November 2021 – Madhesh Update

अध्यादेश जारी गरेर रेल चलाउने तयारीमा सरकार

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल सञ्चालन तयारी भइरहेको बताएकी छन्।यसै वर्षभित्र रेल सञ्चालनमा आउने समेत उनले दाबी गरिन्। मंगलबार जयनगर–जनकपुरधाम रेल्वेको ट्र्याक निरीक्षण गर्दै मन्त्री यादवले नेपाली जनताको चाहनाअनुरूप चाँडै रेल सञ्चालनमा ल्याउने आफूहरूको योजना रहेको बताइन्।

नेपाल सरकारले खरिद गरेको दुई सेट रेल कर्मचारी र कानून अभाव लगायतका कारणले २०७७ असोज २ गते भारतबाट जनकपुरधाम ल्याइएपछि थन्काइएर राखिएको थियो। मन्त्री यादवले यसै वर्षभित्र रेल सञ्चालनमा आउने दाबी गरेकी हुन्। उनले कानुन अभावका कारण रेल सञ्चालनमा आउन नसके पनि सबै प्रक्रिया पूरा गरेर यसै वर्षभित्र रेल सञ्चालनमा आउने बताएकी छन्। उनले रेल्वे सञ्चालनका लागि अध्यादेश निर्माण भइसकेको र चाँडै नै सदनमा पेस गरिने बताइन्।

उनले अध्यादेश एक साताभित्र मन्त्री परिषद्बाट पारित हुने र अन्य व्यवस्थापन मिलाएर जति सक्दो चाँडो रेल चढ्ने जनताको चाहना पुरा गर्नका लागि सरकार लागि परेको बताइन्।

उनले जनकपुर जयनगर रेल सञ्चालनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा अर्थमन्त्री जनार्दन शर्मा सबै प्रकारको सहयोग गर्नका लागि तयार रहेको बताइन्। रेलको उद्घाटन नेपाल भारतका प्रधानमन्त्रीले कोभिडका कारणले प्रत्यक्ष नभए पनि भर्चुअल माध्यमले भए पनि गर्ने उनले बताइन्।

उनले ३५ किलोमिटर रेल सञ्चालनमा ल्याउने तयारी गरिरहेको र यसको लागि कर्मचारीको व्यवस्था गर्न लागेको समेत जनाइन्। उनले भनिन्, ‘‘ठ्याक्कै यही मितिदेखि रेल सञ्चालन हुने भन्न नसकिए पनि यस वर्षभित्रै कुर्थासम्म रेल सञ्चालनमा ल्याउने गरी काम अगाडि बढेको छ।’’ उनले भारतीय सीमा जयनगरदेखि जनकपुरधामको कुर्थासम्म चल्ने रेल सञ्चालनका लागि सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको जानकारी दिइन्।

साथै उनले रेल लिक महोत्तरीको बर्दिबाससम्म जोड्ने र पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि त्यहाँ रेल्वे सवस्टेशनको मुख्य जक्सन निर्माण गर्ने सरकारको लक्ष्य रहेको बताइन्। उनले केही कागजी प्रक्रियाहरू बाँकी रहेकोले त्यसको तयारीपश्चात् चाँडै दुवै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट रेलको उद्घाटन गराइने दाबी गरिन्।

रेल्वेका महाप्रबन्धक निरञ्जन झाले १ हजार २५४ करोड रुपैयाँको लागतमा निर्माण गरिने भनिएको जयनगर–बर्दिबास रेल्वे सडक खण्डमध्ये ६२३ करोड लागतमा निर्माण गरिएको जयनगर–कुर्था रेलमार्ग भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी दिए।

उनले रेल सञ्चालन सम्बन्धी कार्यविधि तयार भइसके पनि कर्मचारी व्यवस्थापन, कानून र भाडादर निर्धारण गर्ने काम बाँकी रहेकोले ती सबै प्रक्रियाहरू चाँडै पूरा गरिने दावी गरे। महाप्रबन्धक झाले भने, ‘‘हामीले भारतीय कम्पनी केआरसिएललाई इनर्वामा विगत १४ महिनादेखि थन्काएर राखिएको रेलसेटको प्राविधिक जाँचका लागि पत्राचार गरिसकेका छौँ।’’

