मधेस प्रदेशका मुख्य न्यायधिवक्तामाथि कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप – Madhesh Update

मधेस प्रदेशका मुख्य न्यायधिवक्तामाथि कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप

   August 4, 2023  

मधेस प्रदेशका मुख्य न्यायधिवक्ता वीरेन्द्र कुमार ठाकुरले मुख्य न्यायधिवक्ता कार्यालयमा कार्यरत कार्यालय सहयोगी उपर यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । मुख्य न्यायधिवक्ता ठाकुरले मधेस आन्दोलनका सहिद रामविवेक राउतकी धर्मपत्नी अनिला कुमारी यादव उपर यौन दुर्व्यवहार गरेको आरोप लागेको हो ।

कार्यालय स्थापनाकालदेखि नै मुख्य न्याधिवक्ता कार्यालयमा कार्यरत उनले मुख्य न्यायधिवक्ता ठाकुरले आफूलाई पटक–पटक दुर्व्यवहार गर्दै मानसिक यातना दिएको बताएकी छिन् ।

‘मधेस प्रदेश सरकारको कानुनी सल्लाहकार मुख्य न्यायधिवक्ताको कार्यालयमा विगत ६ वर्षदेखि कार्यरत छु,’ उनले भनिन्, ‘तर ठाकुर सरले मलाई जहिल्यै गलत नजरले हेर्नुहुन्छ ।’

उनीले अगाडि भनिन्, ‘मलाई मुख्य न्याधिवक्ता सरले फेस ठिक गरेर कार्यालयमा आऊ । फेसमा स्माइल ल्याऊ भन्नु हुन्छ । फेसमा स्माईल ल्याएनौ भने काम गर्न नआउनु भनेर भन्नुहुन्छ ।’

उनले दुःखेसो पोखिन्, ‘मुख्यमन्त्री सरलाई एक पटक मौखिक रुपमा भन्दा म उसलाई सम्झाउँछु भन्नुभयो । तर, फेरि म माथि त्यस्तै व्यवहार भयो ।’

त्यस्तै व्यवहार रहेपछि उनले यही साउन १४ मा मुख्यमन्त्रीलाई लिखित रुपमै मुख्य न्यायधिवक्ताविरुद्ध निवेदन दिन गइन् । तर पुनः मुख्यमन्त्रीले म सम्झाउँछु भन्दै निवेदन दर्ता नगरी उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट फर्काए ।

साउन १२ गते कार्यालय समयपछि आफ्नो कार्यकक्षमा बोलाएर मुख्य न्याधिवक्ता ठाकुरले मैले भनेको नमानेको खण्डमा कुनै पनि हालतमा करारको म्याद नथप्ने भनेर भनेको कार्यालय सहयोगी यादवले बताइन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले सहिद परिवारलाई प्रदेश सरकारले दिएको जागिर कसैले भन्दैमा नखोसिने बताए । उनले सहिद परिवारलाई प्रदेश सरकारले सम्मानका साथ उच्च प्राथमिकतामा राखेको बताए ।

सहिद रामविवेककी पत्नी अनिलाको एउटा छोरा छ । छोरा ७ महिनाको पेटमै हुँदा रामविवेकको २०७२ साल भदौ २३ गते अधिकारको लागि गरिएको मधेस आन्दोलनको बेला प्रदर्शनको क्रममा प्रहरीको गोली लागि मृत्यु भएको थियो ।