मधेश प्रदेशमा उनानब्बे प्रतिशत खेतमा धान रोपाइँ – Madhesh Update

मधेश प्रदेशमा उनानब्बे प्रतिशत खेतमा धान रोपाइँ

   September 3, 2023  

मधेश प्रदेशमा ८९.२० प्रतिशत धान रोपाइँ सकिएको छ । वर्षा पर्याप्त नहुँदा प्रदेशलाई सुक्खा क्षेत्र घोषणाको माग उठिरहेका बेला परेको पानीले धान रोपाइँको क्षेत्रफल बढेको छ । भदौको सुरुमा ८२.५८ प्रतिशत धान रोपाइँ मात्र भएको थियो । त्यसपछि खेतमा जम्ने गरी पर्याप्त वर्षा भएकाले रोपाइँको प्रतिशतमा वृद्धि भएको छ ।

मधेश प्रदेशका आठवटै जिल्लाका गरी पाँच लाख ७४ हजार ३६० हेक्टर क्षेत्रफल जग्गा खेतीयोग्य रहेको मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । कुल खेतीयोग्य जग्गामध्ये चार लाख एक हजार ६५० हेक्टर क्षेत्रफल जग्गा धान खेतीका लागि योग्य छ । सो मन्त्रालयका प्रवक्ता रोशन मेहताका अनुसार अहिलेसम्म धान खेतीयोग्य जग्गामध्ये तीन लाख ३१ हजार ६९०.७ हेक्टर जग्गामा धान बाली लगाइएको छ । खेतीयोग्य जग्गामध्ये ४३ हजार ३५९.३ हेक्टर क्षेत्रफल जग्गामा अझै धान रोपाइँ भएको छैन ।

मधेश प्रदेशमा सबभन्दा बढी बारा जिल्लामा धान रोपाइँ भएको छ । त्यहाँ ९८ प्रतिशतमा धान रोपाइँ भइसकेको मधेश प्रदेशको कृषि विकास निर्देशनालय नक्टाझिजले जनाएको छ । बारामा ४६ हजार २० हेक्टर क्षेत्रफल धान खेतीयोग्य जग्गामध्ये ४५ हजार ९९.६ क्षेत्रफल जग्गामा रोपाइँ भइसेकेकोे छ । निर्देशनालयका निमित्त निर्देशक कमलदेव कुसवाहका अनुसार प्रदेशमा सबैभन्दा कम महोत्तरी जिल्लामा धान रोपाइँ भएको छ ।

यस जिल्लामा ६५ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको जानकारी उहाँले दिनुभयो । महोत्तरीमा ४७ हजार ५०० हेक्टर क्षेत्रफल धान खेतीयोग्य जग्गामध्ये ३० हजार ८७६ हेक्टर क्षेत्रफल जग्गामा मात्र धान रोपाइँ भएको निमित्त निर्देशक कुशवाहाले जनाउनुभयो ।

यसै गरी पर्सामा ९७ प्रतिशत खेतमा धान रोपाइँ भएको छ । यस जिल्लामा ४७ हजार १३० हेक्टर क्षेत्रफलमध्ये ४५ हजार ७१६.१ हेक्टरमा धान बाली लगाइएको छ । रौतहटमा ९६ प्रतिशत धान रोपाइँ भएको निर्देशनालयका योजना प्रमुख रामकलेश साहले जानकारी दिनुभयो । रौतहटमा ३५ हजार हेक्टर क्षेत्रफलमध्ये ३३ हजार छ सय हेक्टरमा धान रोपाइँ सम्पन्न भएको उहाँले बताउनुभयो ।

यस्तै सप्तरीमा ६८ हजार हेक्टर क्षेत्रफल जग्गा धान खेती योग्य रहेको छ । हालसम्म ६४ हजार छ सय हेक्टर जग्गामा धान रोपाइँ भइसकेको छ । प्रतिशतका हिसाबले यहाँ ९५ प्रतिशत क्षेत्रफल जग्गामा धान रोपाइँ भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । सर्लाही र सिरहामा समान ९२ प्रतिशत क्षेत्रफल जग्गामा धान बाली लगाइएको छ । सर्लाहीमा ४६ हजार हेक्टर जग्गा धान खेतीयोग्य रहेकोमा ४२ हजार ३२० हेक्टर खेतमा धान रोपाइँ भएको छ भने सिरहामा ५४ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ४९ हजार ६८० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

प्रदेशमा महोत्तरीपछि सबैभन्दा कम धनुषा जिल्लामा धान रोपाइँ भएको छ । यहाँ ८० प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ । यस जिल्लामा ५८ हजार हेक्टर क्षेत्रफल जग्गा धान खेतीयोग्य रहेकोमा ४६ हजार चार सय हेक्टर क्षेत्रफल जग्गामा मात्र धान रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।

मधेश प्रदेशमा धान बालीसहित कुल पाँच लाख ७४ हजार ३६० हेक्टर क्षेत्रफल जग्गा खेतीयोग्य रहेको छ । यसमध्ये चार लाख एक हजार ६५० हेक्टर जग्गा क्षेत्रफलमा धान खेती हुने गरेको छ अर्थात् एक लाख ७२ हजार ७१० हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामा धानबाहेक मकै, कोदो, तरकारीसहित अन्य बाली एवं घरघडेरीमा प्रयोग भइरहेको अनुमान गरिएको छ ।

सबैभन्दा बढी सर्लाहीमा ८४ हजार ६७८ हेक्टर र सबभन्दा कम पर्सामा ५४ हजार ७३२ हेक्टर जग्गा खेतीयोग्य रहेको मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता मेहताले बताउनुभयो । यसै गरी सप्तरीमा ८१ हजार ६६८, धनुषामा ७६ हजार ५३१, सिरहामा ७३ हजार ९१४, बारामा ६९ हजार ५१६, महोत्तरीमा ६७ हजार ३५२, रौतहटमा ६५ हजार ९६९ हेक्टर क्षेत्रफल जग्गा खेतीयोग्य छ ।