January 2023 – Madhesh Update

अयोध्यामा निर्माणाधिन राम मन्दिरमा स्थापित गरिने राम मुर्तीका लागी जनकपुर हुँदै लगिँदै देव शिला

कालीगण्डकी नदीको शिला अब हिन्दूहरुको पवित्र धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनेर विश्वभरका हिन्दूधर्मावलम्बीद्वारा पुजिने भएको छ ।
शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीबाट बुधबार निकालेर गलेश्वरधाम परिसरमा लगिएको सो शिला आज मन्दिरमा रुद्राभिशेकसहित विशेष पुजा गरी जनकपुर हुँदै अयोध्याका लागि बिदाइ गरिएको छ ।

म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारको शिला बुधबार क्रेनमार्फत निकाली गाडीमा राखेर गलेश्वर लगिएको थियो । नगर प्रमुख सुरत केसीले शिलाको पूजा आराधना गरी जनकपुर मन्दिरका पिठाधीस रामतपश्वेर दासलाई सो शिला हस्तान्तरण गरेपछि बाजागाजा र ¥यालीसहित बेनी बजार परिक्रमा गराई जनकपुरतर्फ पठाइएको हो ।

रामको मूर्ति बन्ने शिलाको दर्शन गर्न सयौँ भक्तजन, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, सर्वसाधारण लगायतको भीड लागेको थियो । गत आइतबार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक विधिअनुसार क्षमापूजा र गङ्गा पुजन गरेर शिला जनकपुर मन्दिरका पिठाधीस दास र अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजलाई शिलाको प्रतिकस्वरुप तीन वटा शालिग्राम हस्तान्तरण गरेका थिए ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार १८ र १६ मेट्रिकटन तौल भएका सात फिट लम्बाइ पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई शिलाको पहिचान र क्षमापूजाको काम सम्पन्न भएपछि आज श्रीपञ्चमीको शुभसाइतमा शिला जनकपुर हुँदै अयोध्या पठाउन लागिएको नगर प्रमुख केसीले जानकारी दिए ।

हिन्दू धर्मावलम्बीको केन्द्र अयोध्यासँगको जनकपुरको धार्मिक र ऐतिहासिक सम्बन्ध रहेको छ । कालीगण्डकीको शिला अयोध्या लगेर भगवान श्रीरामको मूर्ति बनाउँदा कालीगण्डकीको महत्व अझै बढ्ने अयोध्याबाट आउनुभएका राममन्दिर निर्माण समितिका सचिव पङ्कजले बताए । “यहाँबाट लैजाने शिलाबाट श्रीरामको मूर्ति बनाएर मन्दिरमा राख्छौँ, शालिग्राम पाइने कृष्णा गण्डकीको किनारका शिला देवताका अवतार हुन्”, उनले भने, “अयोध्या र जनकपुरको धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई यो शिलाले कालीगण्डकी र म्याग्दीसम्म विस्तार गर्छ ।”

नगरपालिकाले यो शिला गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । गण्डकी प्रदेश सरकारले मधेस प्रदेश सरकारलाई जनकपुर पु¥याएर हस्तान्तरण गर्नेछ । जनकपुरबाट नेपाल सरकारले भारत सहकारलाई हस्तान्तरण गरेपछि अयोध्या पठाइने बताइएको छ ।

पुस ३ गते बसेको तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले रामको प्रतिमा निर्माणका लागि प्रयोग गरिने शालिग्राम शिलाको खोजी गर्ने निर्णय गरेको थियो । यसको खोजी म्याग्दी र कालीगण्डकी नदीको दोभानबाट सुरु गरिएको थियो । प्राविधिक तथा धार्मिक हिसाबले ठूलो पहिरो नजिकै उपयुक्त शिला फेला परेको हो ।

कालीगण्डकी करिडोरअन्तर्गत उत्तर–दक्षिण जोड्ने बेनी–गलेश्वर सडकखण्डअन्तर्गत बेनीको वडा नं ६ ठूलोपहिरो नजिकै कालीगण्डकी नदीको तिरमा १८ टनको क्वाजराइट र १० टनको क्यालसाइट नामक शिला पहिचान गरिएपछि विधिपूर्वक उत्खननको तयारी सुरू गरियो ।

