कोरोनामुक्त भएसँगै मेयर सरावगी काममा पुन सक्रिय – Madhesh Update

कोरोनामुक्त भएसँगै मेयर सरावगी काममा पुन सक्रिय

   August 24, 2020  

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी कोरोना मुक्त भएसँगै जनताको काममा सक्रिय भएका छन् । आइतबार मात्रै कोरोना संक्रमणबाट मुक्त भएका मेयर सरावगीले आजबाट कार्यालय पुगेर काम कारवाही सुरु गरेका हुन् ।

महानगरवासीको जीवन रक्षाका लागि यस अघि घोषणा गरिएका कार्यक्रमहरु पुनः सुचारु गरिने मेयर सरावगीले बताएका छन् । उनले सबैको साथ र सहयोगबाट वीरगञ्जलाई ग्रीनजोन बनाउन सकिने विश्वास लिएको बताए ।

उनले संघ र प्रदेश सरकारको सहयोग नपाए पनि महानगरले आफ्नो महानगरवासीलाई बचाउन हरेक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मेयर सरावगीले सोमबार पर्सा जिल्लाका सबै सुरक्षा प्रमुखलगायत मेडीकल सुपरिटेन्डेन्ट डा संजय ठाकुरसँग अहिलेको वर्तमान परिस्थितिमा सम्पुर्ण महानगरबासीको जीवनको सुरक्षा कसरी गर्न सकिन्छ र कोरोना महामारीबाट सिर्जना भएको परिस्थितिबाट कसरि जोगाउन सकिन्छ भनी छलफल गरेका छन् ।

गत साउन १४ गते काठमाडौंमा गरिएको परीक्षणमा सरावगीमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनलाई १२ दिन आईसीयूमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा क्रमिक सुधार आए पनि कोरोना रिपोर्ट भने पोजेटिभ नै आइरहेको थियो । २५औँ दिनमा कोरोनामुक्त भएका मेयर सरावगीको नारायणी अस्पतालको प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा पिसिआर रिपोर्ट नेगेटिभ आएको उनका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिए ।