बक्यौता छिट्टै तिर्छु भनेपछि जोडियो प्रादेशिक अस्पताल जनकपुरको काटिएको लाइन – Madhesh Update

बक्यौता छिट्टै तिर्छु भनेपछि जोडियो प्रादेशिक अस्पताल जनकपुरको काटिएको लाइन

   May 7, 2023  

लामो समयदेखि महसुल नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले आइतबार जनकपुरधामस्थित प्रादेशिक अस्पतालको लाइन काटेको छ । तर लगत्तै अस्पतालले बाँकी बक्यौता छिट्टै तिर्ने आश्वासन दिएपछि प्राधिकरणले लाइन पुनः जोडिदिएको छ ।

प्राधिकरणले आइतबार दिउँसो करिब २ बजे अस्पतालको विद्युत् लाइन काटेको थियो । मधेस प्रदेश सरकारको मातहतमा रहेको प्रदेशकै सबैभन्दा ठुलो यस अस्पतालले १५ महिनादेखि महसुल नतिरेपछि लाइन काटिएको प्राधिकरणको जनकपुर वितरण केन्द्रका प्रमुख लखन लाल मल्लिकले जानकारी दिए । उनले अस्पतालले १ करोड २० लाख रुपैयाँ महसुल तिर्न बाँकी रहेको बताए ।

अस्पताललाई पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि अटेर गरेपछि लाइन काट्न बाध्य भएको उनको भनाई छ । ‘अस्पताल प्रशासनले सरकारसँग रकम माग गर्छु । सरकारबाट रकम आउनासाथ महसुल भुक्तान गर्छु भनेपछि लाइन काटिएको करिब १० मिनेटपछि पुनः सुचारु गरेका छौँ,’ प्रमुख मल्लिकले भने, ‘फेरि पनि समयमै महसुल भुक्तान नभए जुनसुकै बेला लाइन काट्न सक्छौँ ।’

अस्पतालका उपनिर्देशक डा कुलदीप दासले भने यस विषयमा अनभिज्ञता जनाए । ‘के भएको हो बुझ्दै छु । सरकार मातहतकै निकायमा यस्तो गर्न नहुने हो,’ उनको भनाई छ ।