तराई- मधेशमा खानेपानी र सुक्खाको समस्या हल गर्न भारतसँग सहकार्य आवश्यक – Madhesh Update

तराई- मधेशमा खानेपानी र सुक्खाको समस्या हल गर्न भारतसँग सहकार्य आवश्यक

   August 3, 2023  

संघीय सरकारका खानेपानीमन्त्री महेन्द्र राय यादवले तराई मधेशका जिल्लामा देखिएको खानेपानी तथा सुक्खाको समस्या समाधान गर्न भारतसँग सहकार्य आवश्यक रहेको बताएका छन् ।

वीरगन्ज महानगरपालिकाको कार्यालयले बिहीबार वीरगन्जमा आयोजना गरेको वीरगन्ज क्षेत्रमा देखिइरहेको खानेपानी समस्या समाधान सम्बन्धमा खानेपानीमन्त्री यादव र सरोकारवालाबीच छलफल कार्यक्रममा मन्त्री यादवले यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘तराई मधेशका जिल्लाहरूमा हाल देखिएको खानेपानी र सुक्खाको समस्या नेपालको मात्र नभई भारतको पनि चिन्ताको विषय हुनुपर्छ, अहिले नेपालको तराई मधेशसँग सीमा जोडिएको भारतको उत्तर प्रदेश र विहार राज्यका जिल्लाहरूमा पनि खानेपानीको चरम हाहाकार भएको छ । त्यहाँ हामीभन्दा पनि तल पानीको सतह पुगेको छ,’ उनले भने, ‘भारत अहिले हामीभन्दा बढी चिन्तित छ, भारतले पनि गंगा नदी संरक्षण कार्यक्रम चलाएर उत्तर भारतमा जमिनमुनिको पानीको सतह वृद्धिका लागि काम गरिरहेको छ ।’

हालै प्रधामन्त्री पुष्पकमल दाहालको भारतको राजकीय भ्रमणको समयमा पनि आफूहरूले यो मुद्दा उठाएको उनले बताए । ‘भारत भ्रमणको समयमा हामीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा सहकार्यका लागि छलफल गरेका थियौं, उहाँ पनि सहकार्य गर्न इच्छुक हुनुहुन्छ,’ मन्त्री यादवले भने, ‘खानेपानीको समस्या र बढ्दो मरुभूमीकरण दुवै देशको चासो र चिन्ताको साझा विषय हो ।’

प्रतिवर्ष तराई मधेशको २ प्रतिशत भूमि मरुभूमीकरण हुँदै गएको बताउँदै मन्त्री यादवले यही अवस्था रहे आउँदो ५० वर्षमा मधेश प्रदेशको स्थिति भयावह हुने र यो प्रदेश कंगाल हुने चिन्तासमेत जाहेर गरे । तराई–मधेशलाई जोगाउन अहिलेदेखि चुरे संरक्षण गर्न आवश्यक रहेको उनले बताए । ‘चुरे मधेशका जनताको जीवन र मृत्युसँग जोडिएको लाइफालाइन हो, यसको आजैबाट संरक्षण गरिनु जरुरी छ,’ उनले भने, ‘चुरे संरक्षण गर्न सर्वदलीय सर्वपक्षीय सहमति र सहकार्य आवश्यक छ ।’

चुरे संरक्षणसँगै चुरेबाट तराई मधेशतर्फ बग्ने खोलानाला ड्याम बनाउन आवश्यक रहेको उनले बताए ।

‘चुरेलाई रिचार्ज गर्न त्यसमा ठाउँ–ठाउँमा ड्याम बनाइनुपर्छ,’ उनले भने, ‘यसरी ठूला जलाशयहरू निर्माण गरेर त्यसबाट खानेपानी र सिँचाइ दुवैको व्यवस्था पनि गर्न सकिन्छ ।’

खानेपानी मन्त्रालय तथा खानेपानी संस्थानले यस वर्ष मधेश प्रदेशका ८ जिल्लाका लागि बढी बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री यादवले तराई मधेशमा हाल देखिएको सुक्खा र खानेपानीको समस्या समाधान गर्न ३ वटै तहको सरकारको सहकार्य आवश्यक रहेको बताए । आफूले मधेस प्रदेशको खानेपानीमा लगानी गर्न अर्न्तराष्ट्रिय दातृ संस्था जाइकालाई आग्रह गर्ने र यसका लागि मधेशका जिल्लाबाट पनि सर्वपक्षीय दबाब आउनुपर्ने उनको भनाइ थियो ।

हाल मधेशका जिल्लाहरूमा अन्धाधुन्ध रुपमा राहतको नाममा वितरण भइरहेको पानीमा आर्सेनिकको मात्रा उच्च हुन सक्ने औँल्याउँदै मन्त्री यादवले जथाभावी खानेपानी वितरण गर्ने र सेवन गर्ने काम गर्दा सचेत हुनु पर्ने बताए ।