइएको छ । रौतहटमा ९६ प्रतिशत धान रोपाइँ भएको निर्देशनालयका योजना प्रमुख रामकलेश साहले जानकारी दिनुभयो । रौतहटमा ३५ हजार हेक्टर क्षेत्रफलमध्ये ३३ हजार छ सय हेक्टरमा धान रोपाइँ सम्पन्न भएको उहाँले बताउनुभयो ।

यस्तै सप्तरीमा ६८ हजार हेक्टर क्षेत्रफल जग्गा धान खेती योग्य रहेको छ । हालसम्म ६४ हजार छ सय हेक्टर जग्गामा धान रोपाइँ भइसकेको छ । प्रतिशतका हिसाबले यहाँ ९५ प्रतिशत क्षेत्रफल जग्गामा धान रोपाइँ भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । सर्लाही र सिरहामा समान ९२ प्रतिशत क्षेत्रफल जग्गामा धान बाली लगाइएको छ । सर्लाहीमा ४६ हजार हेक्टर जग्गा धान खेतीयोग्य रहेकोमा ४२ हजार ३२० हेक्टर खेतमा धान रोपाइँ भएको छ भने सिरहामा ५४ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ४९ हजार ६८० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

प्रदेशमा महोत्तरीपछि सबैभन्दा कम धनुषा जिल्लामा धान रोपाइँ भएको छ । यहाँ ८० प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ । यस जिल्लामा ५८ हजार हेक्टर क्षेत्रफल जग्गा धान खेतीयोग्य रहेकोमा ४६ हजार चार सय हेक्टर क्षेत्रफल जग्गामा मात्र धान रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।

मधेश प्रदेशमा धान बालीसहित कुल पाँच लाख ७४ हजार ३६० हेक्टर क्षेत्रफल जग्गा खेतीयोग्य रहेको छ । यसमध्ये चार लाख एक हजार ६५० हेक्टर जग्गा क्षेत्रफलमा धान खेती हुने गरेको छ अर्थात् एक लाख ७२ हजार ७१० हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामा धानबाहेक मकै, कोदो, तरकारीसहित अन्य बाली एवं घरघडेरीमा प्रयोग भइरहेको अनुमान गरिएको छ ।

सबैभन्दा बढी सर्लाहीमा ८४ हजार ६७८ हेक्टर र सबभन्दा कम पर्सामा ५४ हजार ७३२ हेक्टर जग्गा खेतीयोग्य रहेको मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता मेहताले बताउनुभयो । यसै गरी सप्तरीमा ८१ हजार ६६८, धनुषामा ७६ हजार ५३१, सिरहामा ७३ हजार ९१४, बारामा ६९ हजार ५१६, महोत्तरीमा ६७ हजार ३५२, रौतहटमा ६५ हजार ९६९ हेक्टर क्षेत्रफल जग्गा खेतीयोग्य छ ।

जनकपुरमा मिटरव्याज पीडितको प्रशासनविरुद्ध प्रदर्शन

मिटरव्याज पीडितहरुले जनकपुरधाममा प्रशासनविरुद्ध प्रदर्शन गरेका छन् । मिटरब्याज पीडित संघर्ष समिति धनुषाको अगुवाईमा मिटरब्याज पीडितहरुले जनकपुरमा प्रदर्शन गरेका हुन् । मिटरब्याजी संरक्षक प्रशासक मुर्दाबाद, निषेधाज्ञा खारेज गर, मिटरब्याजीलाई पक्राउ गरी कारबाही गर, १० प्रतिशतभन्दा बढी व्याज लिन पाइँदैन लगायतका नरा प्रदर्शनमा लगाएका थिए ।

मण्डल कुट्टीबाट निस्केको जुलुस विभिन्न भागमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय घेराउत गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन् ।

बिचोलियाको रूपमा काम गर्ने कर्मचारीलाई तत्काल छलफलबाट हटाउनु पर्ने, विभिन्न राजनितिक दल र जनप्रतिनिधिहरुको अनाव्यश्यक हस्तक्षेप बन्द हुनु पर्ने, दिएका उजुरीहरुलाई अदालत जमिन र समान्य लेनदेनका आधारमा वर्गीकरण गरी प्राथमिक्ताका साथ अदालत र जमिनका मुद्दालाई तत्काल बहस गर्नुपर्ने, छलफलको टेवल संख्या बढाउनु पर्ने र हरेक टेबलमा संघर्ष समितिका प्रतिनिधी अनिवार्य राख्नु पर्ने उनीहरुको माग छ ।

