प्रदेश २ सरकारद्धारा दलित हत्या सम्बन्धमा छानविन समिति गठन – Madhesh Update

प्रदेश २ सरकारद्धारा दलित हत्या सम्बन्धमा छानविन समिति गठन

   September 2, 2020  

पछिल्लो समयमा प्रदेश नम्बर २ मा निरन्तररुपमा दलित समुदायसँग जोडिएर भएका हत्याका घटनाहरुको छानविन गरि प्रतिवेदन पेश गर्न प्रदेशका आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा गठित जातीय विभेद तथा छुवाछुत अनुगमन समितिको बुधबार बसेका पहिलो बैठकले सो निर्णय गरेको हो ।

बैठकले रौतहट लगायतका घटनाहरुबारे छानविन गर्न १५ दिनको समय सिमा दिएको छ । उक्त समितिमा प्रमुख प्रतिपक्षी दल नेकपाका सचेतक एवं अनुगमन समितिका सदस्य समेत रहेका सुन्दर विश्वकर्मा, प्रदेशसभा सदस्य सुनितादेवी मोची, प्रमिलादेवी दास र प्रदेश प्रहरीका प्रमुख सदस्य सचिव रहने मुख्यमन्त्री तथा परिषदको कार्यालयले जनाएको छ ।

त्यस्तै बैठकले लकडाउनमा खाना नपाएर मृत्यु भएका सप्तरीका मलर सदा र विराटनगरमा उपचारको रकम तिर्न नसकी अस्पतालमा बन्धक बनेकी भुटनी देवीका परिवारलाई १ लाख ५० हजार रुपैयाँको दरले आर्थिक सहयोगका लागि प्रदेश सरकारसमक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

साथै रौतहटमा हत्या भएका निरञ्जन राम र मित्रा देवी बैठाको परिवारलाई समेत आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । अहिलेसम्म प्रदेश नम्बर २ मा पछिल्लो समयमा विभिन्न घटनामा १३ जना दलितको मृत्यु भइसकेको छ ।