विहिवार प्रदेश २ मा कोरोनाबाट ८ जनाको मृत्यु । थप १ सय २४ संक्रमित

प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। बारामा १ गर्भवती महिलासहित ५ जना, पर्सामा २ जना र धनुषामा १ जना गरी ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले जानकारी दिए।
उनका अनुसार बाराको सुवर्ण गाउँपालिका ४ हर्दियाकी २३ वर्षीय गर्भवती महिला र बारा जिल्लाकै विभिन्न स्थानका ४२, ५९, ७० र ७५ वर्षीय चारजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
यस्तै पर्सा सुपौलीका ६६ वर्षीय पुरुष र वीरगञ्ज महानगरपालिका १४ बहुअरीका ६२ वर्षीय पुरुषको मृत्यु भएको छ छ। त्यस्तै धनुषाका मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ का ४५ वर्षीय पुरुषको समेत कोरोना संक्रमणबाटै मृत्यु भएको अधिकृत झाले पुष्टि गरेका छन्।
यससँगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ। जसमा ११ जना महिला छन्।
यस्तै प्रदेश २ मा पछिल्लो २४ घण्टामा १२४ जना कोरोना संक्रमित थपिएका छन्। धनुषामा ३७ जना, महोत्तरीमा १, सिरहामा ४, बारामा १०, पर्सामा २६, सर्लाहीमा ३, रौतहटमा ६ जना र सप्तरीमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ सामाजिक विकास मन्त्रालयले जनाएको छ। नयाँ संक्रमित भेटिनेमा १८ जना महिला छन्।
पछिल्लो २४ घण्टामा यस प्रदेशबाट ९ जना महिलासहित ५७ जना विभिन्न अस्पतालबाट कोरोना जितेर घर फर्केको मन्त्रालयले जनाएको छ।