जयनगर–कुर्थासम्म ३५ किलोमिटर रेल लिक तयार भइसकेकाले नेपाल सरकारले गत वर्ष नै रेल सेट खरिद गरिसकेको थियो। गत असोज २ गते नेपाल सरकारले खरिद गरेको दुई सेट रेल जनकपुरधाम भित्र्याइए पनि सञ्चालन नभएपछि हाल धनुषाको जनकनन्दिनी गाउँपालिका स्थित ईनर्वा स्टेसनमा सशस्त्र प्रहरीको निगरानीमा रेल राखिएको छ।

निरीक्षणमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर साह, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठ सहितका व्यक्तिहरू उपस्थित रहेका थिए।

राणा शासनका बेला विसं १९८४ मै भारतको जयनगरदेखि बिजलपुरासम्म नेपालको पहिलो रेल सेवा सञ्चालन गरिएको थियो। सुरुआतमा तत्कालीन ब्रिटिस शासकले नेपालका जङ्गलको काठ ओसार्ने उद्देश्यले रेल सेवा शुरू गरेको मानिन्छ।

त्यति बेला जनकपुर रेल्वे महोत्तरीको बिजुलापुरबाट भारतको जयनगरसम्मको ५२ किमी दूरीमा सञ्चालन थियो। विसं २०५९ मा आएको बाढीबाट बिगही पुल बगाएपछि नेपालको पहिलो रेल सेवा जनकपुरदेखि जयनगरको जम्मा २९ किमिमा सीमित थियो।

अहिले चर्चामा रहेको जयनगरबाट जनकपुरसम्मकै खण्डमा भने विसं १९९४ मा मात्रै रेल आइपुगेको हो। त्यति बेला सञ्चालनमा आएको रेल पनि न्यारोगेज कै थियो भने अहिले ब्रोडगेजको रेल सञ्चालनमा आएको छ।

विसं २०५९ सम्म सञ्चालनमा आएको रेलको खण्ड र पुल बाढीले बगाएपछि भने त्यसयता नेपालमा रेल सेवा बन्द थियो। अहिले तय भएको रेल सञ्चालनको ६९ किमीमध्ये तीन किमी भारतीय भूमिमा पर्छ।

रेल्वेलाई व्यवस्थित गर्न विसं २०२१ सालमा नेपाल यातायात संस्थान अन्तर्गत राखियो थियो भने विसं २०२५ सालदेखि भने यसको नाम जनकपुर–जयनगर रेल्वे भएको थियो। विसं २०६१ मा यसलाई नेपाल रेल्वे बनाइएको हो।

मैथिली साहित्यकार सभाद्वारा जनगणना सच्याउन माग

राष्ट्रिय जनगणना २०७८ मा गम्भीर त्रुटी भएको भन्दै मैथिली साहित्यकार सभाले सच्याउन माग गरेको छ । मैथिली साहित्यकार सभाले तथ्याङ्क कार्यालय धनुषामार्फत् केन्द्रीय तथ्याङ्क विभागलाई एक ज्ञापन पत्र पठाउँदै त्रुटी सच्याउन माग गरेको हो ।

गणकहरु सबैका घरमा तथ्याङ्क संकलन गर्न नगएको, डटपेनको सट्टा सिसाकलमले फारम भरेको, फारमको सट्टा सादा कागजसमेत प्रयोग गरिएको, कतिपय व्यक्तिसँग धर्म र मातृभाषासम्बन्धी प्रश्न नसोधिएको, उत्तरदाताले भनेको धर्म र मातृभाषाको सट्टा अर्को धर्म र मातृभाषा लेखेकोजस्ता गम्भीर त्रुटी विभिन्न पालिकामा देखिएको भन्दै ज्ञापन पत्रमा ध्यानाकर्षण गराइएको छ ।

