April 2023 – Madhesh Update

बारामा उपेन्द्र यादवलाई राजाको जस्तै मुकुट र दुई सय केजीको माला

वैशाख १० गते भएको उपनिर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर दुुईवाट विजयी भएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई आइतवार राजाहरुले लाउने जस्तै चाँदीको मुकुट पहिराइदिएका छन्।

मोरङ, सुनसरी हुँदै सप्तरी २ समेत छाडेर निर्वाचन क्षेत्र फेर्दै बारा २ पुगेका यादव अहिले उपनिर्वाचन जितेको जस्म मनाईरहेका छन । उनले जनता समाजवादीको तर्फबाट कलैया उपमहानगरपालिका रहेका सदस्यहरुले आइतवार राजाहरुले लाउने जस्तै चाँदीको मुकुट पहिराइदिएका छन्।

राजाले लाउने शैलीमै यादवलाई मुकुट पहिर्‍याएपछि कार्यकर्ताहरुले उनको काँधमा २ सय केजीको मालासमेत भिराइदिए।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवलाई सम्मान गर्न कार्यकर्ताहरु त्यतिमै रोकिएनन्। उनीहरुले मुकुट र २ सय केजीको माला लगाइदिएपछि यादवलाई बधाई दिन हात्तीसहितको जुलुस नै निकाले।

हात्तीसहितको जुलुस निकालिँदा उत्सवको माहोल थियो। उक्त हात्तीमा यादव भने सवार भएनन्। बरु मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव र अर्थमन्त्री सञ्जय यादव सवार भएका थिए।

महोतरीमा वडाअध्यक्ष र वडासचिवको मिलेमतोमा नागरिकता किर्ते गरी भत्ता वितरण

महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका एक पूर्ववडाअध्यक्ष र वडा सचिवले नेपाली नागरिकताको प्रमाणपत्र किर्ते गरी सामाजिक सुरक्षा वितरण गरेको रहस्य खुलेको छ।
सम्सी गाउँपालिका–२ पर्सादेवाडका विसं २०७४ मा निर्वाचित वडाध्यक्ष मोहम्म्द मकसुद र तत्कालीन वडासचिव मनोहर मण्डलले नेपाली नागरिकताको प्रमाणपत्रमा केरमेट गरी २२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको तथ्य बाहिर आएको छ।

उनीहरूको मिलेमतोमा सरकारी कागज र छाप किर्ते गरी एउटै व्यक्तिको नाममा दुईवटा नागरिकता नम्बर प्रचलनमा ल्याएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ।

साथै एउटै व्यक्तिको नागरिकता नम्बरलाई केरमेट गरी फरकफरक नाम र जन्ममिति राखी सामाजिक सुरक्षा भत्ता खाने उमेर बढाएको पनि पाइएको छ। उनीहरुले वितरण गरेको सामाजिक सुरक्षा भत्ताबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी गरिएपछि सो कुरा बाहिरिएको हो।

वडा सचिव मण्डल र वडाध्यक्ष आलमको जालसाजीका कारण अकिला खातुनले रु ४४ हजार, असगरी खातुनले रु ९६ हजार, असरुल सोखिनले रु ४४ हजार, इसराईल शेषले रु ३२ हजार, तारा खातुनले रु ४४ हजार, नजिरा खातुनले रु ९६ हजार, विल्टुन खातुनले रु २४ हजार, माझी नदाफले रु ९६ हजार, मैनदिन शेषले रु ४४ हजार, मोजिबुल मोमिनले रु ४४ हजार, रहिमा खातुनले रु ९२ हजार, वरिदा खातुनले रु ९६ हजार, समुदा खातुनले रु ७२ हजार, शेष लाल बाबुले रु ९६ हजार, जरिना खातुनले रु एक लाख २८ हजार, डुमैरा खातुनले रु ८७ हजार, शेष सदिकले रु ४८ हजार, हासिम मोमिनले रु ९६ हजार, हसिना सोखिनले रु ९९ हजार नौ सय, शेख सफी अहमदले रु ९६ हजार, समिना खातुनले रु ८४ हजार शैरा खातुनले रु ९६ हजार बुझेकाले उनीहरुबाट पनि उक्त रकम असुल गरिने वडा कार्यालयले जनाएको छ।

