जनकपुरमा वडाध्यक्षको सरकारी नम्बर प्लेटको मोटरसाइकल चोरी
जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर- १६ बाट एक वडाध्यक्षको सरकारी नम्बर प्लेटको मोटरसाइकल चोरी भएको छ ।
धनुषाको कमला नगरपालिका वडा नम्बर-५ का वडाध्यक्ष शिवा पासवानले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकल जनकपुरधामको जलाध पुल नजिकबाट चोरी भएको हो ।
आफु जनकपुरस्थित घर आएको बेला सोमवार राती आफ्नो मोटरसाइकल चोरी भएको वडाध्यक्ष पासवानले जानकारी दिए । उनले औषधी किन्न गएको बेला घर अगाडि लगाएको मोटरसाइकल चोरी भएको बताए ।
पालिकाबाट प्रयोगका लागि दिइएको मोटरसाइकल चोरी भएको जानकारी वडाध्यक्ष पासवानले मंगलवार बिहान गराएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र कुमार सढानले बताए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले वडाध्यक्ष पासवानकोे चोरी भएको मोटरसाइकलको खोजी कार्य तिव्र रुपमा भईरहेको बताएका छन् ।