केही जातिवादी, कवीरपन्थी संघ–संस्था तथा मगही र बज्जिका अभियन्ताहरुको निर्देशनमा मैथिलीभाषीको संख्या घटाउन झापादेखि रौतहटसम्म षड्यन्त्रमूलक ढंगले गलत तथ्याङ्क लिइएको तथ्याङ्क कार्यालयमा पठाइएको विभिन्न प्रमाणबाट प्रमाणित भइसकेको ज्ञपानपत्रमा दावी गरिएको छ ।

मैथिली भाषाभाषी जिल्लाहरुबाट पठाइएको जनगणनासम्बन्धी तथ्याङ्कको छानविन गरी गलत मनसायले विवरण भरेका सुपरिवेक्षक र गणकहरुमाथि कारवाही गर्नसमेत माग गरिएको छ । साथै, तथ्याङ्क बंग्याइएका क्षेत्रमा पुनः अर्को जनगणना टोली खटाउन विज्ञप्तीमार्फत् अनुरोधसमेत गरिएको छ ।

यता प्रदेश २ प्रदेश जनगणना कार्यालयले तथ्याङ्क संकलन गर्ने काम सम्पन्न भएको जनाएको छ । कार्यालय प्रमुख विमल कुमार यादवले केही छुटेकालाई मंसिर १५ सम्म जनगणना कार्यालयमा आएर फारम भर्न अनुरोध गरे । उनले भाषा र धर्मका नाममा विवाद गरेका गणकलाई कारवाही गरेको र सचेत गराइएको समेत बताए ।

मैथिली साहित्यकार सभाका सभापाल प्रेमविदेह ललनको नेतृत्वमा जनकपुरधामस्थित विभिन्न ८ वटा भाषिक र सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले प्रदेश २ जनगणना कार्यालय तथा तथ्याङ्क विभागका प्रमुख विमलकुमार यादवलाई ज्ञापन पत्र बुझाएका हुन् ।

 

पर्सामा हाट बजारमा पनि खोप केन्द्र

विश्व कोभिड–१९ को नयाँ भेरियन्ट ओम्रिकोनको त्रासमा रहेको बेला पर्सामा कोरोना भाइरस विरुद्ध विशेष खोप अभियान सञ्चालन हुने भएको छ ।

जिल्ला खोप समन्वय समितिले ‘हाम्रो खोप, हाम्रो सुरक्षा, खोप लगाउ सुरक्षित बनौं’ भन्ने नाराका साथ मंसिर २२, २३ र २४ गते खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

खोप समन्वय समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा बसेको बैठकले खोप लिन बाँकी रहेका १८ वर्ष उमेर भन्दा माथिका सबै व्यक्तिलाई खोप लगाउने निर्णय गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

१ सय २ खोप केन्द्र रहेको पर्सा जिल्लामा अभियानका लागि १० वटा खोप केन्द्र पनि थप गरिएको छ । आवश्यकताका आधारमा खोप केन्द्र थप गर्न सकिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाको बढी भिडभाड हुने क्षेत्र घण्टाघर चोक, नयाँ बसपार्क, माईस्थान चोक, आदर्शनगर चोक, भन्सार र ड्राइपोर्ट चोकमा समेत खोप केन्द्र स्थापना गर्ने निर्णय गरिएको छ । पोखरिया नगरपालिकामा हाट बजार लाग्ने दिन थप एउटा खोप केन्द्र सञ्चालन गर्नेगरि तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

‘कोरोना भाइरस विरुद्ध खोप लगाएपछि संक्रमणको जोखिम कम हुने र संक्रमण भईहालेपनि गम्भिर विरामी पर्ने दर कम छ’ उनले भने ‘सबै पालिकामा एकैपटक खोप अभियान शुरु गर्ने र पर्वको रुपमा अगाडी बढाउने लक्ष्य लिएका छौं ।’

