अयोध्यामा राम मन्दिरको शिलान्यास हुदा बुधवार साझ दिपावली मनाउन हिन्दु परिषद नेपालको अपिल – Madhesh Update

अयोध्यामा राम मन्दिरको शिलान्यास हुदा बुधवार साझ दिपावली मनाउन हिन्दु परिषद नेपालको अपिल

   August 4, 2020  

विश्व हिन्दु परिषद नेपालले भारतको अध्योध्यामा राममन्दिर बन्न लागेको अवसरमा उत्सव मनाउने भएको छ । भारतको अयोध्यामा साउन २१ गते बुधबार राम मन्दिर निर्माण कार्य आरम्भ हुन लागेको अवसरमा विश्व हिन्दू परिषद नेपालमा उत्सव मनाउन आह्वान पनि गरेको हो । भारतको अयोध्यामा श्रीराम मन्दिर निर्माण हुनु गौरवको क्षण भन्दै परिषदले अब राष्ट्रिय विभूति सीताको घर निर्माण हुने बताएको छ ।

परिषदले कोरोना संक्रमणका कारण स्थानीयस्तरमा भजन किर्तन, शोभा यात्रा र दिपावली जस्ता कार्यक्रम गर्ने जनाएको छ । परिषदले साउन २१ गते बुधवार साँझ आआफ्नो घरमा दीप प्रज्ज्वलन गर्न हिन्दू धर्मावलम्बीहरुमा आह्वान गरेको छ ।

पषिदका अध्यक्ष टीकाबहादुर पहारी र महासचिव जितेन्द्रकुमार सिंहले मंगलबार विज्ञप्ति जारी गरी भारतको अयोध्यामा राम मन्दिर निर्माण शुरु हुने दिनलाई नेपालमा पनि उत्सवका रुपमा मनाउन आह्वान गरेका हुन् ।

अयोध्या जान हिँडेका जानकी मन्दिरका महन्तलाई प्रहरीले फर्काइदियो

जनकपुरधामबाट प्रतिनिधित्व गर्दै अयोध्या जान लागेका जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवलाई नेपाल प्रहरीले रोकेको छ । लामो समयको प्रतिक्षापछि भारतको अयोध्यामा निर्माण हुन लागेको राममन्दिरको शिलान्यास कार्यक्रममा सरिक हुन हिँडेका दासलाई प्रहरीले सिमानाका बाट नै फर्काइ दिएको हो ।

अयोध्यामा बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिर शिलान्यास गर्दैछन् । सो कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सरिक हुने कार्यक्रम रहेको छ । शिलान्यास कार्यक्रममा विशिष्ठ अतिथि विश्व हिन्दु परिषद्का अध्यक्ष मोहन भागवतलाई बनाइएको छ ।

विश्व हिन्दु परिषद्ले कोरोना महामारीका कारण शिलान्यास कार्यक्रममा सीमित व्यक्तिलाई मात्रै निमन्त्रणा गरेको छ । ती सीमित व्यक्तिहरूमध्ये जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवलाई समेत निमन्त्रणा पठाइएको थियो ।

भारतको अयोध्यास्थित श्रीराम जन्मभूमी तीर्थ क्षेत्र नामक संस्थाका महासचिव चम्पन रायले दासलाई पठाएको पत्रमा ‘राम मन्दिर निर्माण कार्य प्रारम्भ हुने ऐतिहासिक क्षणको आमन्त्रण दिन पाउँदा हामीलाई हर्ष र उल्लासको अनुभूति’ भएको उल्लेख छ ।

दास सीमानाका महोत्तरीको भिठ्ठामोडबाट भारततर्फ प्रस्थान गर्न गाडी लिएर गणन्तव्य हिँडेलगत्तै प्रहरीले अनुमति दिएन । उनी अहिले जनकपुरधाम फर्किएका छन् । सीमा नाकाबाट आवतजावत गर्न पूर्ण प्रतिबन्ध रहेको भन्दै सुरक्षाकर्मीले अनुमति नदिएपछि दास सहितको टोली फकिएको हो ।

जानकी मन्दिरका महन्त दासले शिलान्यास कार्यक्रममा जनकपुरको प्रतिनिधित्व गर्न अयोध्याका लागि हिडेपनि प्रहरीले सिमानाकाबाट जान अनुमति नरहेको भन्दै जान दिएनन् । दासले चाँदीको ईटा सहितका सामग्री लिएर त्यसतर्फ प्रस्थान गरेका थिए । उनीले पिसिआर रिपोर्ट देखाएर जान आग्रह गर्दा समेत प्रहरीले नाकाबाट आवतजावत पूर्णरुपमा बन्द रहेको भन्दै फर्काएको दासले बताए ।

दासले भने– ‘माता जानकीको घर ससुराली भारतको अयोध्यामा ऐतिहासिक राम मन्दिरको शिलान्यास कार्यक्रममा जनकपुरको प्रतिनिधित्व गर्ने चाहना पूरा भएन ।’ उनले भने– ‘राम मन्दिरको शिलान्यास कार्यक्रममा अयोध्या जान नपाएपनि बुधबार जानकी मन्दिरमै विशेष कार्यक्रमको आयोजना गर्नेछौँ ।’

जनकपुर र अयोध्याबीच वर्षौंदेखि धार्मिक र सांस्कृतिक सम्बन्ध रहिआएको छ । सिताराम विवाहपञ्चमीमा सहभागी हुन हरेक वर्ष भारतको अयोध्याबाट साधु सन्तहरू जन्तीको रूपमा जनकपुरधाम आउने गरेका छन् भने नेपालको जानकी मन्दिरबाट पनि विभिन्न धार्मिक सांस्कृतिक उत्सवहरुमा त्यसतर्फ जाने गरेका छन् ।