रौतहट पुजारी हत्या प्रकरणका अभियुक्त सार्वजनिक – Madhesh Update

रौतहट पुजारी हत्या प्रकरणका अभियुक्त सार्वजनिक

   September 2, 2020  

रौतहटका पुजारी श्रीराम शाहको हत्यामा संलग्न आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । देवाही गोनाही नगरपालिका–१ घर भएका रामनरेश पटेल र सोही ठाउँका बालकुमार पटेललाई सार्वजनिक गरेको हो ।

रौतहटको बौधिमाई नगरपालिका–७ वडकी बंकुल एरियाबाट २ नम्बर प्रदेश प्रहरी कार्यालय र रौतहट प्रहरीको विशेष टोलीले उनीहरुलाई पक्रेको २ नम्बर प्रदेशका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए ।

नरेश पटेलले कटुवा पेस्तोल प्रयोग गरी पुजारी साहको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको सिंहले बताए । उनले भने, ‘त्यस्तै बालकुमार पटेलले घटनास्थित बसेर मानिसको आवत जावतलाई निगरानी गरेको थियो ।’

यस्तै घटनामा अन्य व्यक्तिको पनि संलग्नता रहेको अपराधीको खोजी कार्य भइरहेको सिंहले जानकारी दिए । पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत रौतहटबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

माधव नारायण नगरपालिका–३ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी शाहको साउन ३ मा हत्या भएको थियो । उनले आफ्नै पैसा लगानी गरेर मन्दिर बनाएका थिए ।

मन्दिर परिसरमा अज्ञात ब्यक्तिले गोली हानेर हत्या गरेका पुजारीको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन हिन्दुवादी संगठनले दवाव दिएका थिए ।