नेपालमा विश्वकै दुर्लभ मानिएको शालिग्राम शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराइनेछ भने त्यहाँबाट प्रक्रिया पूरा गरी अयोध्या लैजाने म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए ।

काठमाडौं स्थित भारतीय दुतावासले मनायो गणतन्त्र दिवस

काठमाडौं स्थित भारतीय राजदूतावासले विहिवार भारतको ७४ औं गणतन्त्र दिवस मनाएको छ । गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमहरुको शुभारम्भ गरेका थिए । कार्यक्रममा भारतका माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन भारतीय श्रीवास्तवले पढेर सुनाएका थिए ।

सम्बोधनमा माननीय राष्ट्रपति मुर्मूले विश्वव्यापी आर्थिक अनिश्चितताका बावजुद गान्धीजीको “सर्वोदय” वा “सबैको उत्थान” को आदर्शलाई हासिल गर्न भारतले आर्थिक क्षेत्रमा गरेको उत्साहजनक प्रगतिको चर्चा गरेकी छिन ।

साथै वहाँले जी–२० मा भारतले पाएको अध्यक्षता सिंगो विश्व र भविष्यलाई अझ राम्रो बनाउन प्रजातन्त्र र बहुपक्षीयतालाई प्रवर्धन गर्ने अवसर भएको पनि बताएकी छिन ।

कार्यक्रममा राजदूत श्रीवास्तवले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई नेरु ४.६० करोड नगद तथा कम्बल वितरण गरी सम्मान गरेका थिए ।

नेपालका विभिन्न संस्थाहरुलाई पुस्तक वितरण समेत गरिएको थियो । भारतको ७४ औं गणतन्त्र दिवसको अवसरमा दूतावासले २३ वटा संस्थालाई नेरु १६ लाख बराबरको पुस्तक उपहास्वरुप वितरण गरेको छ ।

साथै सेवानिवृत्त सैनिकहरुलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउदै, दूतावासले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरुका लागि भारत सरकारको कल्याणकारी पहलहरु समावेश गरिएको भूपू–२०२२ पत्रिकाको लोकार्पण समेत गरेको छ ।
कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरुले देशभक्ति गीतका साथै अन्य प्रस्तुति प्रस्तुतहरु गरेका थिए ।

 

बैंकमा जम्मा गर्न लगेको रकम लिएर भागेको आरोपमा ३ जना पक्राउ

वीरगञ्जबाट मनीट्रान्सफर कम्पनीमा काम गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज वडा नं १० आदर्शनगर बस्ने आकाश साह, २२ वर्षीय संजय साह र २१ वर्षीय महम्द सकिर मियाँ रहेका छन् ।

रकम ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताए । प्रहरी निरीक्षक थपलियाका अनुसार तीनै जना वीरगञ्ज महानगरपालिका वडा नं १० आदर्शनगर स्थित माँ दुर्गे मनिट्रान्सफर प्रा लिमा कार्यरत कर्मचारी हुन्।

मनीट्रान्सफर कम्पनीका सञ्चालक विजय साह सरार्फले कृषि बिकास बैकमा जम्मा गर्न लगाएको ४ लाख १४ हजार ८ सय रुपैयाँ लिएर फरार भएको प्रहरीको आरोप छ ।

उनीहरुको साथबाट प्रहरीले २ लाख २३ हजार ५ सय बरामद भएको छ ।

पक्राउ परेका उनीहरुमाथि ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको छ भने पर्सा जिल्ला अदालतले घटनाबारे थप अनुसन्धान गर्न ४ दिनको म्याद अनुमति दिएको प्रहरीले जनाएको छ ।

रौतहटको गौरमा पूर्वप्रधानमन्त्री नेपालद्वारा घन्टाघरको शिलान्यास

एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको सदरमुकाम गौरमा घन्टाघरको शिलान्यास गरेका छन् । बिहीबार एक समारोहकाबीच नेता नेपाल र गौर नगरपालिकाका मेयर म्भु साहले बिपि चौकमा संयुक्त रुपमा घन्टाघरको शिलान्यास गरेका हुन्।

