२४ करोड रुपैयाँ हिनामिना गरेर सर्लाहीमा सहकारीका अध्यक्ष फरार – Madhesh Update

२४ करोड रुपैयाँ हिनामिना गरेर सर्लाहीमा सहकारीका अध्यक्ष फरार

   August 24, 2023  

सर्लाही सदरमुकाम मलंगवास्थित एक सहकारी संस्थाका अध्यक्षले नै बचतकर्ताको रकम हिनामिना गरेर फरार भएका छन् । रकम हिनामिना आरोपमा सहकारीका चार कर्मचारी थुनामा परेका छन् ।

मलंगवा नगरपालिका–८ मा स्थापना भएको सुविधा बचत तथा ऋण सहकारीले बचतकर्ताको करिब २४ करोड रुपैयाँ हिनामिना गरेको पाइएको हो । सहकारीबाट ठूलो रकम हिनामिना गरेको आरोपमा सुविधाका प्रबन्धक दीपकलाल अमात्य, खजाञ्ची निर्मल श्रेष्ठसहित अन्य दुई कर्मचारी उमेश अधिकारी र कामेश्वर सिंह थुनामा परेका छन् ।

सुविधा बचत तथा ऋण सहकारीका अध्यक्ष ईश्वर गुप्ता भने फरार रहेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार सहकारीबाट रकम लिनका लागि सञ्चालक समितिलाई जानकारी गराउनु नपर्ने नियम साधारणसभाबाट पास गराएका थिए । फरार सहकारीका अध्यक्ष गुप्ताको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । गुप्ता दुई कार्यकाल उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्षसमेत भइसकेका छन् ।

सहकारीबाट रकम हिनामिना भएपछि बचतकर्ताले रकम फिर्ता पाउन सकेका छैनन् । सहकारीका लागि बजारमा खटिएका बचत अभिकर्ता भने दिनहुँ तनाव खेपिरहेका छन् ।