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले भेरोसेल र सिनोफार्म खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोपको समेत सुनिश्चितता भइसकेको पत्र स्वास्थ्य कार्यालय पर्सालाई पठाएको छ । त्यसैले अभियानमा भेरोसेल, सिनोफार्म खोपको छुटेको दोस्रो मात्रा पनि प्रदान गर्नेगरी तयारी गरिएको छ । गर्भाअवस्थाको पहिलो त्रैमासिक पछि सबै गर्भवतीलाई खोप दिइने छ ।

पर्सामा १ लाख ३० हजार ६ सय ७२ जनाले कोरोना भाइरस विरुद्ध खोप लगाईसकेका छन् । यो लक्षित जनसंख्याको २९।६७ प्रतिशत हो । पर्सामा १८ वर्ष भन्दा माथिका ४ लाख ४७ हजार जनसंख्या छ ।

रौतहटमा लागु औषध नाईट्राभेटसहित २ युवा पक्राउ

रौतहट प्रहरीले लागु औषध नाईट्रोभेट ट्याब्लेट सहित २ जना युवालाई पक्राउ गरेको छ । गौर नगरपालिका–३ स्थित अनिल मिट हाउसभित्र खाजा नास्ता खान बसेको २ जना व्यक्तिले लागु औषध बोकी ल्याएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गौर नगरपालिका वडा नं ४ टिकुलिया बस्ने वर्ष १९ को रोशन कुमार सहनी र सोही ठाउँ का वर्ष २४ को टिन्कु कुमार सिंह रहेको जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेले रातोपाटीलाई बताए ।

उनीहरूको साथबाट २०० पत्तामा ३००० तिन हजार ट्याब्लेट लागु औषध नाईट्रोभेट र  मोटरसाइकल बरामद भएको एसपी घिमिरेले जानकारी दिए । दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रौतहटमा विद्युत चोरी गरेको आरोपमा ७ जना प्रहरीको नियन्त्रणमा

रौतहटको कटहरिया र देबाही गोनाही नगरपालिकामा हुकिङ गरेर विद्युत चोरी गरेको आरोपमा ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मौलापुर वितरण केन्द्रको चुहावट नियन्त्रण टोली , इलाका प्रहरी कार्यालय गरुडा, सशस्त्र बेस क्याम्प देबाही र सशस्त्र बेस दुधियभारको संयुक्त टोलीले हुकिङ गरी विद्युत चोरी गरिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताए ।

विद्युत चोरी गर्न उनीहरुले प्रयोग गरेको २ थान मोटरलगायत टोलीले बरामद गरेको छ । उनीहरुलाई नियमानुसार जरिवाना गराइने बताइएको छ ।

विवाहपञ्चमीका बेला जनकपुरधाम दुर्गन्धित

जनकपुरधाममा हरेक वर्ष मनाइने विवाहपञ्चमीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबारदेखि राम कथा प्रवचन र रामलीला सुरु भइसकेको छ । १७ मंसिरमा जनकपुरधाम नगर दर्शन, १८ गते फुलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंवर तथा विवाह र २३ गते रामलेवा विधिको कार्यक्रम छ ।

जानकी मन्दिरले मूल समारोह समिति गठन गरी विवाहपञ्चमीको तयारी गरिरहँदा जनकपुरधाम बजार भने दुर्गन्धित छ । जताततै फोहोर थुप्रिएपछि हिँड्ने बटुवाहरुलाई नाक थुन्नुपर्ने बाध्यता छ ।

जानकी मन्दिर प्रवेश गर्ने मुख्य चोक रमानन्द चोकमै अत्यधिक फोहोर थुपारिएको छ । यो चोकदेखि हरेक २० मिटरको दूरीमा फोहोरको डंगुर छ । रमानन्द चोक र जानकी मन्दिरको बीचमा प्रादेशिक अस्पताल छ । अस्पतालबाहिर पनि फोहोर थुपारिएको हुन्छ । धेरै दिनदेखि नउठाइएका कारण झिँगा भन्किएको छ भने दुर्गन्ध फैलिएको छ ।

