व्यवसायीमाथि कुटपिट भएको भन्दै जलेश्वरमा प्रदर्शन

व्यवसायीलाई कुटपिट गरेको भन्दै उद्योग वाणिज्य संघ जलेश्वरले महोत्तरीको जलेश्वर बजार बुधबार बिहानैदेखि बन्द गरेको छ । मिटरब्याज पीडितको आन्दोलनरत समूहबाट व्यवासयी कुटिएको भन्दै कारबाहीको माग गर्दै बजार बन्द गरिएको उद्योग वाणिज्य संघ जलेश्वरले जनाएको छ ।
मंगलबार दिउँसो जलेश्वर बजारमा र्यालीसहित ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन जाने क्रममा मिटरब्याज पीडितको एक समूहले अराजक शैलीमा स्थानीय व्यवसायीलाई कुटपिट गरेको उद्योग वाणिज्य संघले जनाएको छ । स्थानीय व्यवसायी रुपेश साहले पसलको अगाडि मोटरसाइकल रोक्न लागेका बेला र्यालीमा हिँडेकी एक महिलालाई छोएपछि उत्पन्न विवादका कारण साहलाई अराजक समूहले लखेटेर पिटेको व्यापार संघको आरोप छ ।
कुटपिटमा संलग्न व्यक्तिलाई कारबाही र व्यवसायीको सुरक्षाको मागसहित बजार बन्द गरेको उद्योग वाणिज्य संघ जलेश्वरका अध्यक्ष लभराजा सिंहले बताएका छन् ।
जलेश्वरको महेन्द्र चोकमा भएको विवादपछि जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउन पुगेको मिटरब्याज पीडितको समूह र जलेश्वरका व्यवसायीलाई लिएर जिल्ला प्रशासन पुगेको समूहबीच मंगलबार नै जिल्ला प्रशासनमा हात हालाहालको अवस्था भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनापछि केही व्यक्तिलाई नियन्त्रणमा लिएर बुधबार नै प्रहरीले छाडेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिए ।
व्यवसायीको सुरक्षाको माग गर्दै बजार बन्द गरिएको भए पनि बुधबार जलेश्वर शान्तिपूर्ण अवस्थामा रहेको मल्लले जानकारी दिए ।