सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका पूर्वअध्यक्षविरुद्ध ३१ लाखको भ्रष्टाचार मुद्दा – Madhesh Update

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका पूर्वअध्यक्षविरुद्ध ३१ लाखको भ्रष्टाचार मुद्दा

   April 20, 2023  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालिन अध्यक्ष रामबल्लभ साहविरुद्ध ३१ लाख ७४ हजार ४६७ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वडा नम्बर ४ को धन्छवारस्थित पश्चिम कटनिया नयाँ नदीमा अलपत्र छाडिएको पुल निर्माणको कामको भुक्तानी गरेको आरोपमा उनीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पुल र कल्भर्ट निर्माण योजनामा पुनः डिजाइनसमेत नगरी ड्रइङ परिवर्तन गरी, योजना सम्पन्न नहुँदै न्यून गुणस्तरमा काम गरी दुबै योजना सम्पन्न गर्न नमिल्ने अवस्थामा पनि भुक्तानी दिएको अख्तियारको आरोप छ ।

अख्तियारले गाउँपालिकाकी तत्कालिन उपाध्यक्ष आशादेवी यादव, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रकुमार महत, तत्कालिन लेखापाल इन्द्रकुमार कर्ण, वडा नं ४ का तत्कालिन वडाध्यक्ष विद्यानन्द साह सुडी, वडासचिव रामनारायण मण्डल विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत धनिकलाल यादव र सुजितकुमार यादव, तत्कालिन लेखापाल नरेश कामैत, इन्जिनियर अमन पोखरेल, वडा नं ३ का तत्कालिन वडाध्यक्ष हनुमान मण्डल र उपभोक्ता समितिका पदाधिकारीहरुविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।