धार्मिक, साँस्कृतिक शहरको रुपमा विकसित जनकपुरधामको यस्तो कुनै ठाउँ छैन, जहाँ फोहोर नहोस् । ‘जताततैको फोहोरको थुप्रोले विवाहपञ्चमीमा नकारात्मक सन्देश जान्छ’ जानकी मन्दिरका पुजारी रामरोशन दास भन्छन्, ‘नगरपालिकाले यसतर्फ गम्भीरतापूर्वक ध्यान दिनु जरुरी छ ।’

फोहोर हटाउने र विवाहपञ्चमीका लागि ठाउँठाउँमा अस्थायी शौचालय नबनाए जनकपुरधाममा हैजा फैलिन सक्ने दास बताउँछन् ।

उपमहानगरपालिकामा सरसफाइ नगरेको भन्दै केही वडाअध्यक्षले १४ कात्तिकमा मेयर लालकिशोर साहको घरमै फोहोर थुपारेका थिए । फोहोर उठाउन माग गर्दै उनीहरुले ६ मंसिरमा पनि मेयरको कार्यकक्षमा ताला लगाउँदै धर्ना दिएका थिए ।

तर, मेयरले सुनुवाइ नगरेको वडा नम्बर ७ का अध्यक्ष जानकीराम साह बताउँछन् । ‘सरसफाइ सामग्री, ट्याक्टर र कर्मचारी नगरपालिकामै छन्’ उनी भन्छन्, ‘ती सामग्री र कर्मचारी माग्दा पनि दिइरहेका छैनन् ।’

सरसरसफाइ सामग्री माग्न जाँदा वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहलाई दुव्र्यबहार पनि गरेको उनले बताए ।

मेयरले सरसफाइमा ध्यान नदिएको भन्दै वडाअध्यक्ष साहसहित २५ जना जनप्रतिनिधि संघीय राजधानी काठमाडौं पुगेका छन् ।

आइतबार काठमाडौं पुगेका साहले भने, ‘मेयरले सरसफाइमा ध्यान नदिएको र ६ महिनादेखि बोर्ड बैठक (नगर कार्यपालिकाको बैठक) समेत बसाउन नचाहँदा हामी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ध्यानाकर्षण गराउन काठमाडौं आएका छौं ।’

अभियान शुरु गर्ने तयारी

स्थानीय प्रशासन र अभियन्ताहरुले विवाह पञ्चमीलाई लक्षित गरी सरसफाइ अभियान सुरु गर्ने योजना बनाएका छन् ।

सरसफाइ अभियन्तासमेत रहेका प्रदेश सांसद रामाशिष यादव डम्पिङ साइट नहुँदा फोहोर फाल्नै समस्या भइरहेको बताउँछन् । केही बर्षअघि फुलगामामा डम्पिङ साइट बनाउन खोज्दा कांग्रेस नेता बिमलेन्द्र निधिले विरोध जनाएको उनी बताउँछन् ।

‘यसपछि मेयर साहले वडा नम्बर १८ र २५ को बीचमा डम्पिङ साइट बनाउन खोज्दा पनि बन्न सकेन’ यादवले भने, ‘बन्न नसकेपछि मेयरले मिनी डम्पिङ साइट बनाउनुपथ्र्यो त्यो पनि बनाउन सकेनन् ।’

मेयरले चासो नदिए पनि वडा अध्यक्षहरु अग्रसर हुनुपर्नेमा नगरेको सांसद यादव बताउँछन् ।

तर विवाह पञ्चमीलाई लक्षित गरी फोहोर उठाइने उनले बताए । ‘यसबारेमा सीडीओेसँग कुरा भएको छ । उहाँले प्रहरी, प्रशासनको व्यवस्था गरिदिन्छौं भन्नुभएको छ’ यादव भन्छन्, ‘प्रहरी प्रशासन स्वच्छता अभियन्ता, व्यवसायी मिलेर विवाहपञ्चमी अगाडि नै सरसफाइ अभियान शुरु गर्छौं ।’

