पर्सामा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो, ४५ को मृत्यु
कोरोना भाइरस संक्रमणको हट स्पट बनेको पर्सा जिल्लामा संक्रमितको संख्या २ हजार नाघेको छ । बुधबार राती थप २४ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या २ हजार २२ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राती ५ सय १० जनाको स्वाब नमुना परीक्षण गर्दा पर्साका २४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए ।
उनका अनुसार, जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरिक्षक, उनकी श्रीमति र छोरामा पनि संक्रमण भेटिएको छ । यस्तै पर्साको सखुवाप्रसौनी गाउँपालिकामा ७ जना र कालिकामाई गाउँपालिका ५ विरन्चीवार्वाका ५ जनामा पनि बुधबार राती कोरोना संक्रमण पुष्टि भएको चौरसीयाले जानकारी दिए ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ११ का २ जना तथा वडा नम्बर ८, १० , १३ , १४ र २६ का १÷१ जनामा पनि संक्रमण भेटिएको उनले बताए । २ जना सशस्त्र प्रहरीमा पनि संक्रमण पुष्टि भएको जानकारी उनले दिए ।
साउन यता मात्रै १८ सय ६१ मा संक्रमण पुष्टि
पर्सामा साउन यता मात्रै १ हजार ८ सय ६१ जना संक्रमित थपिएका हुन् । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार, असार मसान्त सम्म पर्सामा १६१ जनामा मात्र संक्रमण भेटिएको थियो । ती मध्ये १५९ जना निको भइ घर फर्किएपछि असार अन्तिममा वीरगन्ज स्थित कोभिड अस्पतालको आइशोलेसनमा २ जना मात्र संक्रमित उपचाररत थिए । तर साउन महिना शुरु भएपछि परिक्षणको दायरा बढाइएका कारण त्यस यता दिनहु अत्याधिक संख्यामा संक्रमित थपिदै गएका छन् ।
समुदायस्तरमै पुगेर स्वाब संकलन गर्नुका साथै संक्रमितको कन्टयाक्ट ट्रेसिङ र सशुल्क परीक्षण पनि थालिएकाले संक्रमितको संख्या बढ्दै गएको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनय श्रीवास्तवका अनुसार, पर्सामा १ सय ३२ जना स्वास्थ्यकर्मी, ८७ जना सुरक्षाकर्मी, १३ जना पत्रकार, ९८ जना कैदी थुनुवा , ४९ जना अस्पताल सफाइकर्मी र ३ जना एम्बुलेन्स चालक पनि संक्रमित भएका छन् ।
४ सय ४४ जनाले जिते कोरोना
प्रशासकीय अधिकृत श्रीवास्तवका अनुसार पर्सामा बुधबार साँझसम्म ४ सय ४४ संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भइ घर फर्किसकेका छन् । बुधबार साँझ मात्रै ६६ जना डिस्चार्ज भएका थिए ।
उनका अनुसार , पर्साका दुईवटा कोभिड अस्पतालमा गरी अहिले ४१ महिला र १ सय ९ पुरुष गरि १५० संक्रमित उपचाररत छन् । यस्तै आफ्नै घरको होम आइसोलेसनमा ६ सय ५३ जना रहेको श्रीवास्तवले जानकारी दिए । अरु संक्रमितहरु वीरगन्जका विभिन्न नीजी अस्पताल, धर्मशाला र विद्यालयमा बनाइएका सेमी आइसोलेसनमा छन् ।
पर्सामा बुधबार साँझसम्म पीसीआर परीक्षणका लागि १८ सय ४ सय ९१ जनाको स्वाब संकलन भएकोमा १ सय ७५ जनाको भने रिपोर्ट आउन बाँकी रहेको श्रीवास्तवले जानकारी दिए ।
वीरगन्जमा ४५ जनाको मृत्यु
पर्साको वीरगन्जस्थित अस्पतालमा कोरोना भाइरस संक्रमणका कारण बिहीबारसम्म ४५ जनाको मृत्यु भएका छ । वीरगन्जमा पछिल्लो १४ घण्टाको अवधीमा मात्रै थप ३ जनाको मृत्यु भएको हो । वीरगन्जमा साउन यतामा मात्रै ४१ जनाको मृत्यु भएको हो ।
वीरगन्जमा कोरोनाका कारण मृत्यु भएका ४५ मध्ये १ बेवारिसे युवकसहित पर्साका ३३ जना , बाराका १० जना र रौतहटका २ जना रहेका छन् । वीरगन्जमा समुदायस्तरमै संक्रमण फैलिएर दिनहुँ संक्रमितको संख्या बढ्दै गएपछि बैशाख १० गते देखि नै निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञालाइ कडाइका साथ लागू गराउन स्थानीय प्रशासनले वीरगन्जमा नेपाली सेना समेत परिचालन गरेको छ ।
-अन्नपुर्ण पोष्ट