रौतहटको मौलापुरमा आमाछोरीको शंकास्पद मृत्यु – Madhesh Update

रौतहटको मौलापुरमा आमाछोरीको शंकास्पद मृत्यु

   July 2, 2023  

रौतहटको मौलापुर नगरपालिका ४ पतौरामा एक महिला र नाबालिका छोरी शुक्रबार राति शंकास्पद अवस्थामा मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार २४ वर्षीया माला भन्ने कविता देवी र उनकी २ वर्षीया छोरी आरुही कुमारी घरमै मृत अवस्थामा फेला परेका हुन् । बालिका आरुहीको शव पंखामा झुन्डिएको अवस्थामा र कविताको शव घरबाट बाहिरिने सिँढीमुनि फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीले केही व्यक्तिलाई सोधपुछका लागि बोलाएको एसपी बुढामगरले बताए । मृतक महिलाका श्रीमान फेला् नपरेकोले खोजी गरिरहेका छौँ । घटनाबारे अनुसन्धान सुरु गरेका छौँ, एसपी बुढामगरले भने, केही नातेदारलाई ल्याएर सोधपुछ गरेका छौँ । चाँडै यथार्थ खुल्छ । घटनापछि मृतक कविताका श्रीमा धीरेन्द्र साह र ससुरा नागेन्द्र साहलगायतको परिवार सम्पर्कविहीन छ ।

कविताका पिता विजय शंकर साहका अनुसार घटनाबारे आफूलाई छरछिमेकीले फोन गरेर जानकारी दिएको बताए । छोरी र ज्वाइँबीच पटक पटक विवाद हुँदै आउँदा आफूले सम्झाउने गरेको उनको भनाइ छ । छोरीलाई कुटपिट गर्ने अपमान गर्ने घटना दोहोरिरहेकाले ज्वाइँको परिवारमाथि शंका बढेको पनि उनको भनाइ छ ।