तत्कालीन वडा सचिव मण्डल र वडाध्यक्ष आलममाथि कारबाहीका साथै उनीहरूबाट बिगो स्वरूप रु १६ लाख १४ हजार नौ सय असुल गर्नु पर्ने देखिएकाले कारबाहीका लागि पत्राचार भइरहेको वर्तमान वडाअध्यक्ष शेष अञ्जारेले जानकारी दिए। तर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रले उजुरीमाथि छानविनका लागि न्यायिक समितिमा पठाइएको र समितिको प्रतिवेदनअनुसार व्यक्तिमाथि असुल गरिनेमा जोड दिए।

धनुषाको हंशपुरकी उपमेयर चढ्ने गाडीको ठक्करबाट उनकै १४ महिने नातिनीको मृत्यु

धनुषामा उपमेयर चढ्ने गाडीले किचिएर १४ महिने बालिकाको मृत्यु भएको छ ।धनुषाको हंशपुर नगरपालिकाकी उपमेयर दुर्गा देवी मण्डल चढ्ने बा १६ च ९२६ नम्बरको सोमुले किचिएर उनकै नातिनी १४ महिने लक्ष्मीनिया कुमारीको मृत्यु भएको हो ।

आज आइतबार दिउँसो आफ्नै घरमा गाडी पछाडि गर्ने क्रममा किचिएर बालिकाको घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए ।

प्रहरीले गाडी चालक शहिदनगर नगरपालिका–४ बस्ने ३० वर्षीय दीपेन्द्रकुमार रायसहित गाडी पनि नियन्त्रणमा लिएको छ ।

घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जनकपुरधाममा मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज समस्याको थप अनुसन्धान गरी कारबाही अघि बढाउन जनकपुरमा कार्यलयको उद्धघाटन गरेका छन ।

आइतबार जनकपुरधाममा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना गर्दै उनले मिटरब्याजीको हकमा सरकार सदैव कठोर भएर प्रस्तुत हुने बताए। मधेशमा मिटरब्याजीको जालो फैलिएको दाबी गर्दै मन्त्री श्रेष्ठले राजनीतिक पहुँचको आधारमा कुनै पनि मिटरब्याजीले उन्मुक्ति नपाउने जिकिर गरेका छन्।

मन्त्री श्रेष्ठले मिटरब्याजीको पक्षमा रहेका जोसुकैलाई पनि सरकारले कारबाही गर्ने चेतावनी दिए। उनले मिटरब्याजीलाइ संरक्षण गर्ने राजनीतिक दलका कार्यकर्ताहरुलाइ समेत कानूनी दायरामा ल्याइने चेतावनी दिए।

मिटरब्याजसम्बन्धि जाँचबुझ आयोगले जनकपुरधाममा आजदेखि केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ। प्रारम्भिक काम जारी राखेको आयोगले आजदेखि जनकपुरधाममा कार्यालय स्थापना गरी कार्यसञ्चालन सुरू गरेको हो।

सरकारले मिटरब्याज पीडितको माग सम्बोधन गर्नका लागि गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो।

कार्यालय स्थापना भएसँगै मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन पीडितहरूको निवेदन आह्वान गरिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए।

निवेदन आजदेखि वैशाख ३१ गतेसम्म १५ दिनभित्र दिनुपर्ने आयोगले जनाएको छ।

मिटरब्याज पीडितहरूले आफूसँग उपलब्ध रहेका सवुद प्रमाणसहित अनलाइनबाट सिधै आयोगमा वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्नेछन्।

प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरिएको उनले बताए। सोही कक्षमा निवेदन फाराम निशुल्क उपलब्ध रहेको उनले जानकारी दिए।

निवेदन फाराम जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले भराइ दिने प्रबन्ध गरिएको आयोगले जनाएको छ।

