एकै परिवारका आठजनामा कोरोना देखिएपछि सप्तरीको कञ्‍चनरुप सिल – Madhesh Update

एकै परिवारका आठजनामा कोरोना देखिएपछि सप्तरीको कञ्‍चनरुप सिल

   September 3, 2020  

सप्तरीको कञ्चनरुप नगरपालिका–६ स्थित एउटै परिवारका आठजनामा कोरोना संक्रमण देखिएपछि कञ्चनरुप–६ स्थित घोघनपुर सिल गरिएको छ । कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्तकुमार मिश्रका अनुसार संक्रमित व्यक्तिका परिवारमा पीसीआर परीक्षण गराउँदा थप ७ जनामा कोरोना संक्रमण देखिएकाले कोरोना संक्रमणको विस्तार रोक्न तथा सचेतनामूलक र प्रबन्धनात्मक कार्य गर्न उक्त टोल अर्को आदेश नहुञ्जेलसम्मका लागि सिल गरिएको हो ।

साविकको घोघनपुर गाविस–४ को क्षेत्रभरी सिल गरिएको जनाउँदै उनले सो क्षेत्रमा स्वास्थ्य चौकी रहेकोले स्वास्थ्य सेवासहित बजार, पसल बन्द गरिएको छ । नगरस्तरीय कोरोना संक्रमण नियन्त्रण समितिको बैठकले उक्त टोलमा हिँडडुल, आवतजावत बन्द हुने गरी ुसिलु गर्दै प्रहरी परिचालन गर्ने निर्णय गरेको छ । यस्तै कञ्चनरुप नगरपालिका–२ र ७ मा स्वास्थ्य सेवा बाहेकका हाटबजार, पसल बन्द गर्ने निर्णय गरिएको छ ।

कञ्चनरुप नगरपालिका–६ स्थित एकै परिवारका १०, १२, १३, ३६ र ६२ वर्षीय पुरुष तथा ३० र ६२ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको कञ्चनरुप स्वास्थ्य शाखाले जनाएको छ ।

राजविराजबाट फर्किएर गएका ३६ वर्षीय व्यापारीलाई ज्वरो र रुघाखोकी लागेर शंका गरी परीक्षण गर्दा ५ दिन अघि कोरोना पुष्टि भएको थियो । उनलाई कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ्गमा परेका परिवारका ७ जनासहित छिमेकीहरु समेत १६ जनाको शनिबार स्वाब संकलन गरिएको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक डम्बरप्रसाद गुप्ताले जनाए ।

पीसीआर परीक्षण गरिएकामध्ये संक्रमितको परिवारका आमा, श्रीमती, छोराछोरी र परिवारका नातेदारहरु नै ७ जना रहेको गुप्ताले बताए ।यसअघि नै कोरोना पुष्टि भएका व्यापारी होम आइसोलेशनमा बसिरहकाले थप संक्रमित उनका परिवारका ७ जनालाई पनि होम आइसोलेसनमै राखिएको छ ।

कञ्चनरुप नगरपालिका– २ का तीन जना पुरुषमा समेत बुधबार कोरोना संक्रमण भेटिएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्स्पेक्टर नारायणप्रसाद राउत बरैले जानकारी दिए । वडा नम्बर– २ का २१ र २५ वर्षीय पुरुष पनि एकै परिवारका हुन् । दुई साता अघि भारतबाट आएका उनीहरु संस्थागत क्वारेन्टाइनमा बसेका छन् । यी २ जनालाई कञ्चनरुप नगरपालिकाले बुधबारदेखि सञ्चालन गरेको कञ्चनरुप नगरपालिका–११ स्थित दुर्गा आधारभूत विद्यालय सिमराको आइसोलेसनमा राखेको जनाएको छ ।

कञ्चनरुप नगरपालिका–२ का ३६ वर्षीय व्यापारी पुरुषमा समेत बुधबार नै कोरोना रिपोर्ट पोजिटिभ आएको छ । अस्पतालमा उपचारार्थ भर्ना भएका एक बिरामीलाई भेटन उनी केही दिनअघि विराटनगर पुगेर फर्किएका थिए । उनलाई राजविराजस्थित आइसोलेसन केन्द्र ल्याइएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा कञ्चनरुपका ८० जनाको स्वाब परीक्षण गरिएकोमा १० जनाको रिपोर्ट पोजिटिभ आएको गुप्ताले जानकारी दिए । सह संयोजक गुप्ताले हालसम्म कञ्चनरुप नगरपालिकामा पुष्टि भएका २३ जना संक्रमतिमध्ये नौ जना निको भइ घर फर्किएको बताए ।

यसैगरी गजेन्द्रनारायण सिंह अस्पतालले गरेको परीक्षणअनुसार राजविराज नगरपालिका– ४ का ३५ वर्षीय पुरुष तथा तिलाठी कोईलाडी गाउँपालिका– ८ का २७, २८, ५५ र ७५ वर्षीय पुरुषलाई कोरोना संक्रमण देखिएको छ ।

सप्तरी जिल्लामा हालसम्म संक्रमितको सङ्ख्या १२७ महिला र ६९६ पुरुष गरी ८२३ पुगेको छ । तीमध्ये ७७ महिला र ५२८ पुरुष गरी ६०५ जना निको भएको स्वास्थ्य कार्यालयका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिए । हाल आइसोलेसनमा २१२ जना उपचाररत रहेका छन् भने छ जना संक्रमतिको मृत्यु भइसकेको छ ।