January 2022 – Madhesh Update

जसपा र लोसपा दुवै गृह–कलहमा

नेपालमा राजनीतिक दलहरू मिल्ने र विभाजन हुने कुनै टुङ्गो छैन। कुनै यस्तो दल छैन, जो आन्तरिक कलहमा नफसेको होस्। कतिसम्म भने, विभाजनपछि बनेका दलहरूलाई समेत आन्तरिक कलहले छोडेको छैन।

जनता समाजवादी पार्टी (जसपा) भित्र कलह बढेपछि महन्थ ठाकुर र राजेन्द्र महतो समूह बाहिरिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरे। सत्ता समीकरणका विषयमा मत बाझिएपछि जसपा दुई पार्टीमा विभाजित भएको थियो तर, यी दुवै पार्टी यतिबेला आन्तरिक कलह बढेको छ ।

पहिले जसपाकै चर्चा गरौँ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव हुन् भने संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई। त्यस्तै वरिष्ठ नेतामा अशोक राई छन्। ठाकुर समूह पार्टीमा रहँदा एकै ठाउँ उभिएका यी नेतावीच अहिले सम्बन्ध चिसिएको छ।यसको कारण हो, यादवको एकलौटी निर्णय ।

गठबन्धन सरकारमा जसपाको तर्फबाट मन्त्री छनोट गर्न पार्टी बैठकले यादव, भट्टराई र राईलाई जिम्मा दियो। तर, पठाउँदा यादवले आफू निकटका लाई मात्रै पठाए। उनले एकलौटी गरेपछि पार्टीभित्र असन्तुष्टि बढ्यो र उनको विरोधमा अभिव्यक्तिहरू आए।

स्रोतका अनुसार, पार्टी विभाजन हुँदा यादवले इस्तियक राईदेखि प्रदीप यादवसम्मलाई मन्त्री बनाउने आश्वासन दिएका थिए। तर,सरकारमा अरूलाई नै पठाएपछि राई, यादव चिढिएका छन् ।

संघीय परिषद् अध्यक्ष भट्टराईको सिफारिसमा एक जनालाई पनि मन्त्री नबनाएपछि जसपाभित्र असन्तुष्टि चुलिएको थियो। अहिले दुरी अरू बढेको छ। कार्यकारी निर्णयको अधिकार यादवमा मात्रै रहँदा अरू निरीह झैँ हुन थालेपछि यादवविरुद्ध मोर्चा बन्दी शुरु भएको छ।

इस्तियाक राई, प्रदीप यादव, राजकिशोर यादव मात्रै होइन, कृषिमन्त्री महेन्द्र यादव समेत उपेन्द्रको एकलौटी गर्ने प्रवृत्तिको विरुद्ध उभिएका छन्। जसले गर्दा पार्टीमा भट्टराई, अशोक राईहरू बलियो देखिएका छन्। महत्त्वपूर्ण निर्णयहरूमा यादव, भट्टराई र राईको बरोबर ‘स्टेक’ हुनुपर्ने बहस यतिखेर जसपा भित्र चलेको छ ।

पार्टीको केन्द्रीय संरचनामा फेरिएको शक्ति सन्तुलनका कारण उपेन्द्र यादव निकै दबाबमा छन्। यादव र भट्टराईवीच दुरी मात्रै बढेको छैन। कतिपय राष्ट्रिय महत्त्वका मुद्दामा समेत यी नेता फरक ढङ्गले प्रस्तुत भइरहेका छन्। जस्तो, भट्टराईले एमसीसीको खुलेरै पक्षधरता लिएका छन् भने यादव मौन छन्।यी सबै सन्दर्भ हेर्दा जसपा भित्र गृह कलह भुसको आगो जस्तै भित्रभित्रै सल्केको छ।

