महोत्तरीमा १ वर्षमा १ हजार ११ सवारी दुर्घटना, ६८ जनाको मृत्यु – Madhesh Update

महोत्तरीमा १ वर्षमा १ हजार ११ सवारी दुर्घटना, ६८ जनाको मृत्यु

   August 10, 2023  

ट्राफिक प्रहरीको तथ्यांकअनुसार महोत्तरीमा प्रत्येक वर्ष सवारी दुर्घटना बढ्दो देखिएको छ । जिल्लामा एक वर्षमा १ हजार ११ सवारी दुर्घटनामा परी ६८ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीको तथ्यांकअनुसार जिल्लामा प्रत्येक वर्ष दुर्घटना बढ्दै गएको देखिएको छ । तीन आर्थिक वर्षको प्रहरीको तथ्यांकअनुसार जिल्लामा पछिल्लो आर्थिक वर्ष ०७९/०८० मा सबैभन्दा बढी १ हजार ११ सवारी दुर्घटनामा ६८ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीले जनाएको छ ।

२०७७/०७८ मा ६ सय ५४ सवारी दुर्घटनामा परेका थिए । दुर्घटनामा ६३ जनाको मृत्यु भएको थियो भने ०७८/०७९ मा ९ सय २१ सवारी दुर्घटनामा ५४ जनाको ज्यान गएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ । प्रत्येक वर्ष बढी दुर्घटना हुने सवारीमा मोटरसाइकल रहेको छ । प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्षमा महोत्तरीमा ७ सय ३४ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् ।

तीव्र गतिमा सवारी चलाउनु, सडक सञ्जाल राम्रो नहुनु, क्षमताभन्दा बढी भार बोक्नु, पुराना सवारी सञ्चालनमै रहनु, मापसे गरेर सवारी चलाउनु, ट्राफिक नियमको पालना नगर्नुजस्ता कारण सवारी दुर्घटना बढ्दै गएको प्रहरीले जनाएको छ ।