धनुषा र रौतहटमा एक हप्ता थप निषेधज्ञा

जिल्ला प्रशासन कार्यालय धनुषा र रौतहटले जिल्लामा पुनः एक हप्ताका लागि निषेधज्ञा थप गरेको छ । कोभिड–१९ को संक्रमण बढ्दै गएपछि आईतबार मध्यराति १२ बजे देखि भदौँ १४ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरिएको धनुषका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।
नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराउनका लागि स्थानीय प्रशासन ऐन दफा २०२८ को ६९३० अनुसार सो आदेश जारी गरिएको जनाइएको छ । निषेधाज्ञा अवधिमा बिहान १०ः०० बजेसम्म मात्र पसल सञ्चालन गर्न पाउने समेत प्रजिअ भट्टराईले जानकारी दिए ।
व्यापार तथा व्यवसाय सञ्चालन गर्दा बिक्रेताले पञ्जा, मास्क र स्यानिटाइजर प्रयोग गर्नुका साथै सामाजिक दूरी कायम गर्नुपर्ने र क्रेतालाई अनिवार्य रुपमा मास्क प्रयोग गर्ने आग्रह समेत उनले गरे । धनुषामा अहिलेसम्म कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले यही साउन १९ गतेदेखि शुरु गरेको एक साताको निषेधाज्ञाको अवधिलाई एक साताको लागि थपेको छ ।
धनुषामा अहिलेसम्म १ हजार २ सय ३१ जना संक्रमित छन् भने १० जनाको मृत्युसमेत भइसकेको छ । त्यस्तै ४ सय ४० जना सक्रिय संक्रमितमध्ये ८० जना आइसोलेसनमा छ भने ३ सय ६० जना होम आइसोलेसनमा रहेका जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
रौतहटमा पनि थपियो
जिल्ला प्रशासन कार्यालय रौतहटले पनि भदौ ७ सम्मको निषेधाज्ञा थप एक साताको लागि लम्ब्याएको छ ।
कोरोना संक्रमणको जोखिम कम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ तथा संक्रमण रोग ऐन, २०२० को दफा २ बमोजिम निषेधाज्ञालाई भदौ ८ देखि १५ गते सम्म एक साता थपेको हो ।
निषेधाज्ञामा खाद्यान्न, निर्माण सामग्रीका पसल तथा बैंकहरु बिहान ७ देखि ११ बजे सम्म संचालनको छुट दिएको छ । स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्ने शर्तमा सो सहुलियत प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
रौतहटमा पछिल्लो २४ घण्टामा कोरोनाका ११ संक्रमित थपिएका छन् । रौतहटको राजदेवी र बौधिमाई नगरपालिकाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
रौतहटको राजदेवी नगरपालिका ४ का ६ जना र बौधिमाई नगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।
संक्रमण पुष्टि भएका सबै संक्रमित स्थानीय संक्रमित रहेका जनस्वास्थ्य कार्यालयका प्रवक्ता हरेन्द्र गुप्ताले बताए ।
यो रौतहटमा संक्रमितको संख्या १ सय ६० पुगेको छ । रौतहटमा स्वाब संकलन गरिएकामध्ये ९ सय ८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।