जसपा नेता नवराज सुदेवीले भने, ‘‘उपेन्द्र यादवमा रूपान्तरणको आवश्यकता छ। त्यस्तो नहुँदा पार्टी पङ्क्तिमा निराशा उत्पन्न हुने छाँटकाँट देखिएको हो। र, त्यसले पार्टीलाई विघटनको बाटोमा लैजाने खतरा देखिन थालेको छ।’’

यद्यपी जसपा कार्यकारिणी समिति सदस्य विजय यादवले पार्टीमा कुनै विवाद नरहेको र सहमतिमै बढेको दाबी गरे। “पार्टीको आन्तरिक बैठक नेताहरूले आ–आफ्नो कुरा राख्नु स्वाभाविकै हो” उनले भने।

केही समय अघि बसेको जसपाको कार्यकारिणी समिति बैठकमा पर्साबाट संघीय संसद्मा निर्वाचित सांसद प्रदीप यादवलाई गरिएको कारबाही बारेमा व्यापक असन्तुष्टि देखिएको थियो।
लोसपामा पनि उस्तै

जसपामा यादव विरुद्ध असन्तुष्टि बढिरहँदा यता लोसपामा महन्थ ठाकुरविरुद्ध नेताहरूले पार्टी कार्यालयमै धर्ना दिएका छन्।

औपचारिक रुपमा गत भदौमा लोसपा नेपाल गठन भएको हो। तर, ठाकुर र राजेन्द्र महतो सहित यो समूहका नेताहरूले फागुन देखि नै समानान्तर गतिविधि गर्दै आएका थिए। केपी ओली नेतृत्वको तत्कालीन सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विवादका कारण संस्थापनबाट बाहिरिएका ठाकुर समूहले बेग्लै दल त दर्ता गरे तर चलाउन सकिरहेका छैनन्।

दर्ताकै क्रममा एउटा अध्यक्ष राख्ने कि दुई ओटा अध्यक्षीय प्रणालीमा पार्टी चलाउने भन्ने विवाद सार्वजनिक भयो। ठाकुर अध्यक्ष र महतोलाई वरिष्ठ नेता राखेर लोसपा दर्ता भयो। तर दर्ता प्रक्रिया पुरा नहुँदै पुन एक जना वरिष्ठ नेता थपिदा महतो पक्ष झस्किएको छ। लोसपामा अहिले अध्यक्ष ठाकुर र वरिष्ठ नेतामा महतो र शरदसिंह भण्डारी छन्। पार्टी दर्ता भएको पाँच महिना बितिसक्दा पनि यो पार्टीले केन्द्रीय समिति देखि पार्टीको अन्य संरचनाहरू सम्म निर्माण गर्न सकेको छैन। कतिसम्म भने, पार्टीको औपचारिक बैठक सम्म राख्न सकिरहेको छैन।

केहि समय यता अध्यक्ष ठाकुरले जिल्ला इन्चार्ज र जिल्ला अध्यक्ष मनपरी ढङ्गले नियुक्त गर्न थालेपछि धनुषासहित केही जिल्लाका स्थानीय नेताहरु काठमाडौँ पार्टी कार्यालयमा धर्ना बसेका छन्। ठाकुर निकट लोसपा नेता सुरेन्द्र झा भने पार्टीमा खासै विवाद नरहेको दाबी गर्छन्। “पार्टी सङ्गठनको काम बढेको हो, केही साथीहरूले असन्तुष्टि राखेकोलाई अध्यक्षले लोकतान्त्रिक पार्टीमा सामान्य कुराकै रुपमा लिनुभएको छ” झा भन्छन्, “असन्तुष्ट साथीहरूलाई पनि मिलाएर जिम्मेवारी दिने गृहकार्य चली रहेको छ।”

राजेन्द्र महतो निकट नेता सन्तोष मेहताले भने पार्टी भित्र असन्तुष्टि बढ्दै गएको बताए। उनले शीर्ष नेताहरूको बीचमा आपसी संवाद र सहकार्यको अभाव पार्टीमा देखिएको बताए। “जिल्लाहरूमा भएको नियुक्तले पार्टीका स्थानीय नेताहरूमा व्यापक असन्तुष्टि देखिएको छ” मेहताले भने, “यसले पार्टीलाई हित गर्दैन, शीर्ष नेताहरु समयमै चेत देखाउनु पर्छ।”

