जनकपुरमा ‘आपतकालीन निःशुल्क स्वास्थ्य शिविर अभियान’ सञ्चालन हुदै – Madhesh Update

जनकपुरमा ‘आपतकालीन निःशुल्क स्वास्थ्य शिविर अभियान’ सञ्चालन हुदै

   August 26, 2020  

जनकपुरधाममा आपतकालीन निःशुल्क स्वास्थ्य शिविर अभियान सञ्चालन हुने भएको छ । सामान्य प्रकृतिका बिरामीहरुलाई पनि समयमा उपचार प्रदान गर्ने उद्देश्यका साथ कोरोना महामारीको संकटपूर्ण समयमा जनकपुरधाम उपमहानगरपालिका–७ ले ‘आपतकालीन निःशुल्क स्वास्थ्य शिविर अभियान’ सञ्चालन गर्न लागेको हो ।

बालबालिक, महिला र वृद्धवृद्धाको अवस्थालाई ध्यान दिंदै अभियान सुरु गर्न लागिएको जनकपुरधाम उपमहानगरपालिका ७ का वडाध्यक्ष जानकीराम साहले जानकारी दिए ।

आफ्नो वडाबासीलाई प्रत्येक शुक्रवार, शनिवार र आइतवारका दिन बिहान ८ बजेदेखि १० बजेसम्म चिकित्सकहरु डा ज्याउल हक (गाइनो), डा श्रीराम शर्मा (जेनरल फिजिसियन र मेडीसिन) र डा जाफर राईन (बाल रोग विशेषज्ञं) को टिमद्धारा निःशुल्क स्वास्थ्य परीक्षण गरिने उनले बताए ।

वडाध्यक्ष जानकिराम साहको संयोजकत्वमा आपातकालीन निःशुल्क स्वास्थ्य शिविर अभियानका लागि समिति समेत गठन गरिएको छ । समितिका सदस्यमा पत्रकार, कार्यपालिका सदस्य, जिरोमाइल प्रहरी चौकीका इन्चार्ज सहित नागरिक समाजका प्रतिनिधीहरु सहभागी छन ।