मधेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिनुपर्ने जनमत पार्टीको माग – Madhesh Update

मधेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिनुपर्ने जनमत पार्टीको माग

   August 6, 2023  

जनमत पार्टीले मधेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत उपलब्ध गराउन माग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई शनिबार ज्ञापनपत्र बुझाउँदै जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले सुकेका बालीनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।

यस्तै जनमतका नेताहरूले खडेरीलगायत प्राकृतिक प्रकोपको दिगो नियन्त्रणका योजना बनाएर सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । वीरगञ्जलगायत सुख्खा क्षेत्रका जनतालाई घरघरमा खानेपानीको व्यवस्था गर्न, सिँचाइका लागि प्रयोग गरिएको बिजुली निःशुल्क गर्न र पानीको अभावले बिरामी परेका नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिएको जनमत पार्टीका उपाध्यक्ष खानले बताए ।

यस वर्ष तराई/मधेशका अधिकांश स्थानमा अत्यन्त न्यून वर्षा भएर खडेरी परेको छ । भूमिगत जलाधार स्रोतसमेत सुकेकाले मधेशका जिल्लामा सिँचाइको अभावका हुनुका साथै खानेपानीको समेत हाहाकार मच्चिएको खानले बताए । उनका अनुसार खानेपानीका परम्परागत स्रोत इनार र चापाकल सुकेर पानी नआउँदा वीरगञ्जलगायतका स्थानमा पिउने पानीको ठूलो समस्या परिरहेको छ ।

खडेरीका कारण तराई–मधेशको जनजीवन प्रभावित भएको उल्लेख गर्दै उपाध्यक्ष खानले पानी नपरेको अवस्थामा वैकल्पिक सिँचाइको व्यवस्था नहुँदा किसानले धानखेती लगाउन नसकेको बताए । मधेशका अधिकांश खेत बाँझै रहेको उनको भनाइ छ ।

जनमत पार्टीद्वारा तराईमधेशलाई सुख्खा क्षेत्र घोषणा सहित ६ बुदे माग प्रधानमन्त्रीलाई ज्ञापन पत्र मार्फत बुझाइएको छ। मागहरू-
१। तराई/मधेशलाई सुख्खा क्षेत्र घोषणा गरी राहत प्रदान गर्नु पर्ने
२। विरगंज सहितका सुख्खा क्षेत्रका जनतालाई घर/घरमा खानेपानीको व्यवस्था अविलम्ब गर्नु पर्ने
३। सुकेका बालीनालीको उचित क्षतिपूर्तीको व्यवस्था गर्नु पर्ने
४। सिचाईको लागि प्रयोग गरिएको बिजुली निःशुल्क गर्नु पर्ने
५। पानीको अभावले विरामी परेकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्नु पर्ने
६। खडेरी सहितका प्राकृतिक प्रकोपहरुको दिगो नियन्त्रणको योजना बनाएर सार्वजनिक गर्नु पर्ने