 

जनमत पार्टीका कार्यकर्तालाई कारवाही गर्न जसपाको माग

जनता समाजवादी पार्टी नेपालले किसान आन्दोलनको नाममा सीके राउत नेतृत्वको जनमत पार्टीले उच्छृङ्खल गतिविधि गरेको भन्दै कारवाहीको माग गरेको छ ।

शुक्रबार जसपा नेपालका मधेस प्रदेश समितिका अध्यक्ष रामबाबु यादवले विज्ञप्ति जारी गर्दै आन्दोलनको आडमा राष्ट्रियसभा निर्वाचनका मतदाता प्रदेशसभा सदस्य एवं स्थानीय तहका प्रमुख तथा उपप्रमुखमाथि भएको सांघातिक आक्रमणको निन्दासमेत गरेका छन् ।

प्रदेश अध्यक्ष यादवले आक्रमणमा परी घाइते भएका जनप्रतिनिधिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सो क्रममा भएका क्षतिको विवरण यकिन गरि पीडित पक्षलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउनसमेत माग गरेका छन् ।

‘शान्तिपूर्ण आन्दोलनको नाममा जसपाका प्रदेशसभा सदस्य अशोक यादवसहितको जनप्रतिनिधिहरुमाथि सांघातिक आक्रमण गर्नु, सार्वजनिक सम्पत्तिमाथि क्षति पु¥याउनु जस्ता अराजक गतिविधिमा संलग्न जनमत पार्टीका नेता कार्यकर्ताहरुमाथि कडाभन्दा कडा कारबाही गराउन नेपाल सरकारसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा उनले भनेका छन्

महोत्तरीमा कोरोना माहामारीको तेस्रो लहरमा १६६ संक्रमित, एक जनाको गयो

कोरोना भाइरसको तेस्रो लहरमा महोत्तरीमा १६६ जना संक्रमित भएका छन् । एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । स्वास्थ्य कार्यालय महोत्तरीको अनुसार स्वास्थ्यकर्मी तथा सर्वसाधारणमा संक्रमण भए पनि अहिलेसम्म ओमिक्रोन भाइरस भने पुष्टि भएको छैन ।

तेस्रो लहरमा अहिलेसम्म महोत्तरीमा एक जनाको मृत्यु र १६६ जनामा संक्रमन देखिए पनि गम्भीर प्रकारका लक्षण र अस्पतालमा नै भर्ना हुनुपर्ने अवस्था नदेखिएको जिल्ला कोभिड फोकल पर्सन प्रतिभा सिंहले बताइन् ।

भाइरसको दोस्रो लहरमा जिल्लामा ८५ जनाले ज्यान गुमाएका थिए भने ३२ सय ७५ जना संक्रमित बनेका थिए ।

तेस्रो लहरमा संक्रमित भएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमित होमआइसोलेसनमा रहेको उनले बताइन् ।

स्वास्थ्य कार्यालय महोत्तरीले खोप अभियानलाईसमेत तीव्र बनाएको छ । दैनिक ४८ सय ६७ जनाले पहिलो र दोस्रो खोप लिइरहेको कोभिड फोकल पर्सन सिंहले जानकारी दिइन् ।

आगामी चैतभित्र खोप लगाउन योग्य सबै जनसंख्यालाई खोप लगाइसक्ने स्वास्थ्य कार्यालयको लक्ष्य छ ।

 

धनुुषामा नक्कली नियुक्ति दिई ठगी गरेको आरोपमा पक्राउ

जागिरको नक्कली नियुक्ति दिई ३ युवालाई ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको धनौजी गाउँपालिका १ बस्ने २५ वर्षीय सहादत राइन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

