नागरिकता नपाएकाहरुको न्यायका लागि सत्याग्रहमा बस्ने नेता शर्माको घोषणा – Madhesh Update

नागरिकता नपाएकाहरुको न्यायका लागि सत्याग्रहमा बस्ने नेता शर्माको घोषणा

   June 14, 2023  

नेकपा (माओवादी केन्द्र) का नेता रामकुमार शर्माले नेपाली भएर पनि नागरिकता नपाएकाहरुको न्यायका लागि सत्याग्रहमा बस्ने घोषणा गरेका छन् । बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै संविधानसभा सदस्यसमेत रहेका उनले नागरिकता विधेयक सम्बन्धी आदेश अविलम्ब सर्वोच्च अदालतबाट नआए सत्याग्रहमा बस्ने चेतावनी दिएका हुन् ।

नागरिकता सम्बन्धी आदेश सर्वोच्च अदालतबाट नआउँदा लाखौँ नेपाली युवा बिचल्लीमा परेकाले अविलम्ब नागरिकता प्रदान गर्ने फैसला सर्वोच्च अदालतले गर्नुपर्ने उनको माग छ । उनले नागरिकता प्रदान गर्ने आदेश अविलम्ब नआए असार १ गतेदेखि सत्याग्रहमा बस्न बाध्य हुने चेतावनी दिए ।

नेपालको संविधान २०७२ जारी भएको करिब ८ वर्ष भइसकेको र संविधान जारी भएको मितिले ३ वर्षभित्र संघीय संसदबाट कानुन बनाएर पूर्ण रूपमा कार्यान्वयन गरिने भनिएपनि राज्यद्वारा अनागरिक बनाउने प्रपञ्च सह्य नहुने उनले बताए । नागरिकता विधेयक संघीय संसदबाट पारित भएर राजपत्रमा प्रकाशित भइसक्दा समेत अनेक बहानामा कार्यान्वयन गर्न षड्यन्त्र हुँदै आइरहेको उनले आरोप लगाए ।

शर्माले राष्ट्रिय एकता कायम राख्नका लागि पनि नागरिकता प्रदान गर्ने आदेश चाँडै आउनु आवश्यक रहेको बताए ।