June 2023 – Madhesh Update

जसपाका नेता तथा पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

पप्पु कन्स्ट्रक्सनका सञ्चालक तथा जसपाका नेता हरिनारायण रौनियार पक्राउ परेका छन् । प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए ।

रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो ।

बाँकेका एसपी सन्तोष सिंह राठौरका अनुसार रौनियार काठमाडौंमा बस्ने भएकाले पक्राउ गरिदिन जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुरोध गरिएको थियो ।

जसपावाट रौनियार पर्सा क्षेत्र नं ३ बाट निर्वाचित पूर्वसांसद् समेत हुन् ।

सांसद् रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । जसपा अध्यक्ष उपेन्द्र यादव उनको बचाउमा दौडधुप गर्दा उनको विरोध समेत भएका थिए ।

छोरी जन्माउने आमालाई सर्लाहीको बागमती नगरपालिकाले ५ हजार दिने

सर्लाहीको बागमती नगरपालिकाले छोरी जन्माउने आमालाई रु पाँच हजार सुत्केरी भत्ता दिने भएको छ। मधेसमा छोरी जन्मिए दाइजो दिनुपर्छ भन्ने सोचले भ्रूण हत्याका घटना बढिरहेको सन्दर्भलाई जोड्दै नगरपालिकाले छोरी जन्माउने आमालाई प्रोत्साहन स्वरुप रु पाँच हजार दिने घोषणा गरेको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिइन्।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रम र बजेट सार्वजनिक गर्दै दलित समूदायको उत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान गर्ने समेत घोषणा गरेको छ।

जसपाको कर्मकाण्डी विधान अधिवेशन – बिधान आएन, नेतृत्वको तीव्र आलोचना

जनता समाजवादी पार्टी नेपाल (जसपा) को विधान अधिवेशन सम्पन्न भएको छ ।  सम्पन्न विधान अधिवेशनले जसपाको विधान अनुमोदन गरेको छैन । वरु आफनो अनुकुल विधान बनाउनका लागी जसपा अध्यक्ष उपेन्द्र यादवले ६ सदस्यीय समिति बनाएको छ ।

असार १० देखि सुरु भएको ३ दिने विधान अधिवेशनमा जसपा अध्यक्ष यादवले विधान मस्यौदा पेश गरेका थिए । तर सहभागीहरुले पार्टीको नेतृत्वको तीव्र आलोचना गरे पछि जसपा नेतृत्वले अधिवेशावाट विधान सम्म अनुमोदन गराउन सकेका छैन ।

विधान मस्यौदामाथि छलफलका लागि विभिन्न १० वटा समूह बनाइएको थियो । सो समूहले सोमवार दिनभर विधानमाथि छलफल गरेको थियो । छलफलपछि मंगलवार ती समूहमध्येका एक–एक जना गरी १० जनाले आआफ्नो समूहमा उठेको बुँदामा ब्रिफिङ गरेका थिए ।

बिफिंगका क्रममा नेताहरु विधानका कुराहरु संगै पार्टी नेतृत्वको तीवै आलोचना गरेको र समाजवादी मोर्चाको नाममा पार्टीलाई कम्युनिष्टकरण गरेको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवको तीव्र आलोचना गरेका थिए ।

त्यस पछि नेतृत्वले अधिवेशनमा उठेका विषयवस्तुलाई विधानमा समावेश गर्ने, नगर्ने विषयमा छलफलका लागि ६ सदस्यीय समिति बनाएका छन । जुन समिति जसपाका अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा गठन भएको छ । समितिमा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, कार्यकारिणी सदस्यहरु रकम चेम्जोङ, लालबाबु राउत, सुशीला श्रेष्ठ र दीपेन्द्र झा रहेका छन् ।

समितिले विधानलाई अन्तिम रुप दिई प्रमाणीकरण गरेपछि मात्र कार्यान्वयनमा आउने प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले बताए । समितिले प्रमाणीकरण नगरेसम्म विधान कार्यान्वयनमा आउने छैन ।

 