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला पनि डम्पिङ साइट नहुँदा समस्या फोहोर फाल्न समस्या भएको बताउँछन् । ‘तत्काल विवाहपञ्चमी अगाडि नै नगरलाई सफा गर्दै डम्पिङ साइटबारे छलफल चलाउँछौं’ उनले भने ।

समाजिक रुपानन्तरणको पहलमा प्रदेश अब्बल -मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकार समाजिक रुपान्तरणको पहलमा अब्बल रहेको बताउनु भएको छ । नेपाली सेना स्टाफ कलेजका शिक्षार्थी अधिकृतहरु मुख्यमन्त्री निवासमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले समाजिक संरचनाकै कारण अधिकांश क्षेत्रमा पछि परेको प्रदेशलाई समय सापेक्ष प्रतिस्पर्धि बनाउन प्रदेश सरकार समाजिक रुपान्तरणलाई पहिलो प्राथमिकताका राखेको बताउनु भयो ।

समाजिक रुपान्तरणका लागी प्रदेशले चालेका कदमहरु अन्य प्रदेशको तुलनामा अब्बल रहेको उहाँको दावी थियो ।

मुख्यमन्त्री राउतले समाजमा पछि पारिएका महिला, दलित, मुस्लिम लगायतका समुदायलाई राज्यको मुल स्ट्रिममा ल्याउन सरकारले शुरु गरेको योजनाहरु बारे स–विस्तार जानकारी गराउनु भएको थियो । समाजिक रुपान्तरणका लागि चालिएका कदमहरु बेटी पढाउ बेटी बचाउ, स्वच्छता अभियान , दलित सशक्तिकरण ऐन, जनसंख्याको अनुपातमा सरकारी निकायहरुमा आरक्षणको व्यवस्था लगायतहरु रहेको उहाँको कथन थियो । कार्यक्रममा नेपाली सेनाका शिक्षार्थी अधिकृतहरुले राखेको जिज्ञासामा मुख्यमन्त्री राउत र मुख्यन्यायधिवक्त दिपेन्द्र झाले आ–आफनो विचार राख्नु भएको थियो ।

 

सर्लाहीमा काँग्रेस अधिवेशन – हिजो हवाई फायर, आज झडप, निर्वाचन अधिकृतसहित ५ घा

सर्लाही जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन क्रममा आज पनि विवाद भएको छ । गोली चलेको एक दिन नबित्दै पुनः वडा अधिवेशनकै क्रममा भएको विवादले उग्र रूप लिएपछि झडप भएको हो । सो झडपमा परी मतदान अधिकृत सहित ५ जना घाइते भएका छन् ।

सर्लाहीको निर्वाचन क्षेत्र ४ स्थित बलरा नगरपालिका वडा नम्बर ८ वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथि आक्रमण भएपछि प्रहरीसँग झडप भएको थियो । सो झडपको क्रममा ५ जना घाइते भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए । वडा अधिवेशनकै क्रममा मतदान अधिकृत झामाथि हातपात हुन थालेपछि प्रहरी बचाउनका लागि प्रयास गर्ने क्रममा प्रहरीसँग झडप भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए ।

झडपमा परेर झा सहित ३ जना प्रहरी र एक जना सर्वसाधारण घाइते भएको उनले बताए । निर्वाचन अधिकृतको टाउकोमा चोट लागेको छ भने एक जना प्रहरी निरीक्षकको हात भाँचिएको उनले बताए । सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह पक्षधरले मतदान अधिकृतमाथि हातपात गर्नै लाग्दा प्रहरीले उनको सुरक्षाका लागि मलंगवा लैजाने क्रममा प्रहरीसँग झडप भएको काँग्रेस सर्लाहीका सभापति नागेन्द्र रायले बताए । यस अघि सोही क्षेत्रमा आइतबार साँझ वडा अधिवेशनकै क्रममा प्रदेश २ का महिला बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पिएसओले हवाई फायर गरेका थिए ।