 

वैशाख १७ लाई बालविवाह विरुद्धको दिवसका रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले वैशाख १७ गतेलाई प्रदेश सरकारले बालविवाह विरुद्धको दिवसका रुपमा मनाउने घोषणा गरेका छन् ।

जनकपुरधाममा आइतबारदेखि सुरु भएको दुई दिवसीय मधेस बालिका सम्मेलन–२०८० लाई उद्घाटन गर्दै मुख्यमन्त्री यादवले सन् २०३० सम्ममा मधेस प्रदेशलाई बालविवाह मुक्त बनाउन रणनीतिक योजना ल्याएको बताए ।

१० वर्षे रणनीतिक योजना र बाल सहभागिता कार्यविधि स्वीकृत भइसकेको जनाउँदै उनले प्रदेशमा बालविवाह अन्त्य गर्ने अभियानलाई तदारुकताका साथ अघि बढाउने बताए ।

 

जनकपुरको रुपैठामा दाइजोको निहुँमा जलाएर हत्याको प्रयास

धनुषाको जनकपुरधाममा दाइजोको निहुँमा श्रीमान र परिवारका सदस्यले आगोमा जलाएर हत्या प्रयास गरेको पीडित महिलाले बताएकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झाले आफ्नो हत्या प्रयास भएको बताएकी हुन् ।

प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत श्वेताले श्रीमान राजीव, ससुरा शिवशंकर झा, सासु, देवरलगायतले कुटपिट गर्दै शरीरमा आगो लगाइदिएर हत्या प्रयास गरेको बताइन् । ‘हाम्रो विवाह भएको १० वर्ष वितिसक्यो । दाइजोमा स्वीकारेको ३ तोला सुन अहिलेसम्म नदिएको भन्दै श्रीमानसहित घरपरिवारले मलाई यातना दिँदै आएका थिए,’ श्वेताले भनिन्, ‘अहिले आगो लगाएर मेरो ज्यानै लिन खोजे ।’

घटना वैशाख १ गते नयाँ वर्षको दिन हो । राजीवले ९ वर्षीय छोरालाई कुटपिट गरिरहेका थिए । त्यसलाई रोक्न खोज्दा राजीवले भाइ, बुबा र आमाको सहयोगमा आफूलाई पनि कुटपिट गर्दै आगोले जलाइदिएको श्वेताको आरोप छ ।

घटना थाहा पाएपछि भारत बिहारको दरभंगास्थित पोठिया गाउँ माइत रहेकी श्वेताका बुबा जयकुमार झा, भाइलगायतका आफन्तले उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका थिए । उपचारमा संलग्न चिकित्सकका अनुसार श्वेताको घाँटीभन्दा तल शरीरको ३५ प्रतिशत भाग जलेको छ ।

विवाहको बेला माइती पक्षले २ लाख भारतीय रुपैयाँ दिएको थियो । तर अहिलेसम्म ३ तोला सुन नदिएको भन्दै पटक–पटक आफूलाई यातना दिँदै आएको श्वेताको भनाइ छ । विवाहपश्चात् आफ्नो बुबाले निरन्तर राजीव र उनको परिवारलाई आर्थिक सहयोग गर्दै आएको श्वेताको भनाइ छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले पीडित परिवारबाट उजुरी नपरेको र औपचारिक जानकारी नआएको बताए । यद्यपि विभिन्न माध्यमबाट जानकारी पाएपछि अनुसन्धान गरिरहेको उनले बताए ।

 

मधेश सरकारले १ लाख किसानलाई गाई, भैँसी र बाख्रा वितरण गर्ने

मधेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/०८१को नीति तथा कार्यक्रममा ३१ बुँदे योजना सामेल गर्न लागेको छ। भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री वसन्त कुश्वाहाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ३१ बुँदे योजना सामेल गर्न लागेको जानकारी दिए।