सिराहामा खानेपानी संस्थाका सुरक्षा गार्डको हत्या

सोमबार बिहान ७ बजे मिर्चैया नगरपालिका ७ स्थित मिर्चैया साना सहरी खानेपानी संस्थामा एक पुरूषको शव फेला परेको हो। वडा नम्बर ८ घर भई सोही संस्थामा सुरक्षागार्डको काम गर्ने ६० वर्षीय किशोरी राय कुर्मीको शव फेला परेको हो।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतका अनुसार कुर्मीको हत्या भएको हो।

संस्थाको कम्पाउन्डभित्र उनको शव फेला परेको हो। घाँटीमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा फेला परेको हो।
हतियार भने फेला नपरेको डिएसपी बस्नेतले बताए।

उनी त्यस संस्थामा विगत ६ महिनादेखि कार्यरत थिए। बिहान संस्थामा पुगेका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो।

घटनास्थलबाट मुचुल्काको काम सकेर पोष्टमर्टमको लागि शव मिर्चैया अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ।

सुरक्षा माग गर्दै महोत्तरीको बर्दिवासका व्यवसायीको प्रदर्शन

चोरीका घटना बढेपछि महोत्तरीको बर्दिवास बजारमा व्यवसाय सुरक्षित नभएको भन्दै व्यवसायीहरूले विरोध र्‍याली निकालेका छन् । बर्दिवास १४ स्थित औरही रोडमा रहेका दुईवटा सुनचाँदी पसलमा एकै दिन चोरी भएपछि व्यवसाय सुरक्षाको माग गर्दै प्रदर्शन गरिएको सुनचाँदी व्यवसयी संघ महोत्तरीका महासचिव विनोद भण्डारीले बताए ।

आईतबार विहान ३ बजे न्यू साई ज्वेलर्स र श्रीहरी ज्वेलर्सको सटर खोली पसलबाट सेफ (लकर) र तयारी गरगहना सहित ७० लाख बराबरको धनमाल चोरी भएको उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रहरीको बिट जनिकै मुख्य बजारक्षेत्रमा यस्तो घटना हुनु र समयमै प्रशासनले घटनामा संलग्नलाई पक्राउ गर्न नसक्नु व्यवसाय सुरक्षाको चुनौती रहेको उद्योग वाणिज्य संघ बर्दिवासका अध्यक्ष विष्णु खड्काले बताए ।

बर्दिवास बजारमा भएको चोरीको घटनाप्रति विभिन्न संघसंस्थाले खेद प्रकट गरेका छन् । बर्दिवास नगरपालिका, जिल्ला प्रशासन, इलाका प्रशासन र प्रहरीलाई ध्यनाकर्षण समेत बुझाइने खड्काले बताए । बजार क्षेत्रका हरेक चोक चोकमा सीसीटीभी लगाई चोरीमा संलग्नलाई तत्काल कारबाही गर्नुपर्ने र आगामी दिनमा व्यवसायको सुरक्षा ग्यारेन्टी हुनुपर्ने माग व्यवसयाीले राखेका छन् ।

केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भए पनि अहिले पुष्टी भइनसकेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिए । राजमार्गमा सीसी क्यामेरा नहुँदा घटनामाथि अनुसन्धान गर्न केही जटिलता भएको भए पनि प्रहरी अनुसन्धानमै रहेको गौतमले बताए ।

 

 

धनुषाका ५ स्थानीय तहले अझै ल्याएनन् बजेट

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्था अनुसार गाउँकार्यपालिका र नगरकार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रम तथा बजेट गाउँसभा र नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।

त्यस्तै नगरसभामा असार १० गते पेस गरेको नीति, कार्यक्रम तथा बजेट पेस गरेको १५ दिनभित्र गाउँसभारनगरसभा सदस्यहरुको बहुमतले पारित गर्नुपर्ने व्यवस्था छ । सोही अनुरूप धनुषाका कतिपय स्थानीय तहहरूले असार १० गते अघि नै नीति, कार्यक्रम तथा बजेट गाउँसभारनगरसभामा स्थानीय तहहरूले पेस गरिसकेका छन् भने कतिपयले असार १० गते आइतबार पेस गरेका छन् । कतिपयले आन्तरिक विवादका बजेट पेस गर्न सकेका छैनन् ।

धनुषामा १८ वटा स्थानीय तह छन् । जसमध्ये एक उपमहानगरपालिका ११ नगरपालिका र छ वटा गाउँपालिका छन् । जसमध्ये जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार नै नीति, कार्यक्रम तथा बजेट नगरसभामा प्रस्तुत गरिसकेको थियो । उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६८ हजार २९० रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।