मङ्सिरमै तराईमा लगलगी कमाउने जाडो

यसपालि मध्य मङ्सिरअघि नै चिसो छिप्पिएको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मध्य मङ्सिरअघि नै चिसोको कहर बढेको हो । विगत वर्षमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा बहने क्रम यसपालि भने मङ्सिर मध्यपूर्व नै ह्वात्तै बढेको छ । जारी मङ्सिरको दोस्रो साता प्रारम्भ भएसँगै एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर चिसो हावा लगातार बहिरहेपछि महोत्तरीसहितका मध्यपूर्वी तराईमा जनजीवन कष्टकर बनेको छ ।

जिल्लाको मध्य र दक्षिणी भेगमा बिहान हुस्सुले ढाक्दै आएको छ । मध्याह्नसम्म घाम देखिँदैन । यसपछि झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि यसपालि मङ्सिर निगल्दो नै जाडो निकै बढेको हो । जिल्लाको उत्तरी भेगको पूर्वपश्चिम राजमार्ग वरपर बिहानै घाम झुल्के पनि तुषारोसँगै सिरेटो चल्ने क्रमले चिसो निकै बढाएको छ । मध्य र दक्षिणी भेगमा त मङ्सिर दोस्रो साता लागेसँगै एकाबिहानैदेखि बाक्लो हुस्सुले ढाक्दै आएको छ । मध्याह्नपछि देखिने घाम पनि मधुरो हुँदा यसपालि मध्य मङ्सिरअघि नै जाडो बढेको जलेश्वर नगरपालिका–५ पर्साका रामनारायण राउत जानकारी दिए ।

एक्कासी बदलिएको मौसमले व्यापार व्यवसायमात्र नभएर कृषि कार्य पनि प्रभावित छन् । मङ्सिर मध्यपूर्व नै यस्तो चिसो भएपछि यस भेगका बूढापाका पुस, माघ झन् कस्तो होला भन्दैछन् । “खै उमेरले ६० वर्ष टेक्न लागियो, मङ्सिरमै यसरी लगलगी कमाउने जाडो त त्यति भोगेको सम्झनै छैन”, भङ्गाहा नगरपालिका–४ रामनगरका ५९ वर्षीय किसान सत्यनारायण यादवले भने, “खै यो दुई वर्षदेखिको कोरोना त्रासले जाडो चाँडै बढाएको त हैन रु”

बढ्दो जाडोले यस भेगका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्नपर्ने श्रमिक काममा जान नपाएपछि भोकभोकै बस्नपर्ने अवस्था बनेको छ । “जाडो त सबैलाई हो ता नि।।१ हुनेखाने जाडोबाट बच्ने सरजाम ९बन्दोबस्त० घरमै जुटाउलान्, हामी बनीबुतो गरेर गुजारा गर्नेको चाहिँ के हविगत हुने हो अब”, जिल्लाको बलवा नगरपालिका–१० को मुसहरीटोलका पलट माझी मुसहरले चिन्ता व्यक्त गरे ।

चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी र स–साना नानीहरूको स्याहार, सम्भार कठिन भएको छ । घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घर वरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्ती बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन् ।

यसैबीच जिल्लाका स्वास्थ्य संस्थाहरूले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहार सम्भारमा ध्यान दिन आग्रह गरेका छन् । घरमा आफ्नै वरपर पाइने सागपात र गेडागुडीको झोल खान, अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घर वरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गरिएका छन् । यसबाहेक फोहर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर आगो नबाल्न आग्रह गरिएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुँवाले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले बताए ।

चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुडा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउने कार्यमा पहलकदमी लिन स्थानीय तहसँग सामाजिक सङ्घसंस्थाले आग्रह गरेका छन् । “क्षति हुन थालेपछि मात्र राहतका पोका बोक्ने बानी छ हाम्रो, अब स्थानीय तहको नेतृत्व चनाखो हुनपर्छ”, प्रयासका अध्यक्ष प्रवीण कर्णले भने, “अहिलेको तदारुकताले क्षति हुन कम सकिन्छ ।”