उक्त अवसरमा नेता नेपालका साथै प्रदेश सांसद तथा नेपाली कांग्रेस प्रदेश सभापति कृष्ण प्रसाद यादव ,प्रदेश सांसद नागेन्द्र साह,पुर्व सांसद रामकुमार भट्टराई लगायतको उपस्थिति रहेकोे थियो । गौर नगरपालिकाको कुल एक करोड ४६ लाखको लागतमा बिपि स्मारक तथा घन्टाघर निर्माण गर्न लागिएको हो । निर्माण दुई वर्षमा सम्पन्न हुने गौर नगरपालिकाले जनाएको छ।

पर्साको वीरगञ्जस्थित सिर्सिया भन्सारद्वारा लक्ष्यको ६७ प्रतिशत राजस्व सङ्कलन

मुलुकको तेस्रो ठूलो भन्सार पर्साको वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा लक्ष्यको ६७ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा रु ३२ अर्ब तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु २१ अर्ब ५१ करोड राजस्व सङ्कलन भएको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत सन्तोषकुमार न्यौपाने जानकारी दिए । कार्यालयको चालु आवमा रु ६७ अर्ब ४३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य छ ।

सो भन्सार कार्यालयले आव २०७८/७९ मा लक्ष्यको ९४ दशमलव ९८ प्रतिशत र आव २०७७/७८ मा लक्ष्यको ९६ दशमलव ४० प्रतिशत राजस्व सङ्कलन गरेको थियो । चालु आवमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुने सम्भावना कम रहेको न्यौपानेको भनाइ छ । समग्रमा आयात घट्नु, राजस्वमा बढी योगदान गर्ने वस्तु मदिराको आयातमा प्रतिबन्ध र तयारी वस्तु, बिस्कुट, चकलेटजस्ता वस्तुको आयात घट्दा राजस्व सङ्कलन प्रभावित भएको उनी बताउँछन् ।

गत आवभन्दा चालु आवको राजस्व सङ्कलन लक्ष्य बढी भएको र आयात घटेकाले राजस्व सङ्कलन प्रभावित भएको भन्सारका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले बताए । यसबाहेक कतिपय वस्तुको आयातमा प्रतिबन्ध तथा एलसी खोल्नमा कडाइ गरिएकाले राजस्व सङ्कलन घटेको उनको भनाइ छ । सरकारले मदिरा, मोबाइल, गाडीको आयात खुला गरे पनि आयातकर्ताले एलसी खोलेर आयात गर्न अझै समय लाग्ने भएकाले आगामी दुई महिना यस्तै अवस्था रहने भण्डारी बताउँछन् ।

मधेस प्रदेशका तीन बिनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीन जना बिनाविभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन् । मंगलबार सम्पन्न मन्त्रिपरिषद् बैठकले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी नेपालका सञ्जय यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीका वसन्त कुशवाहालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

मुख्यमन्त्री यादवले बाँकी सात मन्त्रालय भने हाल आफैँसँग राखेका छन् । मधेस प्रदेशमा १० मन्त्रालय छन् । प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन् ।

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवलाई प्रदेशसभाका १० दलमध्ये सात दल र दुई स्वतन्त्र गरी ६३ सांसदको समर्थन छ ।

शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता दिने तयारीमा मुख्यमन्त्री यादव

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आगामी शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । सत्ता गठबन्धन दलबीच सहमति हुन नसक्दा प्रदेश सरकारले पूर्णता पाउन नसकेको खबर आइरहेका बेला उनले दलहरूबीच सरकार विस्तारमा कुनै समस्या नरहेको बताए ।

उनले शुक्रबार विभागीय जिम्मेवारीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको जानकारी दिए । “सत्ता गठबन्धनमा विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको भनेर प्रचार गरिएको विषयमा म पनि जानकार छु”, मुख्यमन्त्री यादवले भने, “हामीबीच कुनै विवाद छैन । कुन पार्टीले कति र कुन मन्त्रालयको जिम्मा पाउने भनेर मोटामोटी समझदारी भएको छ । अब शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।”

