उद्घाटनको एक बर्ष पछि सञ्चालनमा आयो प्रादेशिक अस्पताल जनकपुरको मोडुलर ओटी – Madhesh Update

उद्घाटनको एक बर्ष पछि सञ्चालनमा आयो प्रादेशिक अस्पताल जनकपुरको मोडुलर ओटी

   August 9, 2023  

प्रादेशिक अस्पताल जाकपुरमा एक वर्षअघि उद्घाटन गरेर प्रयोगबिहीन रहेको मोडुलर ओटी (विशिष्ट शल्यक्रिया कक्ष) सञ्चालनमा आएको छ ।

युरो जेनरल र अर्थो विशिष्ट शल्यक्रिया कक्ष सञ्चालनमा आएको अस्पतालक प्रवक्ता चर्मरोग विशेषज्ञ डा रामज्ञान यादवले जानकारी दिए । उनले अब ल्याप्रोस्कोपी विधिबाट पनि बिरामीको शल्यक्रिया सुरु भएको बताए ।

न्यूरो सम्बन्धी जनशक्ति नभएका कारण न्युरो ओटी सञ्चालनमा ल्याउन नसकेको उनको भनाइ छ । ‘प्रादेशिक अस्पतालमा न्यूरो सम्बन्धी विशेषज्ञ छैन । हामीले खोजी गरिरहेका छौं । जनशक्ति भेटिए लगतै न्युरो सर्जरी पनि सुरु हुन्छ’, उनले भने ।

मधेश सरकारले करिब १० करोड खर्चेर तीनवटा मोडुलर ओटी एक वर्षअघि स्थापना गरेको थियो । ३० भदौ २०७९ मा तत्कालीन सामाजिक विकास मन्त्री नवलकिशोर साहले नवनिर्मित तीनवटा मोडुलर अपरेशन थिएटरको उदघाटन गरेका थिए ।

तर वर्षदिन बित्न लाग्दा समेत सञ्चालनको कुनै अत्तोपत्तो थिएन । यसबारेमा अनलाइनखबरले सोमबार प्रकाशन समेत गरेको थियो ।

प्रादेशिक अस्पतालमा पहिलादेखि दुईवटा शल्यक्रिया कक्ष मात्र सञ्चालनमा छ । जनशक्ति अभावमा दुईवटा शल्यक्रिया कक्षबाट दिन तोकेर पालैपालो उपचार सेवा दिने गरिएको छ । जटिल प्रकृतिका बिरामी अन्यत्र रेफर गर्ने गरिन्छ ।

मधेश प्रदेश सरकको ठूलो र गौरवको प्रादेशिक अस्पताल पछिल्लो समय मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको छ ।

हाल ३५० बेडको अस्पताल सय बेड धान्ने जनशक्तिले चलिरहेको अस्पतालका प्रवक्ता डा यादवले बताए ।

जनशक्ति पदपूर्ति नभएसम्म शल्यक्रिया बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने छ । ईमर्जेन्सी बाहेकका बिरामीले शल्यक्रियाका लागि पालो कुर्नै पर्ने उनको भनाइ छ ।