राइनले सडक डिभिजन कार्यालय जनकपुरमा तीनजनालाई नक्कली नियुक्ति दिएर ठगी गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी दीपककुमार रायकाअनुसार राइनले स्थानीय १९ वर्षीय बबलु पासमान, २० वर्षीय पारस कुमार पासवान र २० वर्षीय दिपेश कुमार पासवनलाई सडक डिभिजन कार्यालय जनकपुरमा सुपरभाइजर पदमा जागिर दिएको भन्दै ठगी गरेका थिए।

प्रहरीकाअनुसार राइनले सडक डिभिजन कार्यालयको लेटरप्याड, सरकारी छाप किर्ते गरी उनीहरूलाई सुपरभाईजर पदको नियुक्ती पत्र, मासिक तलब र सो पद सम्बन्धि उम्मेदवारको सम्झौतापत्र दिएर ठगी गरेका हुन्।

सडक डिभिजन कार्यालयमा सुपरभाइजर पदको जागिर दिएबापत तीनै जनाबाट जनही राइनले २ लाख रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

तीनै जनाले जिल्ला प्रहरी कार्यालय धनुषामा राइनमाथि किर्ते र ठगी मुद्दामा उजुरी दिएका थिए। सोही उजुरीको आधारमा प्रहरीले खोजतलासको क्रममा राइनलाई बुधबार जनकपुरधामको कदमचोकबाट पक्राउ गरेको हो।

उनले आफूले किर्ते गरेको स्वीकार गरिसकेकाले बुधबार नै जिल्ला अदालतबाट सरकारी छाप दस्तखत किर्ते र ठगी मुद्दा १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी रायले बताए।

 

कर्मचारी हटाइएपछि रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी

नेपाल रेल्वे कम्पनीका कर्मचारीहरूले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन्। रेल्वे कम्पनी जनकपुरले ज्वालादारीमा काम गर्ने कर्मचारीलाई बिनाकारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको भन्दै शुक्रबार रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

जनकपुर कार्यालयले केही दिन अगाडि ज्वालादारीमा काम गर्ने १५१ जना कर्मचारीलाई हटाएर नयाँ कर्मचारी राखेको थियो। रेल्वे कर्मचारी संघर्ष समितिका संयोजक सञ्जय गोइतले सहायक स्टेशन मास्टर पदमा २०५८ सालदेखि नै कार्यरत रहेको अहिले आएर बिनाकारण आफूहरूलाई हटाएको विरोधमा कार्यालयमा तालाबन्दी गरिएको बताए ।

संयोजक गोइतले ज्वालादारीमा काम गर्ने कर्मचारी नहटान भन्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्रसमेत बुझाएको बताए। तर प्रमुख जिल्ला अधिकारी पौडेलले रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झालाई कोरोना संक्रमण भएको भन्दै समस्या समाधान गर्न आलटाल गरेको आरोप लगाए ।

 

मधेश प्रदेशको जनसंख्या सबैभन्दा बढी

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार मधेश प्रदेसको जनसंख्या सबैभन्दा बढी रहेको छ। २०७८ मा जनसंख्याको आकारको हिसाबले दोस्रोमा बागमती प्रदेश, तेस्रोमा लुम्बिनी प्रदेश, चौथोमा प्रदेश १, पाँचौमा सुदूरपश्चिम, छैठौंमा गण्डकी अन्तिममा कर्णाली प्रदेश छन्।

गत जनगणनाको तुलनामा मधेश प्रदेश र लुम्बिनी प्रदेशबाहेक सबै प्रदेशको कुल जनसंख्यामा हिस्सा घटेको देखिन्छ।

