रौतहटको गरुडामा लगातार धर्ना र विरोध – Madhesh Update

रौतहटको गरुडामा लगातार धर्ना र विरोध

   August 31, 2020  

प्रहरी हिरासतमा घाइते भइ उपचारको क्रममा मृत्यु भएका बिजय रामको प्रहरीले यातना दिएको हत्या गरेको भन्दै रौतहटको गरुडामा लगातार विरोध प्रदशर्न भइरहेको छ । प्रदर्शनले सोमबार दिनभर गरुडा बजार तनाबग्रस्त बन्यो । आन्दोलनकारीले स्थानीय प्रशासनले गठन गरेको छानबिन समितिलाई अमान्य घोषित गरेका छन् ।

पीडितका आफन्त र स्थानीयले घटनाका दोषी प्रहरी उपर कारबाहीको माग अघि सारेर एक सातादेखि लगातार विरोध गरिरहेका छन् । गृह मन्त्रालयले गठन गरेको छानविन टोली मान्य नहुने भन्दै अधिकारकर्मी र दलितको प्रतिनिधित्व हुने गरी अर्को टोली गठन गर्न उनीहरुले माग गरेका छन् । घटनामा जिल्ला प्रहरीबाट खटेका शादा पोशाकका प्रहरीले यातना दिएको भन्दै उनीहरुमाथि पनि छानविन हुनु पर्ने पीडितको माग छ ।

गरुडा ८ जिंगडीयाका १७ बर्षिय निरन्जन रामको घाँटी रेटेर हत्या गरेको आरोपमा पक्राउ परेका बिजय रामको उपचारको क्रममा बिहीबार बिहान वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा मृत्यु भएको थियो । उनको मृत्यु प्रहरीको यातनाबाट भएको पीडित परिवारको भनाई छ । मृत्युअघि बिजयले आफूलाई हिरासतमा दुई दिनसम्म सादा पोशाकका प्रहरीले यातना दिएको बताएका थिए ।

अस्पताल शैय्यामा खिचिएको उनको भिडियोमा उनले निरन्जनको हत्या स्विकार गर भन्दै सादा पोशाकका प्रहरीले आफूलाई चरम यातना दिएको बताएका छन् । पीडित परिवारले पनि जिल्ला प्रहरीले खटाएको प्रहरी निरिक्षक नवीन सिंह, घुमुवाहरु प्रहरी हवल्दार मुन्ना सिंह र फिरोज आलमलाई समेत छानविनको दायरामा ल्याउन माग गरेका छन् । निरन्जन हत्याकान्ड र बिजयको हत्याको छानबिन र दोषी प्रहरीलाई कारबाहीको माग गर्दै पूर्व सांसद विश्वेन्द्र पासवान तीन दिनदेखि इलाका प्रहरी कार्यालय गरुडा अगाडि धर्नामा बसेका छन् ।

दलित अगुवा नाथुराम परियारले जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले खटाएका तीनैजना प्रहरी गरुडा आएर महिला सेलको हिरासतमा रहेका बिजयलाई हत्या स्विकार्न चरम यातना दिएको बताए । ‘इन्स्पेक्टर सिंह लगायत तीनैजना माथि छानबिन गरी कारबाही हुनु पर्छ,’ उनले भने, ‘हिरासतमा रहेको मानिसलाई यसरी यातना दिन पाइदैन । यसमा ईलाका प्रहरीका डिएसपी ज्ञानकुमार महतोलगायतका प्रहरी अधिकृतहरुलाई कारबाही हुनु पर्छ ।’

प्रहरी निरिक्षक सिंहसहितको टोलीले भदौ २ र ३ गते दुई दिन लगातार बिजयलाई यातना दिएको गरुडा प्रहरी श्रोतले बतायो । जिल्ला प्रहरीबाट खटेको सिंहको टोलीले बिजयलाई सोधपुछ गर्नु छ भनेर थुनुवा कोठामा भेट्ने गरेको भनेर डिएसपी महतोले प्रदेश २ प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहलाई समेत जानकारी दिएका थिए । बिजयको भिडियो सन्देस सार्वजनिक भएपछि सिंहलगायतलाई निलम्बन गर्नुपर्ने भन्दै समाजिक सन्जालमा विरोध गरिएको छ । सिंहले भने आफू बिशेष कामले गरुडा गएको भए पनि बिजयलाई कुटपिट नगरेको बताएका छन् ।

गृह मन्त्रालयले घटनाको छानबिन गर्न ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिवको संजोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । तर पीडित परिवारले समितिमा अधिकारकर्मी र दलितको प्रतिनिधित्व हुनु पर्ने माग गरेका छन् । अन्यथा यो समितिलाई मान्यता नदिने दलित अगुवा धर्मेन्द्र पासवानले बताए ।

‘स्थानीय प्रशासन र प्रहरी मात्र संलग्न रहेको समिति हामीलाई मान्य छैन्,’ उनले भने, ‘अर्को समिति गठन हुनु पर्छ ।’

निरन्जनको हत्यापछि गरुडा प्रहरीले बिजयलगायत ७ जनालाई पक्रेर कर्तब्य ज्यान मुद्दा चलाएको थियो । उनीहरुमध्ये ५ जना निर्दोष रहेको पीडित परिबारले भन्दै आएका छन् । दलित अधिकारकर्मीहरुले यस अघिदेखि नै प्रहरीले निर्दोषलाई फँसाउन खोजेको भन्दै आन्दोलन गर्दै आएका थिए ।

-इकान्तिपुर