सप्तरीमा ४८१ संक्रमित निको भएर घर फर्किए
सप्तरीमा ४ सय बढी कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार हालसम्म ४८१ जना संक्रमित निको भएर घर फर्किएका हुन् ।
सप्तरीको १८ वटै स्थानीय तहमा संक्रमण फैलिएको छ । संक्रमणका कारण हालसम्म ४ जनाको निधन भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ ।
जिल्लामा ७०७ जनामध्ये आइसोलेसनबाट ४९ महिला र ४३२ गरी ४८१ जना निको भएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । अहिले साईकृष्ण मेडिकल भवनमा सञ्चालित आइसोलेसन केन्द्रमा ११३, तिलाठी कोइलाडी गाउँपालिकाको आइसोलेसनमा २३, होम आइसोलेसनमा ५९ र प्रहरी तालिम केन्द्र आइसोलेसनमा २२ जना गरी २१७ जना उपचाररत रहेको स्वास्थ्य कार्यालयका निमित कार्यालय प्रमुख दुनियालाल यादवले बताए ।
बिहीबार थपिएको एक स्वास्थ्यकर्मीसहित ५ जना सङ्क्रमितलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको बताइएको छ । जिल्लामा १२ हजार १७५ जनाको स्वाब सङ्कलन गरिएकोमा १० हजार ९८२ जनाको परीक्षण भइसकेको छ । तीमध्ये १० हजार २८० जनाको नेगेटिभ रिपोर्ट आएको छ भने १ हजार १९३ जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । जिल्लाको विभिन्न स्थानीय तहहरूले सञ्चालन गरेको क्वारेन्टाइनमा ३४५ जना मात्र रहेका छन् ।