उपनिर्वाचन जित्न मधेस सरकारको नेतृत्व कांग्रेसलाई दिने जसपा संग सहमती – Madhesh Update

उपनिर्वाचन जित्न मधेस सरकारको नेतृत्व कांग्रेसलाई दिने जसपा संग सहमती

   April 18, 2023  

बारा–२ मा हुन लागेको उपनिर्वाचनमा पूर्णरूपमा सहयोग गर्न नेपाली कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग मधेस सरकारको नेतृत्वमा आलोपालो हुनुपर्ने शर्त राखेको छ । ४ मंसिरमा भएको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग अप्रत्यासित हार व्यहोरेका यादव बारा–२ बाट जसरी पनि उपनिर्वाचन जित्ने ध्याउन्नमा छन् ।

सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष राउतसँग चुनाव हारेका जसपा अध्यक्ष यादवले आफू संसद्मा आउनकै लागि रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उक्त निर्वाचनबाट चुनाव लड्न आएका हुन् । त्यसैको मौका छोपेर कांग्रेसले प्रदेशको नेतृत्वमा आलोपालोको प्रस्ताव ल्याएको हो ।

बारा–२ मा कांग्रेसले ‘च्याखे दाउ’ अघि सारेपछि यादव दोधारमा परेका उनी निकट नेताहरू बताउँछन् । तर, जसरी भए पनि संसद्मा भित्रिएर सरकारमा पुग्ने दाउँमा रहेका यादवले मधेस प्रदेश सरकारको नेतृत्व दिन तयार भएका छन् ।

कांग्रेस र जसपाबीच केही दिनअघि सरकार आलोपालोको विषयमा गोप्य समझदारी भइसकेको कांग्रेसका एक नेताले दाबी गरे । कांग्रेसको सहयोगबिना यादवले चुनाव जित्न नसकिने बुझेर मधेशको सत्ता आलोपालो गर्न सहमत भएको जसपा नेताहरू बताउँछन् ।

‘उपेन्द्रजीलाई जसरी पनि चुनाव जितेर संसद् जानु छ, त्यसका लागि जसपाले त्याग गरेको छ,’ जसपाका ती नेताले भने । जसपालाई समर्थन गर्नुअघि कांग्रेसका प्रदेशसभाका सभापति तथा मुख्यमन्त्रीको दाबी गर्दै आएका नेता कृष्ण यादवले मधेशमा कांग्रेसलाई सरकारको नेतृत्व दिनुपर्ने माग अघि बढाएका थिए ।

आलोपालो नगरी कांग्रेसले सहयोग गर्ने नदेखेपछि कांग्रेसका शीर्ष तहका नेतासँग छलफल गरेर उपेन्द्रले मधेस सरकारको नेतृत्व दिन आफू तयार भएको बताएका थिए । सत्ताको विषयमा कुरा मिलेपछि बारा–२ मा उपेन्द्र यादवको पक्षमा चुनावी परिचालनका लागि कांग्रेसले पूर्वकेन्द्रीय सदस्य राधेचन्द्र यादवलाई खटाएको छ ।

१ सय ६ सदस्यीय रहेको मधेस प्रदेशसभामा गठबन्धनबाट कांग्रेस ठूलो दल हो । मधेश प्रदेशसभामा एमालेका २३, कांग्रेसको २२, जसपाको १६, जनमतको १३, लोसपाको ९, माओवादी केन्द्रको ८, एकीकृत समाजवादीका ७, स्वतन्त्र ६ र राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीबाट १/१ सांसद छन् ।