निलम्बन बदर गर्न माग गर्दै रौनियारले स‌ंसदमा दिए निवेदन – Madhesh Update

निलम्बन बदर गर्न माग गर्दै रौनियारले स‌ंसदमा दिए निवेदन

   August 19, 2020  

आफ्नो सांसद पद निलम्बन बदर गर्न माग गर्दै हरिनारायण प्रसाद रौनियारले संघीय संसद सचिवालयमा निवेदन दिएका छन् । रौनियार जनता समाजवादी पार्टीका हुन ।

पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित रौनियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दायर गरेकाले उनी निलम्बित छन् ।

आफू निलम्बनमा परेपछि रौनियारले ०७५ पुस १५ मा निलम्बन गर्नुको कारण खुलाउन माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका थिए ।

त्यसको कुनै जवाफ नआएको भन्दै उनले मंगलबार पुन निवेदन दिएका हुन् ।

निवेदनमा उनले आफ्नो सांसद पद निलम्बन बदर गरी यथाअवस्थामा कामकाज गर्ने आदेश माग गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्वा दर्ता गर्दैमा जननिर्वाचित प्रतिनिधि निलम्बन गर्ने प्रावधान प्रतिनिधिसभा संसद नियमावलीसमेतको विरुद्ध रहेको रौनियारको जिकिर छ ।

तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐनमा सार्वजनिक पद धारण गरेको व्यक्तिलाई भ्रष्टाचार आरोपमा मुद्वा चलेको अवस्थामा किनारा नभएसम्म स्वतः निलम्बन हुने व्यवस्था छ ।