बलात्कारको आरोपपछि महोत्तरीका व्यवसायी प्रहरी नियन्त्रणमा

महोत्तरीको बर्दिबासमा बलात्कार प्रयासको घटना सार्वजनिक भएको छ । पीडित युवतीले बर्दिबासका रविन गौतम विरुद्ध बलात्कार प्रयास गरेको आरोपसहित इलाका प्रहरी कार्यालय उजुरी दिए पछि यो घटना सार्वजनिक भएको हो ।
गत साउन १६ मा पीडित युवतीले जाहेरी दिनासाथ प्रहरीले आरोपित गौतमलाई अनुसन्धानको लागि पक्राउ गरेको थियो । उनै गौतमलाई ५ दिन हिरासतमा राखेर आइतबार जिल्ला अदालत महोत्तरीमा बुझाएको छ ।
पीडित भनिएकी युवती आरोपित गौतमको किराना पसलमा काम गर्ने गर्थिन् । पसलमा बसिरहेको वेला गौतमले बलात्कार प्रयास गरेको ती पीडित युवतीको आरोप छ । उमेरले १७ बर्ष मात्र भएकी ती युवतीले काम गर्न लागेको १ महिना मात्र भएको थियो । युवतीको परिवारका अनुसार आरोपित भनिएका गौतमले गरेको यौन हर्कतको विषयमा १५ गते थाहा भएको र १६ गते उजुरी दिइएको जनाएका छन् ।
पैसाको लोभ देखाएर पटकपटक यौन प्रस्ताव पनि राख्दा रहेछन्, पीडित युवतीका मामाले भने, हामीलाई पीडक रविनले धम्क्याए पनि, जे गर्न सक्छौ गर भने पछि हामी प्रहरीकोमा पुगेका हौँ । उनका अनुसार गत साउन १५ गते स्कुटर किनिदिन्छु भन्दै स्टोरमा सामान लिन गएको वेला जबर्जस्ती गर्ने प्रयास गरेको पीडित युवतीले बताएकी छन् ।
छोरीमाथि भएको अन्यायको लागी न्यायको लडाइ लडिरहेको र न्याय दिलाइदिन पीडितका बुबाले अपिल गरेका छन् ।