मधेश प्रदेश सहित तराई-मधेशका अन्य जिल्लाहरुमा पनि (लू) – Madhesh Update

मधेश प्रदेश सहित तराई-मधेशका अन्य जिल्लाहरुमा पनि (लू)

   June 2, 2023  

आगामी पाँच दिनसम्म तापक्रम उच्च रहने आकलन

तराईमा लू (तातो) हावा चल्न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम औसतभन्दा बढी हुँदा मध्य र मधेश प्रदेशमा विषम खालको र पश्चिम तराईमा हल्का लू चलिरहेको छ।

महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै काठमाडौं उपत्यकासहित अधिकांश भूभागमा पछिल्लो पाँच दिनदेखि अधिकतम र न्यूनतम तापक्रम वृद्धि भइरहेको जनाएको छ। ‘काठमाडौं उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक बृद्धि भइरहेको र तराई भूभागमा, मुख्यतयाः मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको छ,’महाशाखाले भनेको छ।

महाशाखाका अनुसार आगामी पाँच दिनसम्म तातो हावा चल्नसक्ने सम्भावना छ। पहाडी भूभागका उपत्यका तथा खोँचमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी र स्थानीय वायु रहे पनि सक्रिय हुन सकेको छैन, जसकारण वर्षा नहुँदा गर्मी बढेको हो। प्रि–मनसुनको अवधि समाप्त हुने र मनसुन प्रवेश गर्ने समय नजिकिदै जाँदा वर्षा हुन नसकेको हो।

कसरी जोगिने लूबाट ?
तातो हावा अर्थात् लूबाट हुने सम्भावित असरहरू भनेको थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन्।

लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नबस्ने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पटकपटक पानी तथा झोल पदार्थ ९जुस, सर्वत, आदि० प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत महाशाखाले अनुरोध गरेको छ।