सर्लाही हरिपूर्वाका प्रमुख प्रशासकीय अधिकृत यादवको हाजिर भएकै दिन सरुवा – Madhesh Update

सर्लाही हरिपूर्वाका प्रमुख प्रशासकीय अधिकृत यादवको हाजिर भएकै दिन सरुवा

   May 3, 2023  

सर्लाहीको हरिपूर्वा नगरपालिकामा एक जना प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादवको हाजिर भएकै दिन सरुवा भएको छ । उनी गत आइतबार मात्रै कार्यालयमा हाजिर भएका थिए । तर, कार्यालयमा हाजिर भएर फूलमाला अनि अबिर पहिरिएर कार्यभार सम्हालेकै दिन नै यादवको सरुवा भयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वैशाख १४ गते चलानी नम्बर १६९५ को पत्र अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशमा कार्यरत शाखा अधिकृत यादवलाई हरिपूर्वाको प्रमुख प्रशासकीय अधिकृत पदमा खटाइएको उल्लेख छ ।

यादव फेरि सोही स्थानमा यथावत् रहने गरी आइतबार चलानी नम्बर १७०७ बाट परिपत्र पठाइएको छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृतबिहीन हुँदा विकास निर्माण र प्रशासनिक काम ठप्प रहेको छ ।

एक महिना धाएर मेयर विनोद साह तेलीले यादवलाई हरिपूर्वामा प्रमुख प्रशासकीय अधिकृत बनाएर ल्याएका थिए । तर, सर्लाहीका सांसद समेत रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री महिन्द्रराय यादवले प्रमुख प्रशासकीय अधिकृत यादवको ३ दिनमै सरुवा गराइदिएको पाएको छ ।

हरिपूर्वा नगरपालिकाको मेयरमा कांग्रेसबाट निर्वाचित विनोद साह तेलीसँग बहुमत छैन । राजनीतिक सहमती जुटाएर काम गर्न नसक्दा विकास निर्माणका काम ठप्प जस्तै छन् । यसअघिका मेयर शियाराम रायको ५ वर्षे कार्यकाल पनि विवादै–विवादमा बितेको थियो ।