सिरहाको गोलबजार नगरपालिकामा एक घर-एक पिसिआर जाच अभियान

सिराहाको गोलबजार नगरपालिकाले नगर क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि ‘एक घर एक पीसीआर जाँच’ अभियान चलाएको छ ।
नगर कार्यपालिकाको आइतबारको बैठकले ‘एक घर एक पीसीआर जाँच’ अभियान चलाउने निर्णय गरेको नगर प्रमुख देवनाथ साहले जानकारी दिए । कोभिड–१९ पहिचानको एकमात्र आधार पीसीआर परीक्षण नै हो । पछिल्लो दुई दिन अवधिमा गोलबजार नगर क्षेत्रमा १० महिलासहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कार्यपालिकाले नगरको १ देखि १३ नं वडामा पर्ने हरेक गाउँ टोलमा पीसीआर जाँच बढाउने निर्णयसँगै मंगलबारबाट स्वास्थ्यकर्मीहरूको टोलीले समुदायस्तरमा स्वाब संकलन थालेको नगर स्वास्थ्य शाखा प्रमुख सरोज कर्णले बताए । जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार कोरोना संक्रमितको स्थानीयस्तरमै उपचारका लागि नगरपालिकाले ५० शय्याको आइसोलेसन पनि सञ्चालन गर्ने निर्णय गरिएको छ ।
सिरहामा २७ भदौसम्म निषेधाज्ञा थप
जिल्ला प्रशासन कार्यालय सिराहाले निषेधाज्ञा २७ भदौसम्मका लागि बढाएको छ । प्रशासनले ३२ साउनदेखि जारी गरेको निषेधाज्ञा १५ भदौ राति १२ बजे सकिएपछि मंगलबारबाट पुन थपिएको हो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले अत्यावश्यक सेवा र कामबाहेक निषेधाज्ञाका बेला अन्य गतिविधि नगर्न आग्रह गरेका छन् । प्रजिअ कणेलले कोरोनाको जोखिम समुदायस्तरसम्म नै फैलिएकोले लहान, गोलबजार, धनगढीमाई, सुखीपुर, कल्याणपुर, सिरहा नगरपालिका र विष्णुपुर गाउँपालिकामा निषेधाज्ञालाई निरन्तरता दिइएको उल्लेख गरे ।