यस्तै सबैला नगरपालिकाले शनिवार नीति कार्यक्रम तथा बजेट नगरसभामा प्रस्तुत गरेको थियो । नगरपालिकाले अगामी आर्थिक वर्षका लागि अनुमानित ५९ करोडको बजेट ल्याएको छ । शनिबार भएको नवौँ नगरसभामा नगरप्रमुख कारीराम यादवले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित अनुमानित ५८ करोड ८८ लाख ९५ हजारको बजेट प्रस्तुत गरेका हुन् ।
ऋन्

विदेह नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/८१ का लागि ७० करोड ५ लाख ३ हजार ५ सय १ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। यस्तै, क्षीरेश्वरनाथ नगरपालिकाले आव २०८०/०८१ को लागि ल्यायो ६८ करोड ९२ लाख ९९ हजारको बजेट सार्वजनिक गरेको छ।

हंसपुर नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ४८ करोड ८२ लाख ४० हजारको बजेट ल्याएको छ। जिल्लाको कमला नगरपालिकाले नगरसभामा नीति तथा कार्यक्रम मात्र प्रस्तुत गरेका छन् । पालिकामा केही आन्तरिक विवाद रहेको कारण आइतबार नीति तथा कार्यक्रम मात्रै प्रस्तुत गरिएपनि बजेट असार २७ गते प्रस्तुत गरिने जनाइएको छ ।

गणेशमान चारनाथ नगरपालिकाले आव २०८०/०८१ को लागि ५२ करोड ७३ लाख ५ हजारको बजेट ल्याएको छ । यस्तै, धनुषाधाम नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ५४ करोड ४४ लाख ८३ हजार बराबरको बजेट विनियोजन गरेको छ ।

नगराईन नगरपालिकाले अगामी आर्थिक वर्षका लागि ५४ करोड ६८ लाख ७५ हजार ७ सय रुपैयाँको बजेट नगरसभामा प्रस्तुत भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले जनाएका छन् । मिथिला बिहारी नगरपालिकाले ४४ करोड ८४ लाख ९८ हजार ४ सय रुपैयाँको बजेट ल्याएको हो ।

त्यस्तै पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि १० औँ गाउँसभाबाट कुल ४७ करोड ३३ लाख ९२ हजार १०० बराबरको नीति कार्यक्रम तथा बजेट गाउँसभामा प्रस्तुत गरेको छ ।

लक्ष्मीनिया गाउँपालिकालले एघारौँ गाउँसभाबाट सुन्दर, समुन्नत र समृद्ध लक्ष्मीनियाँ गाउँपालिकाको नारासहित लागि ४५ करोड २७ लाख २८ हजारको बजेट प्रस्तुत गरेको हो । गाउँपालिकाले पुँजीगत खर्चतर्फ ५९ प्रतिशत र चालु खर्च तर्फ ४१ प्रतिशत बजेट विनियोजन गरेको छ ।

बटेश्वर गाउँपालिकाले आइतबार नगरसभा समक्ष आव २०८०/०८१ को लागि ३७ करोड २ लाख ८ हजार ४ सयको बजेट विनियोजन गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शर्माले जनाएका छन् ।

मुखियापट्टी मुसहरनिया गाउँपालिकाले अगामी आर्थिक वर्षको लागि ४२ करोड ५३ लाख ७८ हजार बराबरको बजेट गाउँसभामा प्रस्तुत गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवले जनाएको छ ।

यस्तै, जिल्लाका पाँच वटा स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेका छैनन् । आन्तरिक जनप्रतिनिधिहरुबीच आपसमा विवाद भएपछि पाँच पालिकाले बजेट ल्याउन नसकेको देखिएको छ ।

बजेट नल्याउने पालिकाहरू मथिला नगरपालिका, कमला नगरपालिका, शहीदनगर नगरपालिका, धनौजी गाउँपालिका र औरही गाउँपालिका रहेका छन् ।

यी पालिकाहरूमा अल्पमत बहुमत तथा योजना बाँडफाँटमा विवाद देखिएको कारण बजेट ल्याउन नसकिएको बताइएको छ ।