मधेश प्रदेश कृषि प्रधान प्रदेश रहेकाले कृषि क्षेत्रलाई विशेष महत्व दिएर यी योजनाहरु तयार पारिएको उनले बताए। उनका अनुसार मलको अभाव प्रत्येक वर्ष भइरहेको सन्दर्भमा रासायनिक मललाई विस्तारै विस्थापन गर्दै लैजाने योजना मन्त्रालयको रहेको छ।

मधेश प्रदेशमा ३ लाख मेट्रिक टन रासायनिक मलको आवश्यक्ता रहेकोमा संघ सरकारबाट प्राप्त हुने १ लाख ५० हजार मेट्रिक टन मल उपयोगमा ल्याइने मन्त्री कुश्वाहाले बताए। बाँकीमा प्रांगारिक मलको प्रयोगलाई बढावा दिइने उनको भनाई थियो।

किसानलाई आत्मनिर्भर बनाउनका लागि किसानहरुको पहिचान गरी एक लाख किसानलाई गाई अथवा भैँसी र बाख्रा वितरण गरिने मन्त्रीले बताए। यसका लागि एनजीओ तथा आईएनजीओसँग समन्वय गरी बजेट व्यवस्थापन गर्ने मन्त्रालयको लक्ष्य छ।

यसका साथै प्रत्येक पालिकामा साना कृषि बजार प्रवर्द्धन केन्द्र स्थापना, कोल्ड स्टोर निर्माण, प्रत्येक जिल्लामा भेटनरी एम्बुलेन्सको व्यवस्था, माटो परीक्षणका लागि प्रत्येक वडामा सोइल टेस्टिङ किटको व्यवस्था, कृषि पर्यावरणमा आधारित पर्यटनको विकास, मुख्यमन्त्री कृषक उत्थान कार्यक्रम अन्तर्गत कृषि उत्पादनलाई निर्यातको व्यवस्था मिलाउने, किसान परिचय पत्र कार्यक्रमलाई व्यवस्थित बनाउने, कृषिमा स्नातक उत्तिर्णहरुलाई मन्त्रालय अन्तर्गतको विभिन्न कार्यालयमा रहेको कर्मचारी अभावलाई ध्यानमा राखेर इन्टर्नमा राख्ने, ईँटा भट्टाका कारण बनेका खाल्डा खुल्डीमा मत्स्य पालन वा हाँस पालनको व्यवस्था मिलाउने, खेती प्रणालीलाई डिजिटलसँग जोडेर जिओग्राफिक इन्फरमेसन सिस्टम र स्याटेलाइट सेन्सिङ प्रविधिसँग जोड्ने लगायतका योजनाहरु सामेल गरिएको छ।

यस्तै, वैदेशिक रोजगारीबाट फर्केका युवायुवतीहरुलाई व्यवसायिक खेती तथा पशुपंक्षी, मत्स्यपालनमा संलग्न गराई रोजगारीको अवसर सिर्जना गरिने, प्रत्येक जिल्लामा कृषि इन्जिनियर व्यवस्था गर्ने, धानको मात्रै समर्थन मूल्य तोकिएको सन्दर्भमा अन्य कृषि उपजहरुको समेत समर्थन मूल्य तोक्ने योजना नीति तथा कार्यक्रममा सामेल गरिने मन्त्री कुश्वाहाले बताए।

नागरिकता बनाउन नक्कली विवरण पेस गरेको आरोपमा वडाध्यक्षसहित ५ जना पक्राउ

नक्कली विवरण पेस गरी वंशजको नाताले नागरिकताका लागि सिफारिस गरेको आरोपमा बारामा वडाध्यक्षसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीसहित नागरिकता लिइसकेका नक्कली बाबु छोरा र झुक्याएर लिने प्रयास गरेका अर्का नक्कली बाबुछोरा गरी पाँच जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।

कलैया उपमहानगरपालिका १० मटिअर्वा गाउँका नक्कली बाबु ७५ वर्षीय जोधन साह तुराहा र नक्कली छोरा बनेका २१ वर्षीय रमेश साह तुराहा पक्राउ परेका हुन् । रमेशले मावलीका हजुरबुबा जोधनलाई बाबु बनाएर ६ महिनाअघि वंशजको आधारमा नागरिकता लिएका थिए ।
गोप्य उजुरीको आधारमा उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कलैयाको प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए ।