प्रदेशगत रूपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या मधेश प्रदेशमा ६१ लाख २६ हजार २ सय ८८ र सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८ सय ८९ जना रहेको छ। जुन समग्रको क्रमशः २०.९९ प्रतिशत र ५.८१ प्रतिशत हो।
दोस्रोमा रहेको बागमती प्रदेशमा ६० लाख ८४ हजार ४२ अर्थात २०.८४ प्रतिशत जनसंख्या रहेको छ।

तेस्रो स्थानमा रहेको लुम्बिनी प्रदेशमा ५१ लाख २४ हजार २ सय २५ अर्थात १७.५५ प्रतिशत छ।

यस्तै चौथो स्थानमा रहेको प्रदेश १ मा ४९ लाख ७२ हजार २१ जना अर्थात कुल जनसंख्याको १७.०३ प्रतिशत जनसंख्या रहेको छ।

पाँचौ स्थानमा रहेको सुदूरपश्चिम प्रदेशमा २७ लाख ११ हजार २ सय ७० अर्थात ९.२९ प्रतिशत जनसंख्या रहेको छ।

र छैठौं स्थानमा रहेको गण्डकी प्रदेशमा २४ लाख ७९ हजार ७४५ अर्थात ८.४९ प्रतिशत रहेको छ।

प्रदेशगत आधारमा परिवारमा औसत सदस्य सङ्ख्या गण्डकी प्रदेशमा सबैभन्दा कम (३.६६ जना) र मधेश प्रदेशमा सबैभन्दा बढी (५.१५ जना) रहेका छन्। जुन २०६८ सालमा क्रमशः ४.१६ र ५.८० जना रहेको थियो।

लैङ्गिक रुपले विश्लेषण गर्दा लैङ्गिक अनुपात सबैभन्दा धेरै मधेश प्रदेशमा र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा क्रमशः १०१ र ९० रहेको छ ।

प्रदेशगत रुपमा वार्षिक जनसंख्या वृद्धिदर हेर्दा ७ वटा प्रदेशहरूमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२५ प्रतिशत प्रतिवर्ष र सबै भन्दा कम गण्डकी प्रदेशमा ०.३० प्रतिशत प्रतिवर्ष जनसंख्या वृद्धि देखिन्छ।

दोस्रो धेरै वार्षिक जनसंख्या बृद्धिदर हुने प्रदेशमा मधेश प्रदेश रहेको छ जसको वृद्धिदर १.२० प्रतिशत प्रतिवर्ष छ। अन्य प्रदेशको वार्षिक जनसंख्या वृद्धिदर १.० प्रतिशत भन्दा कम नै देखिन्छ।

२०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा अनुसार नेपालको जनघनत्व १९८ जना पुगेको छ, जुन २०६८ सालमा १८० मात्र थियो।

भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ को प्रारम्भिक नतिजा अनुसार पनि सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६१ प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ प्रतिवर्ग किलोमिटर रहेको छ।

२०६८ सालमा पनि सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ३९२ प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ प्रतिवर्ग किलोमिटर रहेको थियो।

प्रदेशमध्ये मधेश प्रदेशमा सबैभन्दा बढी ६३६ जना प्रति वर्ग कि।मि।मा बसोवास गरेको देखिन्छ जुन २०६८ मा ५६१ रहेको थियो।

हाल सबैभन्दा कम कर्णाली प्रदेशमा ६१ जना प्रति वर्ग किमि मा बसोवास गरेको देखिन्छ ।

दोस्रो र तेस्रो धेरै जनघनत्व भएका प्रदेशमा बागमती र लुम्बिनी प्रदेश रहेका छन्।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० जना पुगेको छ।

जुन दश वर्षअघि ९२०६८ साल० को जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ को तुलनामा २६ लाख ९७ हजार ९ सय ७६ ले बढी देखिन्छ।

अर्थात दश वर्षमा नेपालको जनसंख्या १०.१८ प्रतिशतले बढेको छ।

विगत दश वर्षको सरदर वार्षिक जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको विभागले जनाएको छ।