मुख्यमन्त्री यादवले प्रदेश प्रमुख हरिशङ्कर मिश्र काठमाडौँमा रहेकाले शुक्रबारसम्म पर्खिनुपरेको र उनी बिहीबार फर्केपछि मन्त्रिपरिषद् विस्तार गरिने प्रष्ट पारे ।

मुख्यमन्त्री यादवको सिफारिसमा गत पुस २९ गते उनीसँगै थप तीन जना प्रदेशसभा सदस्य, एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादव, जनता समाजवादी पार्टी (जसपा) का सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहले बिनाविभागीय मन्त्रीको रुपमा शपथग्रहण गरेका थिए । जसपा मधेस प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री यादवले माघ ३ गते विश्वासको मत लिएको एक हप्ता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

“सुरुमा दलहरुबीच छलफल गर्नुपर्ने थियो, पछि म आफैँ पनि काठमाडौँ जानुपर्ने भएपछि केही समय ढिला हुन गयो”, मुख्यमन्त्री यादवको भनाइ थियो, “अब मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्नुपर्ने कुनै कारण छैन ।”

कांग्रेस मधेस प्रदेश समितिले चुनावको समीक्षा गरी केन्द्रमा पठाउने

नेपाली कांग्रेस मधेश प्रदेश समितिले मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा चुनावका बारेमा समीक्षा गर्ने निर्णय गरेको छ। मंगलबार जनकपुरमा बसेको प्रदेश समितिले समीक्षामा जिल्लाबाट प्राप्त हुने सल्लाह र सुझावअनुसार प्राप्त प्रतिवेदन समायोजन गरी कार्यान्वयनका लागि केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरेको हो।

निर्वाचनमा पार्टीका विधान र निर्देशिकाविपरीत गतिविधि गरेका कार्यकर्ताको प्रमाण संकलन गरी अनुशासनको कारबाहीको लागि प्रदेश अनुशासन समितिलाई निर्देशन दिने निर्णय समेत बैठकले गरेको प्रचारप्रसार विभाग प्रमुख नितेश गुप्ताले जानकारी दिए।

यस्तै, मातहतको संगठनलाई प्रभावकारी बनाउन प्रादेशिक वार्षिक क्यालेण्डर तर्जुमा गरी मतहतका सांगठनिक निकायहरुलाई परिचालन गर्ने र विभिन्न राजनीकि दल परित्याग गरेर आएकालाई अनुशासन समावेश गर्न केन्द्रमा सिफारिस गर्न निर्णय गरेकोसमेत गुप्ताले बताए।

मधेश प्रदेशका २ सांसदले बुधवार शपथ लिए

नेकपा माओवादी केन्द्र मधेश प्रदेशका दुईजना प्रदेश सांसदले शपथ लिएका छन् । रजि हैदर र माला कर्णले प्रदेश सभा सचिवालयमा आज शपथ लिएका हुन् । सभामुख रामचन्द्र मण्डलले उनीहरूलाई शपथ खुवाएका हुन् ।

दुवै जना समानुपातिक प्रणालीबाट सांसद भएका हुन् । मुद्दा परेपछि सर्वोच्च अदालको आदेशले दुई सांसदको शपथ रोकिएको थियो ।

मधेश प्रदेशमा अरु १०५ सांसदको शपथ भने गत पुस १५ गते भएको थियो ।

 

बिचौलियाको आरोपमा जिल्ला प्रशासन धनुषामा एक जना पक्राउ

जिल्ला प्रशासन कार्यालय धनुषामा बिचौलियाको काम गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उप–महानगरपालिका १६ कपिलेश्वरका ३९ वर्षीय दिपक ठाकुर छन् ।

सेवाग्राहीसँग १५ सय रुपैयाँ लिँदै गरेको अवस्थामा उनलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार नागरिकता, राहदानी (पासपोर्ट) बनाउन आउने सेवाग्राहीहरुलाई कार्यालयका कर्मचारीहरु आफ्नो चिनजानको रहेको र चाँडै काम गराइदिने भनेर जनही तीनहजार रुपैयाँसम्म लिने गरेको गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।