पर्सामा मिटरब्याजीविरुद्धका २ सय उजुरीमा मिलापत्र – Madhesh Update

पर्सामा मिटरब्याजीविरुद्धका २ सय उजुरीमा मिलापत्र

   July 31, 2023  

जिल्ला प्रशासन कार्यालय पर्सामा अनुचित लेनदेन (मिटरब्याज) कसुरमा १ हजार ३ सय २१ उजुरी परेकोमा २ सय उजुरीमा दुवै पक्षबीच मिलापत्र भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार कार्यालयमा दर्ता भएका उजुरीको सम्बन्धमा छानबिन गर्दा २ सय उजुरीमा दुवै पक्षबीच मिलापत्र भई विवाद समाप्त भएको छ ।

कुल ४ सय उजुरीमा छलफल भएकोमा त्यसको आधा उजुरीमा मिलापत्र भएको छ भने २ उजुरीमा जिल्ला अदालतमा मुद्दा परेको उनले बताए । मिटरब्याजीविरुद्ध अनलाइन उजुरी दर्ता गरिएको थियो । कार्यालयमा वैशाख १७ देखि उजुरी दर्ता गर्न थालिएको थियो । हाल उजुरी दर्ता बन्द भएको उनले बताए ।

कुल दर्ता भएका उजुरी जिल्लाभरिका १४ वटै स्थानीय तहबाट आएका छन् । विशेष गरी लेनदेन र जग्गाजमिनसम्बन्धी मिटरब्याज पीडितहरूको उजुरी बढी दर्ता भएका छन् ।

उजुरीको छानबिनको क्रममा दुवै पक्षमात्र नभई कपाली वा अन्य कागजात लेख्ने लेखापढी वा कानुन व्यवसायीलाई पनि कार्यालयमा बोलाएर आवश्यक सोधपुछ तथा बयान लिने गरिएको उनले बताए । छानबिनको क्रममा लेनदेन गर्नेहरूको कागजमा उल्लेख रहेको रकम लेनदेन गर्ने हैसियत तथा आवश्यकता रहेरनरहेकोबारे सूक्ष्म अनुसन्धान गर्ने गरिएको उनले बताए ।

आसामीले पनि के कति आवश्यकता परेर त्यति रकम लिएको हो र रकम लिएपछि कुनै विशेष उद्देश्य वा प्रयोजनमा खर्च गरिएको छ कि छैन भनी अनुसन्धान गर्ने गरिएको उनले बताए ।

कतिपय उजुरीको सम्बन्धमा दुवै पक्षलाई कार्यालयमा छलफलका लागि बोलाउँदा आरोपित पक्ष नआउने गरेको समेत पाइएको उनले बताए ।