यस्तै तीन पटकसम्म बोलाउदा पनि नआउने सुदखोरहरुलाई गिरफतार गरी आवश्यक कार्यावाही गर्नुपर्ने, मिटरब्याजी कक्षमा पिडीतलाई धम्काउने डेराउने र पकाउने काम बन्द गर्नुपर्ने, मिटरव्याजीमाथि पीडितको रकम र जग्गा अविलम्ब फिर्ता गर्नुपर्ने र मिटरव्याजी उपर कानुन बमोजिम अनुचित लेनदेन जाहेरी दरखास्त दर्ता गर्नुपर्ने लगायत ८ सुत्रीय उनीहरुको माग छ ।

मागहरु कार्यान्वयन नभएमा थप आन्दोलनको कार्यक्रम गर्ने संघर्ष समिति धनुषाका अध्यक्ष राजाराम यादवले चेतावनी दिए । त्यसबाट हुने क्षतिपूर्तिको जिम्मेवारी सम्बन्धित निकायले व्यहोर्नुपर्ने संघर्ष समितिका संयोजक विजय महतोले बताए ।

 

बालिका अपहरणको आरोपमा रौतहटमा दुई पक्राउ

रौतहट प्रहरीले बालिका अपहरणको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । शनिबार बिहान पक्राउ परेकाहरुमाथि प्रहरी अनुसन्धान जारी छ ।

दुवैलाई केरकार गरे पनि वास्तविकता खुल्न नसकेको ईलाका प्रहरी गरुडाले जनाएको छ । माधवनारायण नगरपालिका–५ बस्ने अवधेशकुमार महतोकी ९ वर्षिया छोरी खुश्बुकुमारी महतोलाई अपहरण गरेको आरोपमा छिमेकी रञ्जित साह र नरेश साहलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकाका बुवा महतोले दुवै मिलेर छोरीलाई अपहरण गरि भारत लगेको आरोप लगाए । गत बिहिबार साँझ घर छेउबाटै खुश्बु हराएपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । छिमेकी साहद्वयले अपहरण गरेको भन्दै महतो र स्थानियले केरकार गरेका थिए ।

शनिबा बिहान ५ बजे बोरामा बाँधिएको अवस्थामा घर नजिक छोरी खुश्बु फेला परेको बुवा महतोले जानकारी दिए । साहद्धयले छोरीलाई अहपरण गरेको प्रहरीमा जानकारी गराए पनि पक्राउमा ढिलासुस्ती गरेको भन्दै शनिबार बिहान स्थानीयले गौर–चन्द्रनिगाहपुरमा खण्ड केही बेर चक्काजाम गरेका थिए ।

प्रहरीले दुवैलाई नियन्त्रणमा लिएपछि बाटो खुलेको थियो । ‘छोरीलाई नशाको ईन्जेक्सन दिएर भारतसम्म पुर्‍याएका रहेछन्,‘बालिकाका बुवा महतोले भने,‘साहद्वयलाई अपहरणको मुद्दामा अनुसन्धान गर्नुपर्छ । दुवै दोषी हुन् ।’

आरोपित विरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा आईतबार महतोले जाहेरी ल्याएपनि सच्याउन भनेर लगे पछि फर्केर नआएको ईलाका प्रहरी गरुडाका डिएसपी ओमप्रकाश खनालले बताए । ‘प्रारम्भिक अनुसन्धानको क्रममा दुवैले अपहरण गरेको भन्ने यथेष्ट प्रमाण जुटाउन सकिएको छैन,‘उनले भने,‘अपहरण हो वा होईन भन्ने अनुसन्धान जारी छ । हामी यसैमा लागेका छौं ।’

पर्साको ठोरी क्षेत्रमा आतङ्क मच्चाउने पाटेबाघ नियन्त्रणमा

पर्साको ठोरी गाउँपालिका क्षेत्रमा आतङ्क मच्चाउँदै आएको पाटेबाघलाई पर्सा राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ । निकुञ्जबाट खटेको टोलीले ठोरी गाउँपालिका–५ बाघमोर्चा छघरे नजिककै खोल्साबाट पाटेबाघ नियन्त्रणमा लिएको सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले जानकारी दिए ।

निकुञ्जबाट निस्केको सो पाटेबाघको आक्रमणबाट गत भदौ १३ गते स्थानीय ५५ वर्षीय कान्छा दोङको मृत्यु भएको थियो । सोही दिन मृतक दोङको एक गोरुलाई मारेको थियो । बाघ नियन्त्रणमा लिनका लागि भदौ १४ गतेदेखि नै प्रयास थालिएकामा आज डार्ट गरिएको अध्यक्ष पाख्रिनले बताए ।

बाघ नियन्त्रणका लागि निकुञ्जको टोली, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी एवं हात्ती प्रयोग गरिएको थियो ।