रौतहटमा हत्या गरिएको पुजारीको अनुसन्धान हुदै

रौतहटको माधवनारायण नगरपालिका- २ खेसरैयाका पुजारी श्रीराम साहको हत्याको छानबिनका लागि प्रदेश २ प्रहरी कार्यालय जनकपुरको टोलीले अनुसन्धान सुरु गरेको छ ।
घटनाको प्रदेश प्रहरीले वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोख्रेलको नेतृत्वमा अनुसन्धान टोली शनिबार रौतहट आइपुगेको हो । एसएसपी पोख्रेलको टोलीले शनिबार स्थलगत अनुसन्धान सुरु गरेको छ । यसअघि प्रदेशबाट झिकाइएको तालिम पाप्त कुकुर प्रयोग गरे पनि हत्यारा पत्ता लाग्न सकेको छैन् । पुजारीले प्रयोग गर्दै आएको मोबाइल उनको पारिवारिक पृष्ठभूमि, छिमेकी, नातेदार लगायत सित सोधपुछ गरी अनुसन्धानलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ ।
खेसरैयास्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी साहमाथि गएको बुधबार राति करिब साढे ९ बजे गोली प्रहार गरी हत्या भएको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।
मन्दिरमा एक्लै बस्ने पुजारीको परिवारका कुनै सदस्य छैनन् । उनकी श्रीमती पिनवादेबी साहको मृत्यु भएको एक दशकबितिसकेको छ । कुनै सन्तान नभएका ती पुजारीको पहलमा २०७६ जेठमा मन्दिर निमार्ण भएको स्थानीयले बताए ।
हत्यामा संलग्न चाडै पक्राउ पर्ने जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए । ‘हामी हत्याराको नजिक पुगिसकेका छौं, ’ उनले भने, ‘विभिन्न कोणबाट अनुसन्धान जारी छ ।’ केही मानिसको पहिचान भए पनि प्रहरीले अनुसन्धानमा बाधा पुग्ने भन्दै नाम गोप्य राखेको छ । ती मानिसहरुको पहिचान खुले पनि संलग्नता बारे अझै यकिन गर्न निगरानी सुरु गरेको प्रहरीको भनाइ छ ।