त्यस्तै नागरिकता लिन सिफारिस गरेका वडाध्यक्ष महम्मद साबिरलाई बुधबार नियन्त्रण लिई अदालतबाट ५ दिनको म्याद थपेर हिरासतमा राखी अनुसन्धान सुरु भएको उनले बताए ।

प्रहरी र स्थानीयबीच झडप हुँदा सिरहाको मिर्चैया तनावग्रस्त

नगरपालिका घेराउ गर्न पुगेका स्थानीयवासी र प्रहरीबीच झडप हुँदा बिहीबार सिरहाको मिर्चैया बजार तनावग्रस्त बनेको छ । बस्न र व्यापार गर्न तत्काल व्यवस्था गरिनुपर्ने, घर भत्काउँदा भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिइनुपर्ने, जग्गाको लालपुर्जा दिइनुपर्ने, छानबिन गरी न्याय दिइनुपर्नेलगायत माग गर्दै हनुमान चोकबाट स्थानीय व्यापारीहरूको जुलुस साढे ११ बजे नगरपालिका कार्यालय पुगेको थियो ।

प्रदर्शनकारीहरुले आफूहरूले उठाएका विषयको जवाफ मेयर श्रवणकुमार यादवले दिनुपर्ने माग गरी नगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका थिए । तर, मेयर यादव बाहिर नआएपछि प्रदर्शनकारी नगरपालिकाभित्र प्रवेश गर्न खोजेका थिए । प्रहरीले रोकेपछि स्थानीयले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि झडप भएको थियो ।

तनावग्रस्त भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २७ राउन्ड हवाईफायर, ११ सेल अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए । झडपका क्रममा पाँच प्रहरी घाइते भएको उनले जानकारी दिए । प्रदर्शनकारीको ढुंगा प्रहारबाट मेयर श्रवण यादव चढ्ने गाडीको सीसा फुटेको छ ।

प्रदर्शनकारीले प्रहरीले घर घरमा गएर कुटपिट गरेको आरोप लगाएको छ । घरभित्र प्रवेश गरी कुटपिट गर्दा संगीताकुमारी साह घाइते भएको उनका पति अञ्जय साहले बताए । कुटपिटबाट घाइते संगीताको कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा उपचार भइरहेको उनले बताए ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका पूर्वअध्यक्षविरुद्ध ३१ लाखको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालिन अध्यक्ष रामबल्लभ साहविरुद्ध ३१ लाख ७४ हजार ४६७ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वडा नम्बर ४ को धन्छवारस्थित पश्चिम कटनिया नयाँ नदीमा अलपत्र छाडिएको पुल निर्माणको कामको भुक्तानी गरेको आरोपमा उनीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पुल र कल्भर्ट निर्माण योजनामा पुनः डिजाइनसमेत नगरी ड्रइङ परिवर्तन गरी, योजना सम्पन्न नहुँदै न्यून गुणस्तरमा काम गरी दुबै योजना सम्पन्न गर्न नमिल्ने अवस्थामा पनि भुक्तानी दिएको अख्तियारको आरोप छ ।

अख्तियारले गाउँपालिकाकी तत्कालिन उपाध्यक्ष आशादेवी यादव, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रकुमार महत, तत्कालिन लेखापाल इन्द्रकुमार कर्ण, वडा नं ४ का तत्कालिन वडाध्यक्ष विद्यानन्द साह सुडी, वडासचिव रामनारायण मण्डल विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत धनिकलाल यादव र सुजितकुमार यादव, तत्कालिन लेखापाल नरेश कामैत, इन्जिनियर अमन पोखरेल, वडा नं ३ का तत्कालिन वडाध्यक्ष हनुमान मण्डल र उपभोक्ता समितिका पदाधिकारीहरुविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।