अनलाइन ठगीमा संलग्न दुई जनामाथि मुद्दा, २१ जना तारिखमा छुटे – Madhesh Update

अनलाइन ठगीमा संलग्न दुई जनामाथि मुद्दा, २१ जना तारिखमा छुटे

   April 18, 2023  

अनलाइन ठगीमा संलग्न रहेको आरोपमा जनकपुरधामबाट पक्राउ परेका मध्येबाट दुई जनामाथि मुद्दा प्रकृया अगाडि बढाइएको छ। गत चैत २० गते धनुषा प्रहरीले अनलाइन ठगी कारोबारमा संलग्न रहेको आरोपमा जनकपुरधामस्थित पिडारी चोकबाट २३ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका २३ जनामध्ये २ जनामाथि मुद्दा प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

प्रहरी नायव उपरीक्षक गौतमका अनुसार पक्राउ परेकाहरु मध्येबाट सत्यानन्द राम र विजय सिंहमाथि राष्ट्र बैंक कसुर अन्तर्गतको मुद्दा चलाइएको छ। ‘पक्राउ परेका २३ जनामध्ये २ जना मुख्य दोषी देखिएका छन्’, प्रहरी नायव उपरीक्षक गौतमले भने, ‘मुख्य दोषी दुवै जनामाथि मुद्दा चलाएर बाँकीलाई तारिखमा छोडिएको छ।’

२१ जनालाई तारिखमा छोडिएको उनले बताए।

जनकपुरधामको पिडारी चोकमै एउटा फ्ल्याट भाडामा लिएर अनलाइन ठगीको कारोबार गर्दै आइरहेको सूचनाको आधारमा गत चैत २० गते प्रहरीले २३ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा १४ जना पुरुष र ९ जना महिला रहेका थिए।