रौतहटको चन्द्रनिगाहपुरबाट ब्राउन सुगरसहित युवक पक्राउ

रौतहटको पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको चन्द्रनिहापुरबाट लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ का ३० वर्षीय विवेक गुरो रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी एक नारायण कोइरालाले बताएका छन् ।

प्रहरीले चेकजाँच गर्ने क्रममा गुरोको शरीरमा लुकाएर राखेका १.४६० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीको भनाई छ । गुरोले प्रयोग गरेको ना ५८ प ४२४६ नम्बरको स्पेलेण्डर मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिइएको तथा जिल्ला अदालत गौरबाट म्याद थप भई अनुसन्धान भइरहेको छ ।

नयाँ संविधान बनाउनुपर्ने अवस्था आउन सक्छ -उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान शासकीय स्वरुप, निर्वाचन प्रणालीमा सुधार नभए भविष्यमा नयाँ संविधान बनाउनुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

आइतबारदेखि काठमाडौमा सुरु जसपाको विधान अधिवेशन उद्घाटन गर्दै अध्यक्ष यादवले अहिलको शासकीय स्वरुप, निर्वाचन प्रणालीले मुलुकको बिकास गर्न र बिकृति बिसंगती अन्त्य हुन नसक्ने भन्दै शासकीय स्वरुप, निर्वाचन प्रणालीमा सुधार नभए भविष्यमा नयाँ संविधान बनाउनुपर्ने अवस्था आउन सक्ने बताएका हुन् ।

उनले अहिलको शासकीय स्वरुप, निर्वाचन प्रणालीलाई संविधानले धान्न नसक्ने भएकाले सुधार गर्नुपर्ने जिकिर गरे । उनले शासकीय स्वरुपका कारण नै सरकार कुन बेला ढल्ने हो भन्ने अवस्था रहेको धारणा राखे। मलुकलाई अग्रदिशातर्फ अघि बढाउनका लागि समावेशितामा आधारित समानुपातिक निर्वाचन प्रणाली बनाउनुपर्नेमा उनको जोड । यादवले सात प्रदेशको संरचना त्रुटीपूर्ण रहेको, प्रदेशको क्षेत्राधिकार अत्यन्तै न्यून रहेकाले संविधानको संशोधन गरेर सच्चाउदै जनतालाई वास्तविक संघीयताको महशुस गराउनुपर्ने बताए ।

आइतबारदेखि सुरु जसपाको अधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ । विधान अधिवेशनमा केन्द्रीय समितिका ४०६ सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनित हुने १० जनासहित सात सय ६१ प्रतिनिधि सहभागी छन् ।

 

मधेस अपहेलित, उपेक्षित र दयनीय अवस्थामा छ – महन्थ ठाकुर

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस अपहेलित, उपेक्षित र दयनीय अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा विभिन्न मन्त्रालयअन्र्तगत विनियोजित बजेटमाथिको छलफलमा उनले मधेसको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थाप्रति संवेदनशील बन्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, “सीता, जनक र गौतम बुद्धको जन्मभूमि मधेस आज अपहेलित, उपेक्षित र दयनीय अवस्थामा छ । बेरोजगारीका कारण युवाहरू विदेशिन बाध्य छन् ।” उनले नागरिकताको विषय, लोकतान्त्रिक मधेस आन्दोलन र सीमा विवादका विषयमा समेत सरकारको ध्यानाकर्षण गराए ।

महोत्तरीमा जन्मको आधारमा नागरिकता वितरण सुरु

महोत्तरीमा जन्मको आधारमा नागरिकता वितरण सुरु भएको छ । बिहीबार सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकलाई अवैधानिक भन्न नमिल्ने आदेश जारी गरेपछि शुक्रबारदेखि जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट जन्मको आधारमा नागरिकता वितरण सुरु गरिएको हो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपकबहाहुर पहाडीले शुक्रबारदेखि जन्मको आधारमा नागरिकता वितरण सुरु गरिएको बताए ।

महोत्तरी प्रशासनबाट शुक्रबार एक जनाले जन्मेको आधारमा नागरिकता प्राप्त गरेको उनले बताए ।
धनुुषा, सिरहा सहितका जिल्ला प्रशासन कार्यलयले समेत वकतव्य जारी गरेर नागरिकता बनाउनका लागी आउन आब्हान गरेका छन ।