मधेशमा मन्त्रिपरिषद् विस्तार- जनमतको मन्त्रालय खोसियो, माओवादीद्धारा बाहिरिने निर्णय

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भूमि व्यवस्था तथा कृषि मन्त्रालय जनमत पार्टीबाट खोसेका छन् । मुख्यमन्त्री यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर सरकार विस्तार गरेका हुन् । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार र वीरेन्द्रकुमार सिंह स्वास्थ्यमन्त्री भएका छन् । एकीकृत समाजवादी संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था तथा कृषि भएका छन् ।
यो मन्त्रालयमा जनमत पार्टीका उपाध्यक्ष बसन्त कुशवाह मन्त्री थिए । २९ पुसमा विना विभागीय मन्त्री बनेका कुशवाहले १३ माघमा कृषि मन्त्रालयको जिम्मा पाएका थिए ।
मुख्यमन्त्री यादवले कुशवाहलाई विना विभागीय मन्त्री बनाएर गोविन्द न्यौपाने भूमि व्यवस्था तथा कृषि मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
नवनियुक्त तीन जना मन्त्रीले लिए शपथ
जनमत, माओवादी र लोसपाको असन्तुष्टिका बीच मुख्यमन्त्री सरोज यादवले नेपाली कांग्रेसका दुई र नेकपा एकीकृत समाजवादीका एकजनालाई मन्त्री नियुक्त गर्दै प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
प्रदेश सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रीका रूपमा कृष्णा प्रसाद यादव र स्वास्थ्य मन्त्रीको रूपमा विरेन्द्र प्रसाद सिंहले शपथ लिएका छन् । यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रूपमा नेकपा एसबाट गोबिन्द बहादुर न्योपानेले शपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेस भवनमा शपथ गराएका हुन् ।
यसैबीच मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै माओवादी केन्द्रले भने मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । माओवादी केन्द्र मधेस प्रदेशका दलका नेता भरत प्रसाद साहले पार्टीले मन्त्रीलाई फिर्ता बोलाएको र अब सरकारलाई दिएको समर्थन फिर्ता लिइने बताए ।
जसपा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्री सुनिता यादव र राज्यमन्त्रीमा रहवर अन्सारी सहभागी थिए ।
मधेसको मन्त्रिपरिषद् विस्तार हुँदा जनमत पार्टी र लोसपा पनि असन्तुष्ट बनेको छ । जनमतका मन्त्रीले यसअघि सम्हाल्दै आएको मन्त्रालय नै मुख्यमन्त्रीले खोसिदिएर विना विभागीय बनाइदिएका छन् ।
आजै असन्तुुष्ट जनमत, माओवादी र लोसपाका मधेश प्रदेशका संसदीय दलका नेताहरुको विचमा छुटै बैठक समेत भएका छन ।