प्रदेश २ मा थप ३ सय १२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा १ सय ३८ सहित धनुषामा ३७, महोत्तरीमा ११, सिरहामा ५, बारामा १३, सर्लाहीमा ७९, रौतहटमा १७ र सप्तरीमा १२ जना गरी ३ सय १२ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
योसँगै प्रदेशमा संक्रमितको संख्या ८ हजार ८ सय ३२ पुगेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवका स्वकीय सचिवमा समेत संक्रमण पुष्टि भएको छ ।
यस्तै, जनकपुरको काव्या अस्पतालका स्वास्थ्यकर्मी र डाक्टरसहित १८ जनामा संक्रमण पुष्टि भएको छ । झाका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा सिन्धुली घर भई सर्लाहीको लालबन्दीमा बस्दै आएकी ३३ वर्षीया महिला, राजविराज नगरपालिका—७ का ७७ वर्षीय वृद्ध र जनकपुरधाम उपमहानगरपालिकास्थित रुपैठाका ५८ वर्षीय पुरुष रहेको उनले बताए ।