रौतहटमा ट्रकको ठक्करबाट महिलाको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध – Madhesh Update

रौतहटमा ट्रकको ठक्करबाट महिलाको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

   August 24, 2023  

रौतहटमा ट्रकको ठक्करबाट एकजना महिलाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका – १ हाईवेस्थित नुनथर मन्दिर जाने बाटोमा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पैदल यात्रीलाई ना ६ प १५०० नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँ ५५ वर्षीया होम माया मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी उमाशङ्कर यादवले जानकारी दिएका छन् ।

महिलाको मृत्यु पछि आक्रोशित स्थानीयले ट्रकलाई नियन्त्रणमा लिएर आगजनी गरेका छन् । प्रदर्शनकारीहरूका अनुसार ट्रकले ठक्कर दिएपछि महिला घाइते भएकी थिइन् । तर उनलाई उद्धार गर्नुको सट्टा ट्रकले ब्याक उनलाई किचेर मारेको थियो । सोही आक्रोशमा स्थानीयहरूले ट्रकमा तोडफोड र आगजनी गरेका थिए ।

आगजनी भएपछि प्रहरीले नगरपालिकाको वारुण यन्त्रको सहयोगमा आगो निभाउने प्रयास गरेपनि आगो तत्कालै नियन्त्रणमा आउन नसकी ट्रकमा क्षति भएको डीएसपी यादवले जनाए । उनका अनुसार प्रदर्शनकारीहरुले वारुण यन्त्रमा समेत ढुंगामुडा गरेका छन् ।

स्थानीयहरूले अहिले पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध गरेका छन् । यता दुबै पक्षलाई राखेर सहमति जुटाउने प्रयास गरिरहेको डीएसपी यादवले जानकारी दिएका छन् ।