पथलैया–वीरगन्ज व्यापारिक मार्ग भित्रका अनधिकृत बजार र पार्किङ हटाइँदै

पथलैया–वीरगन्ज व्यापारिक मार्ग (६ लेन भित्र) र फुटपाथ अतिक्रमण गरेर बसेका बजार र अव्यवस्थित पार्किङ हटाइने भएको छ । पथलैयास्थित व्यापारिक मार्ग विस्तारित योजनाको कार्यालयमा सरोकारवाला निकायहरुबीच भएको छलफलमा व्यापारिक मार्गको ६ लेन र फुटपाथभित्र सञ्चालन भएको बजारलाई हटाउने निर्णय भएको हो ।
पथलैयादेखि परवानीपुर गण्डकसम्मको सडक क्षेत्रमा निर्माण भएका पूर्वाधार, बजारीकरण गर्न राखिएका सामाग्री र अव्यवस्थित पार्किङका कारण दुर्घटनाको जोखिम बढेको र सडक पनि अस्तव्यस्त देखिएको छ ।
जीतपुर सिमरा उपमहानगरले आयोजना गरेको छलफलमा अवैध संरचना हटाउने नेतृत्व व्यापारिक मार्ग आयोजनाको कार्यालयले गर्ने र सो कार्यमा स्थानीय प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, तराई यातायात व्यवसायी सङ्घ र नगर उद्योग वाणिज्य सङ्घले सहयोग गर्ने निर्णयमा उल्लेख छ ।