मङ्सिरमै लगलगी कमाउने चिसो बढेपछि पुस र माघ झनै चिसो बढ्ने अड्कलले गरिब बस्तीमा चिन्ता बढेको छ । गरिब बस्तीका बासिन्दाले जाडोबाट बचाउने उपायका लागि आ–आफ्ना बस्तीका स्थानीय तहका प्रतिनिधि गुहार्न थालेका छन् ।

यसैबीच जिल्ला समन्वय समितिको कार्यालयले जिल्लाका १५वटै स्थानीय तह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट वर्षेनी हुँदै आएको जनधनको क्षति यसपालि हुन नदिन पूर्व सतर्कता र आवश्यक तयारीका लागि आग्रह गरेको छ ।

 

हरवा-चरवा आन्दोलनको तैयारीमा

सरकारी पक्षबाट समस्या समाधानको कुनै पहल नभएको भन्दै सप्तरी जिल्लाका हरवा चरवाहरुले आन्दोलन गर्ने तयारी गरेको छ । सप्तरीको सुरुङ्गा नगरपालिकामा शनिबार “हरवा चरवाको सवाल, मुक्ति र पुनःस्थापनाको आधार” नारासहित सुरु भएको जिल्ला स्तरीय हरवा चरवा सभामा सहभागी अगुवाहरुले आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

यसका लागि जनसंगठन निर्माण, विस्तार, सुदृढिकरण तथा परिचालन लगायतका कार्य सुरु गरिसकिएको राष्ट्रिय हरवा चरवा मञ्चका केन्द्रीय अध्यक्ष दशन मण्डलले बताए । सभामा हरवा चरवा महिला उत्थान समाजकी अगुवा चन्देश्वरीदेवी सदाले साहु महाजनको खेत बारीमा काम गर्ने र वस्तुभाउ चराए पछि पाउने न्यून मजदुरीले आफूसहित जहान बालबच्चालाई एक छाक टार्न पनि कष्ट झेल्नु परेको तर सरकारबाट कुनै सहयोग नपाएको गुनासो पोखिन् ।

हरवा चरवा तथा दलित अधिकार क्षेत्रमा क्रियाशील दलित जनचेतना संगमका कार्यकारी निर्देशक गणेश रामले मुलुकमा पटक–पटक व्यवस्था र सरकार परिवर्तन भए पनि वर्षौदेखि भूमिहीन हरवा चरवाको अवस्था जस्ताको त्यस्तै रहेको भन्दै अब राष्ट्रव्यापी आन्दोलनको विकल्प नरहेको उल्लेख गरे । उनले हरवा चरवा संगठित भई आन्दोलनको तयारी सुरु हुनु सराहनीय रहेको बताउंदै आफूले पनि हरवा चरवाको सशक्तिकरणका लागि क्षमताले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले हरवा चरवाको उठिबास हुने खालका कुनै पनि निर्णय नगर्न सरकारलाई सचेत समेत गराए । सभाको उद्घाटन गर्दै प्रदेशसभा सदस्य गोबिन्द न्यौपानेले हरवा चरवाको समस्यालाई आफूले नजिकबाट नियाल्दै आएको चर्चा गर्दै समस्या समाधान, उनीहरुको उत्थान र सशक्तिकरणका लागि आफूले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

द फ्रिडम फण्ड र दलित जनचेतना संगमको सहयोग तथा हरवा चरवा अधिकार मञ्च सप्तरीको आयोजनामा संचालित सभामा खड्क नगरपालिका, हरवा चरवा मञ्चका नगर अध्यक्ष बलदेव मण्डल, दलित जनचेतना संगमका अध्यक्ष रामलखन राम, पत्रकार बैद्यनाथ झा, वडा अध्यक्ष देवेन्द्र चौधरी, द फ्रिडम फण्डका प्रतिनिधि ब्रह्मदेव राम लगायतकाले कार्यक्रममा बोल्दै हरवा चरवा र दलितमाथि भइरहेको विभेद अन्त्यका लागि संगठित भई अघि बढ्ने पर्नेमा जोड दिएका थिए ।