तस्करीको ६७ भैंसी र पाडापाडी पर्सा भन्सारमा, लिलामीको प्रक्रिया सुुरु हुदै – Madhesh Update

तस्करीको ६७ भैंसी र पाडापाडी पर्सा भन्सारमा, लिलामीको प्रक्रिया सुुरु हुदै

   May 8, 2023  

सशस्त्र प्रहरीले पर्साको बहुदरमाई नगरपालिकाबाट ठूलो परिमाणमा तस्करीको भैंसी र पाडापाडी नियन्त्रणमा लिएको छ ।
भारतबाट चौपाया तस्करी भई आउँदै गरेको सूचनाको आधारमा सशस्त्र प्रहरीको १८ नम्बर गण हेडक्वार्टर वीरगन्जबाट सशस्त्र प्रहरी सुमन थपलियाको नेतृत्वमा खटिएको प्रहरी टोलीले बहुदरमाई नगरपालिका–२ को छुट्टाछुट्टै स्थानबाट ती चौपाया नियन्त्रणमा लिएको हो ।

प्रहरी उपरीक्षक थपलियाले भारतबाट तस्करी गरी ल्याएर संकलन गरी परवानीपुरबाट जितपुरतर्फ लग्न तयारी गरी राखेको अवस्थामा आइतबार साँझ करिब ६ बजे प्रहरीले ती चौपाया बरामद गरेको हो । ‘दुई छुट्टाछुट्टै स्थानमा तस्कर समूहले चौपाया संकलन गरी राखेका रहेछन्, प्रहरी टोलीलाई देख्नेबित्तिक्कै तस्करहरु भागेका थिए, करिब ५ सय मिटरसम्म उनीहरूलाई पछ्याइयो, तर उनीहरू तितरबितर भएर भाग्न सफल भए,’ प्रहरी उपरीक्षक बानियाले भने, ‘त्यसपछि हाम्रो ध्यान चौपाया संकलनतिर केन्द्रित भयो ।’

नियन्त्रणमा लिइएका ६७ भैंसी तथा पाडापाडी लिलामी प्रक्रियाका लागि वीरगन्ज भन्सार कार्यालयको जिम्मा लगाइएको उनले बताए । पशु क्वारेन्टाइन कार्यालय वीरगन्जका प्रमुख डा हरेराम यादवले सबै भैंसी पाडापाडीको स्वास्थ्य परीक्षणपछि लिलाम योग्य रहेकाले लिलामीको अनुमति दिइएको बताए ।

वीरगन्ज भन्सार कार्यालय मुद्दा फाँटका नासु नागेन्द्र यादवले बरामद भएका भैंसी पाडापाडीको मूल्य १७ लाख रुपैयाँ निर्धारण गरी लिलामी प्रक्रियामा लगिएको बताए ।