जनकपुर र लहानमा न्यूनतम तापक्रम नै २९ डिग्री नाघ्यो – Madhesh Update

जनकपुर र लहानमा न्यूनतम तापक्रम नै २९ डिग्री नाघ्यो

   June 9, 2023  

अधिकतम तापक्रम ४० डिग्रीभन्दा धेरै रहेको तराई–मधेस क्षेत्रमा न्यूनतम तापक्रम नै २९ डिग्री सेल्सियस नाघेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै न्यूनतम तापक्रम सिराहाको लहानमा रेकर्ड भएको छ।

लहानमा न्यूनतम तापक्रम नै २९.५ डिग्री पुग्दा जनकपुरमा २९.२ डिग्री मापन भएको छ। न्यूनतम तापक्रम बिहान पौने ९ बजे मापन भएको हो। पहाडी क्षेत्रमा अधिकतम तापक्रमको हाराहारीमै मधेसमा न्यूनतम तापक्रम पुग्न थालेपछि जनजीवन प्रभावित भएको छ।

जनकपुर र लहानमा मापन भएको न्यूनतम तापक्रम ताप्लेजुङ र जुम्लाको अधिकतम तापक्रमभन्दा धेरै हो भने डडेल्धुराको अधिकतम तापक्रम हाराहारी हो।

पछिल्लो २४ घन्टामा अधिकतम तापक्रम ताप्लेजुङमा २८.८, जुम्लामा २७.९ र डडेल्धुरामा २९.८ डिग्री मापन भएको छ। जनकपुर र लहानमा अधिकतम तापक्रम भने ४० डिग्रीभन्दा धेरै छ। बिहीबार अधिकतम तापक्रम जनकपुरमा ४२.४ र लहानमा ४०.५ डिग्री मापन भएको थियो।

न्यूनतम तापक्रम तराईका अन्य क्षेत्रमा पनि उकालो लागेको छ। विराटनगरमा २७.५ तथा सिमरा र नेपालगन्जमा २५.५ डिग्री न्यूनतम तापक्रम छ।

विभागका अनुसार पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै अधिकतम तापक्रम नवलपुरको दुम्कौलीमा ४४ डिग्री मापन भएको छ।

त्यहाँ लगातार चार दिन ४३.८ डिग्री मापन भएर यसअघिको रेकर्ड ब्रेक भएकामा फेरि तापक्रम उकालो लागेको हो। दुम्कौलीमा यसअघि उच्चतम तापक्रम १९७९ जुन ५ मा ४३.७ डिग्री मापन भएको थियो।