वीरगन्ज महानगरद्वारा खरिद गरिएको ट्र्याक्टरमा अनियमितता भएको आरोप

वीरगन्ज महानगरपालिकाले फोहोर संकलनका लागि ३२ वटै वडाका लागि गत वैशाखमा ३२ वटा ट्र्याक्टर र टेलर खरिद गरेको थियो । एउटा ट्र्याक्टरका लागि महानगरले ९ लाख ५० हजार र टेलरको २ लाख ७५ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
पहिलो पटकको बोलपत्र आह्वान हुँदा ५ वटा कम्पनीले आवेदन दर्ता गराएका थिए । तर, प्राविधिक कारण देखाउँदै महानगरले उक्त बोलपत्र रद्द गरेको थियो । ट्र्याक्टर खरिदका लागि महानगरले दोस्रो पटक बोलपत्र आह्वान गर्दा एउटा मात्र कम्पनीले आवेदन दिएको थियो । त्यही कम्पनीबाट महानगरले ३ करोड ९२ लाखमा ३२ वटा ट्र्याक्टर र टेलर खरिद गरेको हो ।
बजार मूल्य ६ लाख ६० हजार पर्ने ट्र्याक्टर महानगरले ३ लाख बढी मूल्यमा खरिद गरेको पाइएको छ । महानगरको यान्त्रिक शाखाका अनुसार फोहोर संकलनका लागि २४ एचपीको २४२ मोडलको आइचर कम्पनीको एक सिलिन्डरको ट्र्याक्टर खरिद गरिएको हो । महानगरले खरिद गरेको उक्त ट्र्याक्टर वीरगन्ज भन्सार विन्दुमा जाँचपास भइसकेपछि ५ लाख ५१ हजार रुपैयाँ मूल्य पर्ने गरेको छ ।
वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार भारतबाट आयात भएको उक्त मोडलको आइचर ट्र्याक्टरको मूल्य आयातकर्ताले ३ लाख १६ हजार ८ सय ३५ भारु घोषणा गरेका छन् । एउटा ट्र्याक्टरको भन्सार विन्दुसम्मको ढुवानी भाडा र बिमा गरि १३ हजार ७५ भारु उल्लेख गरिएको छ । आयातमा लाग्ने ५ प्रतिशत भन्सार महसुल दाखिला गरि आयातकर्ताले ३ लाख ४४ हजार ८८० भारु ९ ५ लाख ५१ हजार रुपैयाँ ० मा ट्र्याक्टर जाँचपास गराएको भन्सारको तथ्यांकमा देखिन्छ ।
बजार मूल्यभन्दा करिब ३ लाख रुपैयाँ बढीमा महानगरले ३२ वटा ट्र्याक्टर खरिद गरेपछि केही वडाध्यक्ष विरोधमा उत्रिएका छन् ।
वीरगन्ज– २० का वडाध्यक्ष आरके सिंह पराग महानगरले किनेर वडामा पठाएको ट्र्याक्टरको खरिद मूल्य सर्वसाधारणले खरिद गर्ने भन्दा धेरै रहेको बताउँछन् । ‘किसानले त्यही मोडेलको ट्र्याक्टर नगदमा साढे ६ लाख रुपैयाँसम्म खरिद गरेका छन्,’ उनले भने, ‘बोलपत्र नै रद्द गरेर दोस्रोपटक आवेदन खुलाउनु र त्यसमा पनि एउटा मात्र कम्पनीको आवेदन पर्नुमा मिलेमतो शंका गर्न सकिन्छ ।’ आर्थिक चलखेलका कारण निकटका कम्पनीलाई ठेक्का पार्न चलखेल भएको उनले दाबी गरे । वडाध्यक्ष सिंहझैं महानगरका अन्य वडाध्यक्षले समेत महानगरले खरिद गरेको मूल्य अस्वाभाविक रहेको बताएका छन् ।