विसं २०५८ देखि २०६८ सम्मको दश वर्षमा सरदर वार्षिक जनसंख्या वृद्धिदर १.३५ प्रतिशत थियो।

राष्ट्रिय सभा निर्वाचनमा मधेश प्रदेशमा सत्ता गठबन्धनका दुवै उम्मेदवार विजयी

मधेश प्रदेशमा राष्ट्रियसभाको २ सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन्।

सत्ता गठबन्धनका महिला समूहबाट नेकपा (माओवादी केन्द्र)की उर्मिला अर्याल र अन्य समूहबाट जसपाका मोहम्मद खालिद सिद्दिकी विजयी भएका हुन्।

सत्ता गठबन्धनको महिला समूहबाट माओवादी केन्द्रकी अर्याल ६ हजार १ सय ५६ मत ल्याएर विजयी भएकी हुन्। नेकपा (एमाले–लोसपा) गठबन्धनबाट महिलातर्फ उम्मेदवारी दिएकी लोसपाकी रूपाकुमारी यादवले २ हजार ७ सय ५४ मतभार मात्रै ल्याउन सकिन्।नेकपा (एमाले–लोसपा) गठबन्धनबाट महिलातर्फ उम्मेदवारी दिएकी लोसपाकी रूपाकुमारी यादवले ३ हजार २ सय २८ मतभार मात्रै ल्याउन सकिन्। विनालाई ३ सय ६ मतभार परेको हो।

महिला समूहतर्फको मतदानमा प्रदेशतर्फ ३ र स्थानीय तर्फ १६ मतदाताको मत बदर भएको थियो। यस हिसाबले ४ सय ३२ मतभार बदर भएको हो।

यता अन्य समूहबाट जसपाका उम्मेदवार सिद्दिकीले ६ हजार ६ सय ७८ मत ल्याएका छन् भने एमाले–लोसपा गठबन्धनबाट अन्य समूहका उम्मेदवार उस्मान अन्सारीले २ हजार ७ सय ६६ मत ल्याए।

कडा सुरक्षाबीच भएको मतदानमा ३ सय ७२ मतदातामध्ये ३ सय ६६ जनाले मात्र मतदान गरेका थिए। २ जना प्रदेशसभा सदस्य र ४ जना स्थानीय जनप्रतिनिधिसहित ६ जनाले मतदान गर्न नसकेका प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिएका छन्।

मधेश प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदाता रहेकोमा १ सय ३२ पुरुष र १ सय ३२ महिलाले मतदान गरेका थिए। त्यस्तै प्रदेशसभाका १ सय २ सदस्यले मतदान गरेका थिए।

 

सीके राउत नेतत्वको जनमत पार्टीद्धारा आज मधेशमा प्रर्दशन, ठाउ-ठाउमा झडप

सीके राउत नेतृत्वको जनमत पार्टीले आज मधेश जिल्ला सदरमुकामहरु प्रर्दशन गरेका छन । त्यस क्रममा प्रदेश राजधानी जनकपुरधाममा उनीहरुको प्रर्दशनको क्रममा झडप समेत भएको छ । जनमत पार्टीका प्रर्दशनकारीहरुले केहि गाडीहरु तोडफोड समेत गरेको छ । राष्ट्रियसभा निर्वाचनको मतदानस्थलमा जनमत पार्टीका कार्यकर्ताहरू प्रवेश गर्न खोजेपछि जनकपुरमा प्रहरीसँग झडप समेत भएको हो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म पाँच राउण्ड अश्रुग्यास प्रहार गरेको छ।

त्यस पछि प्रदर्शनकारीहरु मतदान स्थलबाट भागेका छन्। तर जनकपुरधामका विभिन्न ठाउँमा जनमत पार्टीका कार्यकर्ताहरूले प्रदर्शन भने दिनभर नै जारी राखेका थिए ।

जनमत पार्टीका कार्यकर्ताहरूले वुधवार विहानैदेखि ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए।

किसान आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताहरुले आज विहानैदेखि जनकपुरमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

