नागरिकता बनाउन नक्कली विवरण पेस गरेको आरोपमा वडाध्यक्षसहित ५ जना पक्राउ – Madhesh Update

नागरिकता बनाउन नक्कली विवरण पेस गरेको आरोपमा वडाध्यक्षसहित ५ जना पक्राउ

   April 20, 2023  

नक्कली विवरण पेस गरी वंशजको नाताले नागरिकताका लागि सिफारिस गरेको आरोपमा बारामा वडाध्यक्षसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीसहित नागरिकता लिइसकेका नक्कली बाबु छोरा र झुक्याएर लिने प्रयास गरेका अर्का नक्कली बाबुछोरा गरी पाँच जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।

कलैया उपमहानगरपालिका १० मटिअर्वा गाउँका नक्कली बाबु ७५ वर्षीय जोधन साह तुराहा र नक्कली छोरा बनेका २१ वर्षीय रमेश साह तुराहा पक्राउ परेका हुन् । रमेशले मावलीका हजुरबुबा जोधनलाई बाबु बनाएर ६ महिनाअघि वंशजको आधारमा नागरिकता लिएका थिए ।
गोप्य उजुरीको आधारमा उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कलैयाको प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए ।

त्यस्तै नागरिकता लिन सिफारिस गरेका वडाध्यक्ष महम्मद साबिरलाई बुधबार नियन्त्रण लिई अदालतबाट ५ दिनको म्याद थपेर हिरासतमा राखी अनुसन्धान सुरु भएको उनले बताए ।