सर्लाहीमा १० देखि ५ बजे सम्म पसलहरु खुल्ने – Madhesh Update

सर्लाहीमा १० देखि ५ बजे सम्म पसलहरु खुल्ने

   September 6, 2020  

जिल्ला प्रशासन कार्यालय सर्लाहीले विगत ३ सातादेखि लगाउँदै आएको निषेधाज्ञा खुकुलो गरेको छ । कोरोना संक्रमण फैलिन नदिने उद्देश्यले विगत ३ सातादेखि लगाइँदै आएको निषेधाज्ञा सोमबारदेखि खुकुलो गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । सोमवार देखि सर्लाहीमा विहान १० वजे देखि ५ बजे सम्म पसलहरु खुल्ने जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।

मलंगवामा जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको बसेको वैठकले निषेधाज्ञालाई केहि हदसम्म खुकुलो गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र कुमार पौडेलले जानकारी दिए ।

सर्वसाधारणको जीवन निर्वाह तथा सामाजिक आर्थिक अवस्थालाई सन्तुलित बनाई राख्न व्यापार तथा रोजगारी हुने खालका क्रियाकलापहरु सञ्चालन गर्न दिइने निर्णय गरिएको उनले बताए । यद्यपि कोरोना संक्रमण फैलिन नदिन आवश्यक सुरक्षा मापदण्ड पालन गराउन लगाइने उनले बताए ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले अघोषितरुपमा निषेधाज्ञालाई खुल्ला गरे पनि होटेल तथा मदिरा पसलहरु संचालनमा र हाटबजार तथा मेला आयोजनमा पूूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ ।

आवश्यक उपभोग्य सामाग्री बिक्री गर्ने पसलहरु प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खोल्न दिइने निर्णय गरिएको छ । संघ संस्था, कार्यालय, वित्तिय संस्थाहरु पालिकागत हिसाबले पालो मिलाएर सञ्चालनमा ल्याउन सूचनामा भनिएको छ ।

निषेधाज्ञा हटाइएपनि सामाजिक दुरी कायम गर्ने, भीडभाड हुन नदिइने लगायतका नियमहरु अनिवार्य रुपमा पालन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।