जनमत पार्टीले मधेशमा विगत एक महीनादेखि आन्दोलन गरिरहेको छ। तर पनि सरोकारवाला पक्षले माग पूरा गर्न चाँसो नदेखाई निर्वाचन गरिरहेकाले प्रदर्शन गरेको उक्त पार्टीले जनाएको छ ।

‘‘किसानहरू चिसोमा हरेक दिन आफ्ना माग राखेर आन्दोलन गर्न सडकमा उत्रिन्छन्,’’ जनमत पार्टीका अध्यक्ष राउतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘‘तर त्यो चाहिँ तीनै तहको सरकारले नदेख्ने अनि मधेशमा आएर निर्वाचन गराउने रु काठमाडौंमा बोलाएर निर्वाचन गर्न लगाउनुस्, हामीलाई मतलब छैन । तर मधेश आन्दोलित छ । यहाँ पहिला खाद दैऊ, अनि मात्रै भोट खसाऊ ।’’

जनमत पार्टीले आज आफ्ना मागबारे जानकारी गराउँदै प्रदेश सरकारलाई ज्ञापनपत्र पनि बुझाएको छ ।

 

 

भारतीय राजदूतावासद्धारा भारतको ७३ औ गणतन्त्र दिवसको अवसरमा कार्यक्रम आयोजन

भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा वुधवार काठमाडौ स्थित भारतीय दुतावासमा एक कार्यक्रमको आयोजना गरियो । नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्राको प्रमुख आथित्यमा भएको कार्यक्रममा भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन देखि भारतका माननीय राष्ट्रपतिको सन्देश पढेर सुनाइएको थियो ।

कार्यक्रममा भारतीय राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई नेरु ६.३५ करोड नगद तथा कम्बल वितरण गरी सम्मान गरेका थिए ।

मानवीय प्रयासका क्षेत्रहरुमा भारतीयले हासिल गरेका उल्लेखनीय उपलब्धिको र भारतको स्वतन्त्रताको पचहत्तर वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेकोे ‘आजादीका अमृत महोत्सव’ पहलकदमीकै एक हिस्साको रुपमा यो बर्ष भारतीय गणतन्त्र दिवस मनाइएको छ ।

आजादीका अमृत महोत्सव अन्तर्गत वर्षैभरी र सन् २०२३ को अगस्ट महिनासम्म थुप्रै कार्यक्रमहरुको आयोजना गरिने कार्यतालिका छन । नेपालका प्रदेश तथा जिल्लामा भारतको सहायोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजनाहरु यसै वर्ष उद्घाटन गर्ने कार्ययोजना रहेको गणतन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा जानकारी दिइयो ।

साथै यो बर्ष नेपालका विभिन्न संस्था तथा स्थानीय निकायलाई दुतावासले ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहार पनि दिने जनाएको छ ।

सप्तरीमा फेरि ट्रकमा आगजनी

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका ४ विशाल चोकमा आज बिहान पुनः एक ट्रकमा आगजनी भएको छ। कुखुराको दाना बोकेर पूर्वतर्फ गइरहेको ना ५ ख १९११ नंको ट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेकाअनुसार कसले र किन ट्रकमा आगजनी गरेको भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन। उनले भने, “ट्रकचालक पनि सम्पर्कमा आएका छैनन्।” अज्ञात समूहद्वारा आगजनी गरिएको हुनसक्ने उनले बताए। ट्रक भने पूर्णरूपमा जलेको छ।

यसैबीच आगो लागेको ट्रकलाई स्थानीय प्रहरी चौकीबाट गएको प्रहरी टोली र कञ्चनरुप नगरपालिकाबाट आएको बरुणयन्त्रले निभाएको काफ्लेले जानकारी दिए। एक महीनाअघि पनि सोही गाउँपालिका वडा नं ५ महुली पुलमा एक ट्रक जलाइएको थियो।