वीरगन्जमा पनि प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार शुरु – Madhesh Update

वीरगन्जमा पनि प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार शुरु

   August 31, 2020  

वीरगन्जमा कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गर्न शुरु गरिएको छ । नारायणी अस्पततालमा उपचाररत रहेका सर्लाहीको चकरघट्टा गाउँपालिका ३ सुन्दरपुरका ३५ वर्षीय पुरुषको आइतबार राति प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको उपचारमा संलग्न डाक्टर उदयनाराण सिंहले जानकारी दिए ।

आइसीयूमा भर्ना रहेका ती पुरुषको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएसँगै उनको स्वास्थ्यमा सुधार पनि आइरहेको डाक्टर सिंहले बताए । एक हप्तादेखि ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई गत शनिबार परिवारका सदस्यले वीरगन्जको नारायणी अस्पतालमा ल्याएर भर्ना गराएका थिए ।

आइतबार उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रदेश नम्बर २ मा पहिलो पटक वीरगन्जमै प्लाज्मा थेरापी विधिबाट संक्रमितको उपचार गर्न थालिएको हो । यसअघि काठमाडौं उपत्यकाबाहेक प्रदेश १ को धरान र प्रदेश ५ का बुटवलमा प्लाज्मा थेरापी विधिबाट संक्रमतिको उपचार गरिएको थियो ।