महोत्तरीमा ८ दिन थपियो निषेधाज्ञा

महोत्तरीमा जिल्ला प्रशासन कार्यालयले जिल्लाभरि भदौ ३१ गतेसम्मका लागि निषेधाज्ञा थपेको छ । कोरोना संक्रमण बढ्दै गएको भन्दै ८ दिन निषेधाज्ञा थपिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।
कोभिड–१९ को संक्रमण थप फैलिन नदिन भन्दै जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले मंगलबार राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म लागु हुनेगरि निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रजिअ कटुवालले जानकारी दिए । हाटबजार, मेला, भिडभाड गर्न नपाउने निर्णय भएको तर पसलहरु भने भीडभाड नगरी सञ्चानल गर्न दिने कटुवालले बताए ।
भदौ १ गतेदेखि जिल्ला प्रशासनले जिल्लाभरि नै निषेधाज्ञा जारी राखेको छ । जिल्लामा अहिलेसम्म १४ सय २९ मानिस मा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ सय ५८ कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म महोत्तरीमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन गिरेन्द्र झाले जानकारी दिए ।